After SEE Portal

आन्तरिक विवादमा फस्दै नेपाल शिक्षक महासंघ

Bridge Course

फरकफरक समूहमा छरिएर रहँदा शिक्षकहरुको पेसागत आन्दोलन धारासायी भएको भन्दै विगत ६ वर्ष अघि एकीकृत भएको नेपाल शिक्षक महासंघको आन्तरिक विवाद सामाजिक सञ्जालमा छताछुल्ल हुन थालेको छ ।

शिक्षकको अधिकार र कर्तव्यको पक्षमा संघर्ष गर्ने उद्देश्यले एकीकृत भएको भन्दै आएको शिक्षक महासंघ अहिले सामाजिक सञ्जालमा आआफ्नो समूहका कार्यक्रम सार्वजनिक गर्न थालेपछि महासंघ भित्रको विवाद सामाजिक सञ्जालमा छता छुल्ल भएको हो ।

शिक्षक महासंघको एकथरी अध्यक्ष समूहले आजदेखि भदौ ७ गते सम्म प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सार्वजनिक गरेपछि महासचिव समूहले त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल शिक्षक महासंघको नाममा महासचिव लक्ष्मीकिशोर सुवेदीले आज एक सूचना जारी गरी ‘नेपाल शिक्षक महासङ्घको नाममा आजैबाट विभिन्न प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यकम भनी कार्यक्रमको तालिका र सूचना सम्प्रेषण भएको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । आम शिक्षक तथा विद्यालय कर्मचारीहरु विभिन्न समस्याबाट पीडित भएको यस्तो संगीन घडीमा शिक्षा क्षेत्रका सबै समस्याहरु समाधानका लागि महासंघको सम्पूर्ण बल प्रदेश र जिल्लातिरभन्दा नेपाल सरकार र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय तर्फ केन्द्रित हुन जरुरी छ।

हाल सामाजिक सञ्जाल मार्फत् प्रकाशित यी कार्यक्रमहरु महासङ्घको कुनै निकायको औपचारिक बैठक बसी निर्णय भएका होइनन् । तसर्थ उक्त कार्यक्रमहरुमा सहभागी नहुन तथा नगराउन महासङ्घसँग सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ’ भन्ने उल्लेख गरिएको छ ।

उता अध्यक्ष समूहले दुई दिनअघि मात्र नेपाल शिक्षक महासंघको संशोधित विधान, कोभिड १९मा विद्यार्थी सिकाइ प्रक्रियाको निरन्तरता, समसामयिक पेसागत सवाल लगायतका अन्य विषयमा प्रशिक्षण गराइने समय र कार्यातालिका आफ्नो फेसबुक वालबाट सार्वजनिक गरेका थिए ।

महासंघको सार्वजनिक कार्यक्रम  अनुसार आज दिउसो २ बजे देखि ५ बजे सम्म प्रदेश १ मा भर्चुअल शिक्षक मेलाको आयोजना गरिएको छ  भने अर्को समूहले सो कार्यक्रममा  भाग नलिन शिक्षकलाई निर्देशन दिएको छ ।

तत्कालीन शिक्षकको पेसागत संघसंगठनको साझा मोर्चा नेपाल शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक मञ्चबीच एकता भएर २०७१ माघ २७ गते महासंघ गठन भएको हो । संघका तत्कालीन अध्यक्ष केशव निरौलाको नेतृत्वमा एक वर्षका लागि गठन भएको तदर्थ समिति आबद्ध संगठनहरुकै किचलोका कारण ३ वर्षसम्म कायम रहेको थियो ।

२०७४ फागुन २५ देखि २९ सम्म सम्पन्न भएको प्रथम महाधिवेशनले तत्कालीन नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा महासंघको केन्द्रीय कार्य समिति तयन गरेको थियो । केही महिना अघि अध्यक्ष थापा शिक्षण पेसाबाट उमेर हदका कारण अवकाश प्राप्त भएपछि महासंघमा विभिन्न वहानामा किचलो हुँदै आएको छ । एकतिर सबै जिल्ला र स्थानीय तहहरुमा महासंघ गठन हुनसकेको छैन भने अर्कोतिर गत फागुनमा नै समितिको कार्यकाल सकिइसकेको छ ।

महाधिवेशनमा पनि ४२ जिल्लाका प्रतिनिधिमात्र सहभागी भएका थिए भने अहिलेसम्म ६० जिल्लामा मात्र महासंघको जिल्ला अधिवेशन सम्पन्न भएको छ । महासंघमा हाल १४ वटा संघसंगठनका प्रतिनिधिहरुको सहभागिता रहेको छ । महासंघले गत असोज ४ र ५ मा प्रथम राष्ट्रिय परिषद् सम्पन्न गरेको थियो । सो परिषद्मा नेपाल शिक्षक संघले पहिलो दिनको उद्घाटन सत्र र बन्दसत्रको छलफल बहिस्कार गरेको थियो । दोस्रो दिन संघले पनि सहभागिता जनाएपनि विधानमा सहमति भने जुट्न सकेको थिएन । सोही परिषद्लाई महासंघको एक समूहले सो पष्रषद्मा विधानले पूर्णता नपाएको बताउँदै आएका छन् भने अर्को समूहले परिषद्ले विधान सर्वसम्मति पारित गरिसकेको दाबी गर्दै आएको छ ।

राष्ट्रिय परिषद्को सो बैठकले महासंघको राष्ट्रिय कार्यसमितिको कार्यकाल दुईबाट बढाएर चार वर्ष बनाउने गरी संशोधन गरेको थियो । शिक्षकका विभिन्न १४ समूह मध्यको एक समूह नेपाल शिक्षक संघले सो संशोधनप्रति असन्तुष्टि जनाउँदै आएको छ ।

सो परिषद्ले बैठकको कार्यादेशअनुसार सेवानिवृत्त शिक्षकलाई पनि महासंघको पदाधिकारीको बाँकी कार्यकाल पूरा गर्न मिल्ने गरी अवधि बढाउने निर्णय भएको विधान मस्यौदा समितिका संयोजक सहअध्यक्ष पूर्णप्रसाद दवाडीले बताए ।

A Levels MA
Thuprai - Books and E-books