After SEE Portal

मनोपरामर्शको खाँचों

Bridge Course

अमेरिकामा महामारी फैलिएपछि अस्पतालहरुमा रगतको ठुलो अभाव भयो । रक्तदाता रगत दिन डराए । ब्लड बैंकले रगत संकलनका लागि आह्वान गर्यो । वासिङटन डीसीका केही हेल्थ क्लबहरुले रक्तदान कार्यक्रमको आयोजना गरे । स्थानीय मनकारी युवाहरुले डराइडराइ भए पनि रक्तदान गर्ने घोषणा गरे । ब्लड डोनेसन कार्यक्रममा सहभागी भएका युवाहरुमध्ये एक जनाले २ पाउन्ड र सगँैका अर्का युवाले १ पाउन्ड रगत दान गरे । २ पाउन्ड रगत दिने व्यक्ति जीवित रहे भने १ पाउन्ड रगत दिने युवाको २४ घण्टा नबित्दै निधन भयो । निधनको कारण कोरोना भाइरस (कोभिड १९) नभई मनोपरामर्शको अभाव थियो । सकारात्मक परामर्श पाएका युवाले २ पाउन्ड रगत दिँदा पनि केही भएन तर नकारात्मक परामर्श पाएका १ पाउन्ड रगत दिने युवाको १९ घण्टामै निधन भयो । यस घटनाले सकारात्मक र नकारात्मक परामर्शको प्रभावमाथि आफैं प्रष्ट पार्दछ । मनोपरामर्शले यस्तो अवस्थामा कसरी प्रभाव पारिरहेको हुन्छ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ ।

यतिबेला कोभिड १९ भाइरसको महामारीको त्राशले संसार आतंकित छ । हालसम्म यस भाइरसको कुनै औषधि पत्ता लागि नसकेको अवस्थामा विश्व स्वास्थ्य संगठन, डब्ल्यूएचओले १५ बुँदे सुझाव सार्वजनिक गर्दै विश्वभरिका देशलाई सुरक्षित रहन सचेत गराएको छ । यो महामारीबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको घरभित्र स्वअनुशासनमा रहने वा लकडाउनको पूर्ण पालना गर्ने भनिएको छ ।

यो भाइरसले एकपछि अर्को गर्दै विश्वका २ सय १५ देशमा महामारीको रुप लिएपछि विश्व स्वास्थ्य संगठनले संकटकालको घोषणा गरेको छ । नेपाल पनि यस महामारीको आतंकबाट मुक्त रहन सकेको छैन ।

यसै उपायलाई ध्यानमा राखी यतिबेला नेपाल सरकारले कोरोना संक्रमण फैलिन नदिन पुरै देश लकडाउन गरेको अवस्था छ । यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने हुँदा सामाजिक दुरी कायम गर्दै संक्रमित व्यक्तिबाट टाढा रहन, भिडभाडमा नजान, सरसफाइमा ध्यान दिन, झोलिलो पदार्थ खान र रोगविरुद्ध लड्ने क्षमताको विकास गर्ने लगायतका सचेतनामूलक सकारात्मक सामग्रीहरु विभिन्न सञ्चारमाध्यमले सीमित श्रोतसाधनको प्रयोग गरी प्रसारण गरिएको छ ।

 संक्रमण बढेसंगै यतिबेला सरकारका सबै तह र क्षेत्रलाई क्रियाशील पारिएको छ । अत्यावश्यक कामबाहेक कसैलाई पनि घरबाहिर निस्कन दिइएको छैन । प्रायः सबै नाका बन्द गरिएका छन् । थप क्षति हुनबाट जोगाउन अन्तर्राष्ट्रिय हवाई उडान स्थगित गरिएको छ । सिमानामा आवतजावतमा पूर्ण रोक लगाइएको छ । जसका कारण भारतबाट स्वदेस फर्किएका लाखौं नेपाली बोर्डरमा कोही अलपत्र छन् कोही क्वारेन्टाइनमा छन् । लकडाउनका कारण कैयौं दिन पैदल हिडेर गन्तव्यतिर गएका श्रमिकलाई राहतसमेत पाएका छैनन् ।

