After SEE Portal

बजेट अभावले नेपाल विद्याभूषण अन्योलमा

Bridge Course

अर्थ मन्त्रालयबाट रकम टुङ्गो नलागेका कारण नेपाल विद्याभूषणको भविष्यसमेत अन्योलमा परेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको नयाँ मिति टुङ्गो लगाइसकेपछिमात्र वितरण गर्ने भनी २०७६ सालबाट स्नातक र स्नातकोत्तरका सर्वाेत्कृष्ट तथा विद्यावारिधि उपाधि हासिल गरेकालाई नेपाल विद्याभूषण वितरण गरेको छैन । यी चार वर्षमा के कति जनालाई विद्याभूषण वितरण गर्नुपर्ने हो भन्ने यकिन तथ्याङ्क पनि मन्त्रालयसँग छैन ।

मन्त्रालयको उच्च शिक्षा शाखाका उपसचिव रामप्रसाद सुवेदीले चालु आर्थिक वर्ष २०८०\८१ मा ६० लाख रुपियाँमात्र विनियोजन भएको जानकारी दिँदै भने, “कम्तीमा चार करोड रुपियाँ खर्च हुन्छ । त्यति रकम अर्थ मन्त्रालयसँग माग गरेका छौँ । अझै प्राप्तिको टुङ्गो लागिसकेको छैन ।”

गत वर्ष यसका लागि चार करोड रुपियाँ विनियोजन भएको थियो तर गत जेठमा मात्र राष्ट्रिय शिक्षा दिवसको मिति टुङ्गो लागेकाले विनियोजित रकम खर्च हुने सम्भावना नै रहेन । सो रकम अन्यत्र शीर्षकमा खर्च गरिएको थियो ।

मन्त्रालयले विगतमा रकम खर्च हुन नसकेको र आर्थिक मन्दीका कारण विद्याभूषणका लागि खर्च कटौती गरेको बताइएको छ । स्थिति अन्योल भएकाले मन्त्रालयले विद्याभूषणका लागि अझैसम्म आवेदन माग्न सकेको छैन । 

मन्त्रालयले २०७६ सालमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि उपाधि हासिल गरेकासँग आवेदन माग गर्दा ३७८ जनाको आवेदन परेको थियो । त्यसबेलाका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भदौ २३ गते (सेप्टेम्बर ८ तारिख) मा अन्तर्राष्ट्रिय साक्षरता दिवस परेकाले सोही दिन राष्ट्रिय शिक्षा दिवस मनाउनु उपयुक्त नहुने भन्दै नयाँ मिति चयनपछि शिक्षा दिवस मनाउने र सोही बेला विद्याभूषण वितरण गर्ने निर्णय गरेका थिए । 

त्यस वर्ष करिब चार सय जनाले विद्याभूषणका लागि आवेदन दिएकाले वितेका चार वर्षमा सरदर एक हजार छ सय जनालाई विद्याभूषण वितरण गर्नुपर्ने हुनसक्ने अनुमान मन्त्रालयले गरेको छ ।

स्नातकका सर्वाेत्कृष्टलाई नेपाल विद्याभूषण ग, स्नातकोत्तरका सर्वाेत्कृष्टलाई नेपाल विद्याभूषण ख र विद्यावारिधि उपाधि हासिल गरेकालाई नेपाल विद्याभूषण क बाट विभूषित गर्ने चलन छ । चाँदीको पदकमा सुनको लेपन गर्ने गरिएको छ । ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको घरेलु तथा साना उद्योग कार्यालयले यी पदक तयार गरिदिने गरेको छ । राज्यले वितरण गर्ने मानपदवी तथा विभूषण पनि यही कार्यालयमा तयार गर्ने गरिएको छ ।

अर्थ मन्त्रालयबाट खबर नआएकोले यतिबेला शिक्षा मन्त्रालयका पदाधिकारीहरूमा छटपटी सुरु भएको छ । विद्याभूषणको पदक तयार गर्न समय घर्किदै गएकाले छटपटी सुरु भएको हो । “अब धेरै समय छैन । छिटो टुङ्गो लागोस् भनिरहेका छौँ” मन्त्रालयका उपसचिव सुवेदीले भने, “समय अभावका कारण घरेलुले मात्र तयार गर्न नसक्ने अवस्था भएकाले सुन्दरीजल जङ्गी मेगजिन अड्डालाई पनि तयार गर्न जिम्मा दिने सोचाइ भइरहेको छ ।” अर्थ मन्त्रालयले बजेट उपलब्ध नगराए यस पटक पनि नेपाल विद्याभूषण वितरण नगरिने स्पष्ट छ । 

क श्रेणीको विद्याभूषणको प्रतिपदक सरदर ५० हजार रुपियाँ र अन्य प्रतिपदक ३० हजार रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ । यस पटकबाट राष्ट्रिय शिक्षा दिवस हरेक असोज २ गते मनाउने निर्णय गरिएको छ । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन पारित भएको मितिलाई शिक्षा दिवस मनाउने निर्णय गरिएको हो ।

२०३१ सालबाट राष्ट्रिय शिक्षा दिवस मनाइँदै आएको हो । विगतमा फागुन १२ गते मनाउने गरिएकोमा २०६२\६३ को जनआन्दोलनपछि सो मितिमा नमनाउने निर्णय भएको थियो । २०६३ सालमा मनाइएन । २०६४ सालदेखि अन्तर्राष्ट्रिय साक्षरता दिवसका दिन शिक्षा दिवस मनाउन थालिएको थियो । 

A Levels MA
Thuprai - Books and E-books