Thuprai - Books and E-books

पहुँच भएका ठाउँमा पनि सहज छैन अनलाइन कक्षा

आवाज सुनिँदैन । कहिले सर बोल्दा बोल्दै हराउनु हुन्छ । कहिले आफैंलाई कक्षामा बस्नै मन लाग्दैन । कहिले महत्वपूर्ण कुरा पढाइरहेको बेला झ्वाट्ट बत्ति जान्छ पढ्नै पाइँदैन । कहिले काँही पढ्दा पढ्दै सर नै हराउनु हुन्छ । यो पीडा एक जना मात्र होइन कोरोना महामारीका कारण वैकल्पिक शिक्षाको पहुँचमा पुगेका अधिकांश विद्यार्थीले यस्तै पीडा भोगिरहेका छन् ।

प्राविधिक समस्या र समय समयमा झ्याप्पझ्याप्प बत्ति जाँदा चाहेर पनि पढ्न नसकेको भक्तपुर बहुमुखी क्याम्पसमा बीबीए तेस्रो सोमेष्टरमा अध्ययनरत छात्रा अविता न्यौपानेले गुनासो गरिन् । ‘दुईचार दिनपछि परीक्षा छ, पढाएको पनि बुझिँदैन, कहिले वाईफाई हुँदैन, कहिले बत्ति जान्छ कहिले घरको कामले गर्दा पढाइमा ध्याननै दिन सकिँदैन ।’ उनले भनिन्, ‘एकातिर राम्ररी पढ्न पनि पाइएन अर्कोतिर कलेजले नै मूल्याङ्कन गर्दा जति सही भए पनि हामीलाई कोरोनाको ट्याग पो लाग्छ कि !’

पढुँपढुँ लागेको समयमा बत्ति जान्छ । अल्छि लाग्छ । कतिपय विषयमा सरले अनलाइनमा पढाउन नै धक मान्ने के एण्ड के कलेज स्नातकोत्तर तहमा मानविकी तथा समाजशास्त्र विषयमा अध्ययनरत एक छात्रले बताए । ‘पढ्न मन छ तर गैथली चयार्चयार् गरे जस्तो आवाज आउँछ, सुनिँदैन ।’ उनले भने, ‘पढ्न पनि कहाँ मन हुन्छ र ? अल्छि लाग्छ अन्यत्रै ध्यान जान्छ ।’

माथिल्लो तहमा पढने मात्र होइन विद्यालय तहमा पढ्ने विद्यार्थीहरु अवस्था झन पीडा दायक छ । ससाना कक्षाका बालबालिकालाई अनलाइन कक्षामा सहभागी गराउनै मुस्किल भएको अभिभावकहरु बताउँछन् ।

पेप्सिकोलाको एक निजी विद्यालयमा कक्षा नौं मा अध्ययनरत सदीक्षा हुँमागाईलाई चाहिँ अनलाइन कक्षा पनि स्कुलकै कक्षा जस्तै लाग्छ तर कहिले बत्ति जाने कहिले सर बोल्दा बोल्दै हराउँने आवाज नसुनिने कारण उनलाई दिक्क लाग्छ ।

कौशलटार निवासी शोभा कार्कीले आफ्नो काममा ध्यान दिन नसकेको धेरै भयो । उनी आफैं एक सामुदायिक विद्यालयकी शिक्षक हुन् । नम्नमाध्यमिक तहकी अङ्ग्रेजी विषयकी शिक्षक । उनकी आठ वर्षीय छोरी छन् । नजिकैको निजी विद्यालयमा कक्षा दुईमा पढ्छिन् । उनले आफ्नी छोरीलाई अनलाइन कक्षा सञ्चालन भएको समयमा छेवैमा बस्नु पर्छ । उठेर आफ्नो काममा गयो कि छोरी आफ्नो अनलाइन कक्षा छाडेर टिकटक बनाउने, नाच्ने गरेको उनले बताइन् । ‘मेरो पनि कक्षा लिनुपर्छ तर छोरीले पुरै कक्षाभरि डिस्टर्ब गर्छे ।’ उनले भनिन्, ‘स्कुल नै पढ्न पठाउन अहिले मन छैन, विज्ञहरुले स्कुल खोल्न हतार नगरौं भनिरहेका छन्, वैकल्पिक कक्षाले हामी जस्ता आमालाई काम र जिम्मेवारीको बोझ थपेको छ ।’