अस्पतालहरुबाट महामारी फैलन सक्ने ठानी इमरजेन्सीबाहेकका बिरामीलाई घर पठाइएको छ । अत्यावश्यक सेवाबाहेक सबैखाले क्षेत्र बन्द गरिएको छ । विदेशबाट विभिन्न बाटो भएर स्वदेश फर्किएका नागरिकलाई अनिवार्य १४ दिनको क्वारेन्टाइनमा बस्ने नियम बनाइएको छ । छिनछिनमा कोरोना भाइरसबाट जोगिन अपनाउनुपर्ने सचेतनामूलक सामग्रीहरु विभिन्न सञ्चार माध्यमबाट प्रशारण गरिएको छ । अनावश्यक हल्लाको पछि नलाग्न, आतंकित नहुन, घरभित्रै क्वारेन्टाइनमा बस्न र सामाजिक दुरी कायम गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

तर पछिल्लो समयमा सरकारको हेलचेक्र्याइँ, जनताको लापरबाही र स्वअनुशासनमा कमी देखिएको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा अहिले ६ सय भन्दा धेरैमा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयद्धारा पुष्टि गरिएको छ । कोरोना भाइरसका कारण हालसम्म नेपालमा ३ जनाको मृत्युसमेत भइसकेको छ ।

अहिलेसम्म यस्तो किसिमको महामारीको भय त्राश नव्येहोरेका नेपालीका लागि यो महामारीले निकै पेनिङ महशुस गराएको छ । चीन, इटाली, स्पेन, फ्रान्स, अमेरिका, इन्डोनेसियालगायतका देशमा फैलिएको कोरोना संक्रमणको कहालीलाग्दा दृश्य एक्कासी सामाजिक सञ्जालमा लगातार भाइरल हुँदा र वैदेशिक रोजगारमा गएका नेपालीहरुको असुरक्षित जीवन देखेर नआत्तिने कोही भएनन् ।

लकडाउनमा रहेका नागरिकलाई सेन्सर नगरिएका नकारात्मक घटनालाई कतिपय सञ्चार माध्यमले छिनछिनमा जथाभावी प्रसारण गरिदिनाले झन् त्रासको वातावरण सिर्जना गरिदियो । देशलाई पुरै लकडाउनमा राखेर संक्रमितको खोजी गर्नु राम्रो काम हो । नेपालजस्तो सीमित स्रोतसाधन भएको देशमा यो महामारीको सबैभन्दा वैज्ञानिक उपचार र नियन्त्रण विधि अरु हुन सक्तैन पनि । जो जहाँ छौं त्यही सुरक्षित बस्नु अहिलेको अवस्थामा सबैभन्दा बुद्धिमानी हुने देखिन्छ ।

 यी सचेतना सम्बन्धी सकारात्मक र नकारात्मक सामग्रीका कारण कोरोना भाइरसको जोखिम र असरबारे राम्रै प्रचारप्रसार भएको छ । तर मनोपरामर्शको पक्षमा ठोस कार्यक्रम भने प्रशारण हुनुपर्ने हो त्यो भएको देखिँदैन । अब मिडियाले जसरी कोरोनाको असर र प्रभावबारे खुलेर प्रचारप्रसार गरे त्यसरी नै मनोपरामर्शका विषयमा पनि खुलेर लाग्ने बेला भएको छ । अब मिडिया कोरोनामैत्री होइन मनोपरामर्शमैत्री हुन जरुरी छ ।

 लकडाउन लम्बिएसँगै यतिबेला कोरोना भाइरसको महामारीले सबै वर्गका मानिस आतंकित बनेका छन् । सबै क्षेत्रलाई महामारीले एकैसाथ थला पारिदिएको छ । लाखांैको रोजगार गुमेपछि सबैको दैनिकीमा गम्भीर आघात पुगेको छ । महामारीले धनीगरिब कसैलाई पनि नछाडेपछि कमजोर मानसिकता भएका व्यक्तिहरुले अनिश्चित भविष्य देखेर आत्महत्या गर्ने, तनाव व्यवस्थापन गर्न नजान्दा मानसिक रोगीहरु बढ्ने खतरा बढेर गएको छ । महामारीको त्रास लम्बिएसँगै विविध क्षेत्रको जनजीवन मेन्टल हेल्थका लागि मनोपरामर्शको पर्खाइमा छन् । अब कतिपनि ढिला नगरी आवश्यकताका आधारमा यस्ता विशेष क्षेत्रको पहिचान गरी प्राथमिकताका साथ मनोपरामर्श थाल्न जरुरी छ ।

