A Levels MA

गुणस्तर सुधार्न आमालाई सक्रिय बनाउँदै पद्मोदय मावि

 ‘नास्ति विद्या समे चक्षुर्नास्ति मातृ समोगुरू’ (संसारमा विद्याजस्तो कुनै नेत्र छैन र आमा जस्तो कोही गुरू हुँदैनन् ।)

भनिन्छ बालबालिको पहिलो शिक्षक आमा हो । बालबालिकाले आमाको काखबाट नै पहिलो भाषा सिक्छ । समाज, संस्कार, बानी–व्यवहार र आचरण सिक्छन् । जीउने मार्ग र भविष्यको रेखा पनि बालबालिकाले आमाकै काखमा  सिक्छन् भन्ने प्रमाण शिक्षाविद् प्राडा विनयकुमार कुसियतले आफूले पढाइमा ढिलासुस्ती गर्दा आमाले सम्झाउने गरेको र त्यसबाट प्रेरित भएको हालै एक आलेख मार्फत सार्वजनिक गरेका छन् ।

‘बाबु तिम्रो पिताजीले शिक्षा आर्जन गर्न नसकेको परिणाम मैले भोगेँ । मेरो त्यो सपना तिमीबाट पूरा होस् भन्ने चाहान्छु ।’ आमाका ती भनाइलाई डा कुसियतले सम्झिने मात्र होइन, नयाँ पुस्ताका लागि प्रेरणा मिलोस् भनेर सार्वजनिक  समेत गरे ।

शैक्षिक गुणस्तर सुधारमा आमाको त्यही भूमिकालाई विद्यालयले अनुभूत गर्ने गरी प्रयोग गराउन पहल थालेका छन् ।

राससका अनुसार, काठमाडौँको मुटु पद्मोदयमोडस्थित पद्मोदय माध्यमिक विद्यालयले विद्यालयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीका आमाहररूलाई बोलाएर आजदेखि बालबालिकाको शिक्षाबारे विमर्श सुरू गरेको छ ।

विद्यालय र घरमा बालबालिका कसरी पढिरहेका छन् ? त्यसबारे अभिभावकसँग सामुदायिक विद्यालयमा कमै मात्रामा दोहोरो संवाद हुने अवस्थामा उक्त विद्यालयको निमन्त्रणालाई आमाहरूले सहर्ष स्वीकारेर शिक्षा सुधारको यात्रामा सामेल हुने सङ्कल्प समेत गरेका छन् । ‘पद्मोदयको इच्छा, संस्कारयुक्त गुणस्तरीय शिक्षा’ भन्ने आदर्श वाक्य बोकेको यस ऐतिहासिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद गौतमले आमाहरू सक्रिय नभई विद्यार्थीले राम्रोसँग सिक्न नसक्ने पक्षलाई आत्मसात् गरेर चरणबद्धरूपमा आमाहरूको भेला आयोजना गरिएको र यो प्रयोगलाई निरन्तरता दिने बताए । ‘छोराछोरीले गृहकार्य गरेका छन् कि छैनन् ? भनेर नियमित हेर्दिनु । सरसफाइमा ध्यान दिन लगाउनु । विद्यालयले नबोलाए पनि समय समयमा आएर सोधपुछ गर्दिनु ।’ प्रधानाध्यापक गौतम भन्छन्, ‘विद्यालयको गुणस्तर सुधारमा  आमाहरूको भूमिका महत्त्वपूर्ण हुन्छ ।’

आमा समूहको बैठकमा सहभागी निर्मला खत्रीले यस प्रकारको बैठक विद्यालयमा पहिलो पटक भएको र यसमा बच्चाहरूको पढाइबारे शिक्षक र अभिभावकबिच दोहोरो संवादको अवसर मिलेको प्रतिक्रिया दिइन् । अभिभावक शिक्षक सङ्घकी सदस्य खत्रीका दुई सन्तान सोही विद्यालयमा अध्ययनरत छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र (तुल्सीप्रसाद) अवस्थीले पढाइमा सुधार ल्याउन अभिभावलाई बोलाएर विद्यार्थीका समस्या बुझ्ने र समाधान गर्ने कोसिस भइरहेको बताए ।

आधारभूत तहदेखि नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पढाइने सो विद्यालय स्थानीय व्यापारी र व्यवसायीका छोराछोरी अध्ययन गर्छन् ।

राससका अनुसार, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, पूर्वप्रधानन्यायाधीशहरू केदारनाथ उपाध्याय, अनुपराज शर्मा, पूर्वमन्त्रीहरू डा प्रकाशचन्द्र लोहनी, कमल थापा, कलाकारहरू हरिवंश आचार्य, मनोज गजुरेल, रामकृष्ण ढकालका पूर्वविद्यालयको रूपमा रहेको पद्मोदयमा पछिल्लो समयमा विद्यार्थीको सङ्ख्या क्रमशः बढ्दो छ ।

पूर्वप्राथमिकदेखि कक्षा १२ सम्म सञ्चालित सो विद्यालयमा १ देखि ३ सम्म मन्टेश्वरी ढाँचामा सिकाइन्छ । विद्यालयले खेल्दै सिक्दैको मान्यतालाई कार्यान्वयन गरेको छ ।

विद्यालयमा हाल पूर्वप्राथमिकदेखि कक्षा १० सम्म ४९० र कक्षा ११ र १२ मा ५७० विद्यार्थी अध्ययनरत छन् भने शिक्षक कर्मचारीतर्फ कक्षा १० सम्म ४२ र माथिल्लो कक्षामा २८ जना कार्यरत छन् ।

आठ रोपनी जग्गामा फैलिएको सो विद्यालयले विद्यार्थीको चाप थेग्न कक्षा ६ देखि ९ सम्म भर्ना गर्नुपूर्व प्रवेश परीक्षा लिने गरेको छ ।

यस वर्ष ती कक्षामा ३५० जनाले प्रवेश परीक्षा दिएकामा १५० जना नयाँ विद्यार्थीलाई मात्रै भर्ना गरिएको प्रधानाध्यापक गौतमले जानकारी दिए ।

उनले पुरानो कमला भवन भूकम्पपछि पुनः निर्माण भइनसकेकाले भवन र शिक्षकको अभावका कारण आए जति विद्यार्थी लिन नसकिने बताए  ।

केन्द्रीय सरकारको नमूना विद्यालयको अनुदान पाउने मापदण्डका लागि दुई रोपनी जग्गा नपुग्दा विद्यालयले त्यस कार्यक्रममा आवेदन दिन पाएको छैन ।

विसं २००३ मा स्थापित सो विद्यालयलाई काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ मा विज्ञानतर्फ नमूना बनाउने लक्ष्यसहित अनुदान दिन थालेको छ ।

उक्त रकम न्यून भएको विज्ञान प्रयोगशालाको पूर्वाधार निर्माणका लागि करिब रू एक करोडको जोहो गर्न विद्यालयले कसरत गरिरहेको छ ।

काठमाडौँ महानगरपालिकाका–२८ का अध्यक्ष भाइराम खड्गीले सो विद्यालयको पूर्वाधारका लागि सक्दो लगानी गर्न योजना तय गरिएको बताए  । विद्यालयको भवनमा विभिन्न १४ वटा सटर भाडाबाट मासिक रू साढे पाँच लाख आम्दानी हुने गरेको छ । उक्त आयबाट पूर्व प्राथमिक तहलाई सवलीकरण र निजी स्रोतका शिक्षकको पारिश्रमिक दिने गरिएको छ ।

Thuprai - Books and E-books