कोटेश्वरमा लामो समयदेखि एक निजी कम्पनीमा काम गर्दै आफ्ना छोरालाई पढाउँदै आएकी सोनिया यादवलाई छोरासंग मोबाइलमा दुई घण्टा समय बिताउनु भनेको महाभारतको युद्ध जित्नु जस्तै लाग्छ । ‘छोरालाई छोडेर अफिस जाउँ भने पपजी खेलेर समय बिताउँछ रुघेंर बसुँ भने बिहान बेलुका हातमुख जोड्ननै मुस्किल पर्छ ।’

राजधानी जस्तो प्रविधिले जोडेको ठाउँका बालबालिकाले पनि सही रुपमा अनलाइन कक्षाको उपयोग गर्न सकेका छैनन् । भने उत्यका बाहिरका अधिकांश बालबालिकाहरु अनलाइन शिक्षाको पहुँच बाहिर छन् । यसको पहुँच ३६ प्रतिशत मात्र पुगेको तथ्य एक गैर सरकारी संस्थाले गरेको अध्ययनमा देखाएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले गरेको ‘‘नेपालका सार्वजनिक विद्यालयमा कोभिड–१९ को असर’ विषयक अध्ययनमा सो तथ्य फेला परेको हो ।

एनसिइले बाजुरा, दैलेख, पर्वत, रुपन्देही, चितवन, पर्सा, झापाका विभिन्न स्थानीय तहका करिब ७७० जना संग गरिएको अनलाइन सर्वेक्षणमा यस्तो नतिजा देखाएको हो ।

अध्ययन प्रतिवेदनले शिक्षकहरु घरदैलोमा पुगेर विद्यार्थीलाई गृहकार्य दिएका ठाउँमा भने ४४ प्रतिशत विद्यार्थीले गृहकार्य पूरा गरेको, करिब ७५ देखि १०० प्रतिशतसम्म विद्यार्थीसंग पाठ्यपुस्तकको पहुँच भए पनि अन्य शैक्षिक सामग्री नपुगेको देखिएको छ भने सिकाइ निरन्तरताका लागि केन्द्र, प्रदेश र स्थानीय तहको भूमिका र समन्वय नभएको उल्लेख गरेको छ ।

प्रतिवेदनमा ७० प्रतिशत अभिभावकले वैकल्पिक सिकाइमा आफ्ना विद्यार्थी संलग्न नभएको तर स्वाध्यायन कार्यमा भने संलग्न रहेको जनाइएको छ ।

त्यस्तै अपाङ्गता भएका बालबालिकालाई कोभिड–१९ पछि वैकल्पिक माध्यमबाट शिक्षामा पहुँच पुर्याउन कठिन देखिएको छ । विशेषगरी बौद्धिक अपाङ्गता, अटिजम, श्रवणदृष्टिविहीन, डाउन सिन्ड्रोम भएका बालबालिकाको सिकाइ निरन्तरतामा सहजीकरणका लागि तीन तहका सरकार र समुदायको पहल आवश्यक देखिएको शिक्षा विद्को तर्क छ ।

शिक्षा, तथा मानव स्रोत विकास केन्द्रले भने वैकल्पिक शिक्षाको अवस्था र पहुँचका विषयमा विवरण सङ्कलन गरिरहेको जानकारी दियो । केन्द्रले दुर्गम तथा जटिल अवस्थाका बालबालिका तथा शिक्षकलाई जुनसुकै ठाउँबाट प्रयोग गर्न सक्ने इक्लास नेपाल मोबाइल एप्स प्रयोगमा ल्याएको केन्द्रका निर्देश वैकुण्ठप्रसाद अर्यालले बताए । ‘बैकल्पिक शिक्षा भनेको अनलाइन मात्र होइन, अनलाइनको पहुँच नभएका बालबालिकालाई लक्षित गरी हामीले रेडियो, टिभीबाट कक्षा सञ्चालन गर्दै आएका छौं ।’ उनले भने, ‘मन्त्रालय विद्यालय सञ्चालन सम्बन्धी कार्याढाँचा जारी गरेर विद्यालय पुन सञ्चालनको जिम्मा स्थानीय तहलाई प्रदान गरेका छौं, संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने वा वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न सक्छन् ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने ५०० भन्दा बढी संक्रमित भएका जिल्लामा अहिले नै विद्यालय खोल्न नहुने जानकारी दियो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण फैलिएको ठाउँहरूमा स्कुल खोल्ने बेला नभएको बताए ।

‘ अहिले पनि राजधानीका तीन जिल्ला सहित कास्कीमा ५०० भन्दा बढी संक्रमित भएका कारण तत्काल विद्यालय खोल्नु भन्दा स्कुल सञ्चालनका लागि मापदण्ड बनाउने क्रममा भएका कारण सोही मापदण्डका आधारमा विद्यालय सञ्चालनमा ल्याउनुपर्छ ।