२०७२ सालको भूकम्पको समयमा पनि लगातार विध्वंसका समाचार प्रसारण गर्नाले जनजीवन आतंकित भई लामो समयपश्चात मात्रै सामान्य अवस्थामा फर्किएको थियो । त्यतिबेला पनि सञ्चारमाध्यमहरुले शुरुबाटै सकारात्मक परामर्श गर्न नसक्दा त्यसको पर्यटन क्षेत्रलगायत अन्य क्षेत्रमा लामो समयसम्म नकारात्मक प्रभाव परेको धेरै भएको छैन ।

जनजीवनलाई सामान्य दैनिकीतर्फ फर्काउन मनोपरामर्श अनिवार्य छ । यस्तो अवस्थामा मनमा भय, त्राश, शंकाको बादल मडारिनु स्वभाविक पनि हो । त्यसैले सबै क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्न जरुरी छ । कोरोनाको त्राशले बाहिर निस्किन डराइरहेका जनताको मनोबल उठाउन आवश्यक देखिन्छ ।

आखिरमा के हो त मनोपरामर्श ? ठुला प्राकृतिक विपत्ति र महामारीले त्रसित जनजीवनलाई सामान्य अवस्थामा फर्काउन किन मनोपरामर्शको आवश्यकता पर्दछ ? मनोपरामर्शले जनजीवनलाई कसरी सामान्य अवस्थामा फर्काउन मद्दत गर्छ ? र कसकसका लागि यो मनोपरामर्शको आश्यकता पर्दछ भन्ने कुरा महत्वपूर्ण देखिन्छ ।

नेपालमा करिब १४ प्रतिशत बालबालिकाहरुलाई भूकम्पको समयमा मनोसामाजिक परामर्श सेवाको आवश्यकता रहेको थियो । १० वर्षे युद्धकाल र ७२ सालको भूकम्पको समयमा जस्तै आज कोरोना महामारीको त्रास फैलिएसंगै अभिभावकसंगसंगै बालबालिकाहरु पनि सबैभन्दा तनावमा रहेका छन् ।

यतिबेला करिब ५ लाख विद्यार्थीको एसईई परीक्षा रोकिएको छ , त्यतिकै हाराहारीमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको परीक्षा स्थगित हुने अवस्था छ । कोरोनाको त्रासले काठमाडौं छाडेर गएका तत्काल फर्केर आउने अवस्था छैन । लकडाउन लम्बिएसंगै परीक्षा के हुने र कहिले हुने भन्ने शंका मनमा उत्पन्न भएको छ । विश्वविद्यालयका लाखौं विद्यार्थीको परीक्षा स्थगित छ ।

कतिपय विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्नु सकारात्मक कदम भएपनि सबै ठाउँमा अनलाइन सुविधा नहुँदा बालबालिकामा भेदभाव सिर्जना भएको छ । कतिपयको भिसा रोकिएर विदेशमै अलपत्र छन् । बुकिङ गरेको प्लेनको टिकट छुटेको छ ।

लकडाउनको सबैभन्दा बढी मार श्रमजीवी वर्गमा देखिएको छ । छाक टार्र्नै मुस्किल भए पछि मजदुर कयौं दिन भोकभाकै हिँडेर घर जान बाध्य भएका हृदयविदारक दृश्य सामाजिक सञ्जालमा सार्वजनिक छन् । अनौपचारिक क्षेत्रमा काम गर्ने लाखौं मजदुर अभिभावकको रोजगारी खोसिएको छ । यस्तो भयावह अवस्था आफ्नै आँखाले देखेका बालबालिकामा अहिले सबैभन्दा बढी असर देखिन थालेको छ । यिनै र यस्तैखाले भय मिश्रित खुलदुली मनमा लिएर बसेका सबैलाई सामान्य अवस्थामा फर्काउन तत्काल मनोपरामर्श सेवा अपरिहार्य देखिएको छ ।

