A Levels MA

कक्षा ९ मा नयाँ मूल्याङ्कन विधि

विद्यालयले कक्षा ९ मा अध्ययनरत विद्यार्थीको मूल्याङ्कन लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार गर्नुपर्ने भएको छ ।

धेरै विद्यालयले यस बारेमा निकै जिज्ञाशा राख्ने गरेको पाइएको छ । विद्यालय अलमलमा नपरुन् भनेर राष्ट्रिय परीक्षा बोर्डले स्पष्ट गरेको हो ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा ९ को पाठ्यक्रम नयाँ लागू भएकाले आगामी चैत महिनामा सञ्चालन हुने सो कक्षाको वार्षिक परीक्षा २०७८ सालमा स्वीकृत भएको लेटर ग्रेडिङ निर्देशिकाअनुसार गर्नुपर्ने स्पष्ट गरे ।

“नयाँ पाठ्यक्रममा नयाँ मूल्याङ्कन विधि अपनाइन्छ” उनले भने, “त्यसैले कक्षा ९ मा पनि नयाँ निर्देशिकाअनुसार मूल्याङ्कन गरी नतिजा सार्वजनिक गर्नुपर्छ ।”

नयाँ पद्धतिअनुसार ३५ प्रतिशतभन्दा कम नतिजा प्राप्त गर्ने विद्यार्थीको मूल्याङ्कन ननग्रेडेड अर्थात् अनुत्तीर्ण हुनेछन् । ३५ र सोभन्दा माथि ४० प्रतिशतभन्दा कम ल्याउनेले स्तरीकृत अङ्क १.६ अर्थात् डी प्राप्त गर्नेछन् ।  

बढीमा दुई विषयसम्म ननग्रेडेड प्राप्त गरेकाहरुले स्कुलले तत्काल सञ्चालन गर्ने मौका परीक्षामा सम्मिलित हुन पाउनेछन् । त्यसमा पनि सुधार नभएमा उनीहरुले चैतमा सञ्चालन हुने कक्षा ९ को वार्षिक परीक्षामा सहभागी हुनुपर्नेछ ।

परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले त्यस्ता विद्यार्थीले बढीमा तीनपटकसम्म मौका परीक्षामा सहभागी हुन पाउने बताउँदै भने, “उत्तीर्ण गराउन विद्यालयले तीनपटकसम्म लगातार परीक्षा लिने भन्ने होइन । २०७९ को चैतमा लिइएको परीक्षामा बढीमा दुई विषयसम्म ननग्रेडेड प्राप्त गरेकाहरुले २०८० सालको वैशाखमा विद्यालयले सञ्चालन गर्ने मौका परीक्षामा सहभागी हुनुपर्छ । त्यसमा पनि ३५ प्रतिशतभन्दा माथि नआएमा २०८० सालको चैतमा सञ्चालन हुने वार्षिक परीक्षामा सम्मिलित हुनुपर्नेछ । त्यसमा पनि नतिजामा सुधार नआए २०८१ सालको वार्षिक परीक्षामा सहभागी हुनुपर्ने छ । त्यसमा पनि सुधार नआए पुनः कक्षा ९ मा भर्ना भई अध्ययन गर्नुपर्ने छ ।” एसईईमा सहभागी हुन विद्यार्थीको कक्षा ९ को ग्रेडसिट अनिवार्य रूपमा पेस गर्नुपर्ने हुन्छ ।

यस पटकको एसईईको हकमा कुन मूल्याङ्कन पद्धति लागू गर्ने भन्ने बारेमा अझै स्पष्ट भएको छैन ।

हुन त गत वर्ष शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ पाठ्यक्रमको कार्यान्वयनसँगै नयाँ लेटर ग्रेडिङ निर्देशिका लागू गर्ने निर्णय गरेको थियो । तसर्थ सोही निर्णयका आधारमा निर्देशिकामा संशोधन गरियो र गत वर्ष पुरानै मूल्याङ्कन पद्धति लागू गरिएको थियो ।

परीक्षा नियन्त्रक श्रेष्ठले २०७९ सालको एसईईका परीक्षार्थीको हकमा नयाँ निर्देशिकाअनुसार वा पुरानैअनुसार भन्ने विचाराधीन विषय भएको बताउँदै भने, “यस बारेमा पछि नै बोर्डले निर्णय गर्नेछ ।”

गत वर्षदेखि कार्यान्वयनमा आएको निर्देशिकामा ए, एप्लस, बी, बीप्लस, सी, सीप्लस र डी छ । विगतमा जस्तो डीप्लस हटाइएको छ भने एनजी थप गरिएको छ । कक्षा ८, १० र १२ मा विषयगत रूपमा आन्तरिकतर्फ सी र सैद्धान्तिकतर्फ डी ग्रेड प्राप्त गर्न नसक्ने विद्यार्थीले मूलप्रमाणपत्र प्राप्त गर्न नसक्ने व्यवस्था छ । 

Thuprai - Books and E-books