विपत्ति एक्लै आउँदैन । यसले विनाश पनि संगै लिएर आएको हुन्छ । विपद्हरु त्रासदीपूर्ण पनि हुन्छन् । यिनको न पूर्वानुमान हुन सक्छ न त नियन्त्रण नै । यस्तो अवस्थामा बालबालिका, वृद्ध र शारीरिक अशक्तता भएका व्यक्ति उच्च जोखिममा हुन्छन् । बालबालिका समाजका अति संवेदनशील समूह हुन् । खास गरी विपद्को समय र सो पछिका केही अवधिसम्ममा बालबालिकामाथि धेरैखालका जोखिमहरु आइपरिरहन सक्छन् । उनीहरुलाई यस्तो अवस्थाबाट फर्किन मनोसामाजिक परामर्शको जरुरत पर्दछ ।

सामान्यतयाः परामर्श भन्नाले एक व्यक्तिले अर्को व्यक्तिको समस्या बुझेर त्यसको समाधानका लागि आवश्यक रायसल्लाह अथवा सहयोग दिने कार्यलाई परामर्श भनिन्छ । यस्तो बेलामा हृदय भएको, विश्वास भएको, आफ्नो मान्छेले दिएको सकारात्मक उर्जायुक्त परामर्शले व्यक्तिलाई पूर्ववर्ती जीवनमा फर्किन हौसला मिल्दछ । दोस्रो विश्वयुद्धका समयमा क्रिमियाको युद्धमा हज्जारौं घाइते सैनिकको उपचारमा फ्लोरेन्स नाइटिंगेलले गरेको सकारात्मक मनोसामाजिक परामशर्लले आत्मविश्वास भरिदिँदा निको भएर घर फर्किएको उदाहरणबाट हरेक विपत्तिमा मनोपरामर्शको भूमिका महत्वपूर्ण देखिएको पाइन्छ ।

लकडाउनका बेला फोन काउन्सिल अति भरपर्दो उपाय हुन सक्छ । सम्पूर्ण मिडियाबाट सकारात्मक र आशावादी सन्देश प्रवाह एकैसाथ गर्न जरुरी छ । आत्मविश्वास नै सबैभन्दा बलियो हतियार हो । संसार यतिमै समाप्त हुदैन । आत्तिनु हुदैन । खास गरी शारीरिक अशक्तता भएका, दीर्घरोगी, दृष्टिविहीन लगायतका जोखिममा परेका व्यक्तिका यस्ता व्यक्तिका लागि सकारात्मक मनोपरामर्श अति नै जरुरी देखिएको छ ।

ठुला प्राकृतिक विपत्ति वा महामारीपछि ठुला मानिसहरु डराउने, असुरक्षित महशुस गर्ने, आत्तिने, दुःखी हुने, निद्रा नपर्ने, भोक नलाग्ने, छटपटी हुने, नशा सेवन गर्ने, अलाप–विलाप गर्ने, कसैकसैमा आत्महत्याको विचार आउने, ऋण, धन, व्यवहार सम्झेर जतिखेर पनि डर लागिरहने, फेरि महामारी फैलिन्छ कि भनेर बढी नै चिन्ता तथा पीर लागिरहने हुन्छ ।

 सानोसानो कुरा जस्तोः कसैलाई छोइएको (अन्य कारणले) गर्दा पनि एकदम धेरै नै डर लाग्ने, आत्तिने, घरभित्रै बस्न मन नलाग्ने हुन्छ । मनमा अप्ठ्यारो महसुस हुने, के गरांै के गरांै भन्ने जस्तो छट्पटि बढी हुने, अत्याधिक थकान महसुस हुने, काममा जाँगर नलाग्ने आदि थुपै्र समस्या हुन सक्छन् । परामर्शदाताले यस्ता विभिन्न खाले समस्याको गहिरो अध्ययन गरी पहिचान गरेर व्यक्तिको स्वभाव, रुचि र आवश्यकता हेरी परामर्श दिनुपर्छ ।

 खासगरी बालबालिकाहरुमा देखिने प्रतिक्रियाहरुमा डराउने, आत्तिने, खाना खान नमान्ने, विद्यालय खुले पनि विद्यालय जान नमान्ने, सुत्न डराउने, सपनामा तर्सनेलगायतका समस्या विपत्तिपछि देखिन सक्दछ । यस्तो अवस्थामा उनीहरुमा ठूला मानिसहरुसँग टाँसिइरहने, दुःखी हुने, अब के होला ? भनेर डराइराख्ने, आत्तिनेजस्ता अस्वभाविक प्रतिक्रियाहरु देखिन सक्छन् । टिनेजर्सहरुमा भने हिनतावोध हुने, डराउने, असुरक्षित महशुस गर्ने, आफ्ना समस्या भन्न लजाउने, एकलकाटे स्वभावको देखिनेजस्ता समस्या देखिन्छन् ।

  बालबालिकाले आफ्नो अभिभावकमा डर, त्रास बढी देखेमा उनीहरु अझ बढी नै प्रभाभित हुन सक्दछन् । जस्तै उनीहरु एक्लै टोलाएर बस्ने, छट्पटि वा चक्चकेपना बढ्ने, केही काममा पनि ध्यान दिन नसक्ने हुन सक्दछन् । कसैकसैमा भने तनावको अत्याधिक असर देखिन पनि सक्दछ । यस्तो अवस्थामा पहिलेको भन्दा धेरै नै फरक व्यवहार देखिन थाल्दछ । व्यक्तिले देखाउने यी प्रतिक्रियाहरु तथा व्यवहारहरु प्राकृतिक विपत्तिको बेलाको जत्तिकै वा त्योभन्दा बढ्दै गएको अनुभव भएमा अनुभवी मनोपरामर्शकर्ता, चिकित्सा मनोविद् तथा मनोचिकित्सकसँग सम्पर्क राख्नु पनि पर्दछ ।

प्राकृतिक विपत्ति र ठूला महामारीपछि घरमा अभिभावकले र विद्यालयमा शिक्षकले यस्ता कुरा थाहा पाउनैपर्ने हुन्छ । विपत्ति वा महामारीपछि विद्यार्थीलाई सामान्य अवस्थामा लैजान विद्यालयहरुले खेल्न सक्ने भूमिका अझ प्रभावकारी हुन्छ । अभिभावक र विद्यालयहरुले मनोसामाजिक परामर्श प्रदान गर्दा बालबालिकालाई एकैदिनमा धेरै क्रियाकलाप नगराई समय, अवस्था र आवश्यकताका आधारमा शारीरिक व्यायाम, खेल, चित्रलेखन, कथाश्रवण, गीत संगीत आदिका माध्यमबाट उत्प्रेरणा दिएर विपद्का समयमा बालबालिकाको संरक्षण गर्न सकिन्छ ।

 विद्यार्थीसँग विद्यालय खुले पनि उनीहरुको डर त्रास अप्ठयारा अनुभवहरुलाई पनि छलफल गर्ने र सुनिदिनाले उनीहरुको मनको डर त्रास कम हुन मद्दत पुग्छ । यस्ता विपद्पछि विद्यालयहरु खुले पनि कम्तिमा पनि १ हप्ताजति धेरैजसो मनोरञ्जनका क्रियाकलापमा समय दिनु राम्रो हुन्छ । चित्र बनाउने, रङ्ग लगाउने, माटो वा बालुवामा विभिन्न आकृतिहरु कोर्न दिनेजस्ता क्रियाकलापले बालबालिकाको मनको डर तथा त्रास कम भएर जान मद्दत गर्दछ । विद्यालयमा रमाइलो हुने खालका क्रियाकलाप गराउनु असाध्यै महत्वपूर्ण हुन्छ, विद्यार्थीहरुलाई समूहमा राखेर विभिन्न खेल, समूह छलफल र जोखिमबाट बच्ने तरिकाबारे छलफल गर्नु उपयुक्त हुन्छ ।

 शिक्षकले पनि आफ्नो मनको डर, त्रासबारे एकआपसमा कुरा गर्नु सान्दर्भिक हुन्छ । शिक्षकले विद्यालया विपत्तिपछि सुरक्षित हुने उपाय के हुन सक्छन्, । त्यस बारेमा विद्यार्थी तथा सहकर्मी शिक्षकलाई जानकारी गराउनु राम्रो हुन्छ । फेरिफेरि विपत्ति आएमा शिक्षकले कसरी विद्यार्थीलाई सुरक्षित हुन मद्दत गर्ने छन् भन्ने बारे राम्ररी जानकारी दिनुपर्दछ । ठूला कक्षाका विद्यार्थीहरुलाई पनि यस्तो अवस्थामा लिडर छानेर सुरक्षित व्यवहारबारे जानकारी गराउने र कसरी अरु साथीहरु सानासाना कक्षाका विद्यार्थीहरुलाई मद्दत गर्ने बारे तयारी छलफल गर्नु जरुरी हुन्छ । विद्यार्थीहरुलाई सफा पिउने पानी व्यवस्थापन गर्ने, बारम्बार साबुन पानीले हात धुने, शिक्षक आफैले र विद्यार्थीहरुलाई प्रसस्त पानी पिउन भन्न सकिन्छ । किनकि पानीले शरीरमा स्फूर्ति ल्याउने र अन्य शारीरिक समस्या हुन बाट बचाउँदछ । विद्यार्थीहरुलाई विद्यालयको सरसफाइलगायत कक्षाकोठामा अध्ययन अध्यापनका सामाग्रीहरु मिलाएर राख्ने काममा सक्रिय बनाउन सकिन्छ ।

 त्यतिमात्र होइन, परामर्श दिँदा निम्न कुरामा सावधान हुन जरुरी हुन्छ । जस्तै सामाजिक सञ्जालमा भाइरल भएका नकारात्मक असर पर्ने घटनाहरु बारम्बार हेर्नुहुदैन । सुन्नु हुदैन । सामाजिक सञ्जालमा भएका त्यस्ता नकारात्मक भावना जगाउने सामग्री जथाभावी कमेन्ट र सेयर गर्नुहुदैन ।

यस्तोबेलामा मिडियाको भूमिका महत्वपूर्ण हुन्छ ।बारम्बार त्यस्ता घटना हेर्ने र सुन्ने गर्नाले मनस्थिति त्यस्तै हुन्छ भन्ने कुरा जानकारी गराउनुपर्छ । भने विपद्को बेलाका घटनालाई जबरजस्ती उनीहरुलाई अनुभव सुनाउन कर गर्नुहुँदैन । नितान्त व्यक्तिगत कुराहरु कोट्याउने गर्नुहँुदैन । सल्लाह सुझाव नदिने, उनीहरुको व्यवहारको टिकाटिप्पणी गर्ने, राहत तथा सहयोगका बारेमा नकारात्मक टिकाटिप्पणी गर्ने, आफूले गर्न नसक्ने आश्वासन दिने र उनीहरुका विचार तथा अनुभवलाई अपमान गर्ने काम कुनै पनि हालतमा गर्नुहुदैन भन्नेकुरामा सधैं सचेत हुनुपर्छ ।

बालबालिकालाई घरमै बसेर निम्न क्रियाकलापहरु गर्न लगाउने र उनीहरुको अनुभव बताउन लगाउने गर्न सकिन्छ । जस्तै घरमा रहेका चौपायालाई धेरै माया गर्ने, गमलामा पानी हाल्ने, आफ्ना हजुरबा–हजुरआमालाई सहयोग गर्ने, बाटो छेउमा मागेर बसेकालाई इच्छाअनुसार सहयोग गर्ने , आफ्नो साथीलाई मद्दत गर्ने, रेडियो टेलिभिजनका समाचार हर्ने÷सुन्ने गर्ने, आफ्नी आमालाई घरको काममा मद्दत गर्ने, चराचुरुङगंीलाई चारो दिनेजस्ता क्रियाकलाप गर्न सकिन्छ ।

त्यस्तै अभिभावकले उनीहरुका कुरा ध्यान दिएर सुन्न,े बेलाबेलामा हौसला दिने , भावना व्यक्त गर्न दिने, सहानुभूतिका तरिकाहरु अभ्यास गराउने , शारीरिक तथा भावनात्मक भाषाको समेत ख्याल गरेर कुरा गर्ने, सहभागीहरु यस्तो अवस्थामा भावुक बनेर रिसाउन ,रुन, कुरा सुन्न नचाहने हुनसक्छन् यस्तो अवस्थामा हामीले नहड्बढाइकन उनीहरुका कुरा सुनिदिनुपर्छ । यतिबेला हाम्रो एकमात्र मनसाय तपाईंको दुःख पीडा कम गर्न मद्दत गर्ने भनेर बुझाउने र सकारात्मक पृष्ठपोषण दिने गर्नुपर्दछ ।

घरमा अभिभावकले आफ्ना बालबालिकाहरुसँग पनि कुरा गर्ने, उनीहरुलाई सम्झाउने, नआत्तिनलाई भन्ने र डर वा अन्य अप्ठ्यारो भएमा अभिभावकलाई जानकारी गराउन हौसला दिनुपर्दछ । अभिभावकले पनि आफ्ना बच्चाहरुलाई समय दिनुपर्दछ । उनीहरुलाई तनाव कम हुने क्रियाकलापहरुमा संलग्न गराउनुपर्दछ । बालबालिकालाई समूह बनाएर ‘हामीले अरुलाई कसरी क्षमा दिन सक्छौँ’ भन्ने सककारात्मक विषयमा समूहगत छलफल गर्नाले बालबालिकाबाट सकारात्मक कुरा आउन सक्छ । यदि सकारात्मक कुरा आएन भने अरुलाई क्षमा गर्ने तरिका सिकाउनुपर्छ ।

हामीले अरुलाई कसरी खुसी प्रदान गर्न सक्छौ, यसबारे बालबालिकाहरुलाई समूहगत रुपमा छलफल गर्न लगाउन सकिन्छ । उदाहरणका लागि आफ्नी आमालाई कसरी खुसी बनाउन सकिन्छ ? उसलाई अभिभावकले आफूप्रति गरेका राम्रा कुरा भन्न लगाउन सकिन्छ । यसो गर्दा बालबालिकामा आफ्ना अभिभावकका राम्रा कुरा खोज्ने बानीको विकास हुन्छ । यस्ता क्रियाकलापसगैं मनोसामाजिक परामर्श दिँदा बालबालिकामा भएको डिप्रेसन, उदासीनता, चिन्ता, आघात र मानसिक विकारजस्ता समस्या स्वतः घटेर गई सामान्य अवस्थामा फर्किन सहयोग पुग्दछ ।

 विपत्जन्य घटनाले गर्दा उत्पन्न यस्ता लक्षणहरु स्वभाविक प्रतिक्रिया हुन् । पछि विस्तारै यस्ता लक्षणहरु आफैं कम भएर जान थाल्दछन् । यस्तो अवस्थामा आफ्नो दैनिक क्रियाकलाप जस्तै, सफा सुग्घर रहने, समय समयमा खाना खाने, समयमा सुत्ने, पूजापाठ, योग ध्यानमा समय दिने, मन शान्त पार्न रमाइलो ठाउँमा घुम्न गएका अनुभव सुनाउने, आफ्नो काम तथा व्यवसायमा फर्कने आदि गर्न थाल्नु जरुरी हुन्छ ।

यसले मनको घाउ तथा पीडा सामान्य हुन मद्दत पुग्दछ । समूहमा वा परिवारका सदस्यहरुसँगै बस्ने, एक आपसमा आफ्नो अनुभव बाँड्ने यस्तो बेलामा आफूले गरेको डर, अप्ठयारो अनुभवबारे विश्वासिलो मान्छेहरुसँग कुरा गर्ने गर्नाले मनोसामाजिक मनोपरामर्श दिइहाल्नु जरुरी हुँदैन । आफंै सामान्य अवस्थामा फर्कन सक्ने धेरै क्षमता हुन्छ ।

समाजमा विभिन्न खालका विपद्हरु आइनैरहन्छन् । बाढीपहिरो, भूकम्प, कोरोना महामारीजस्ता प्राकृतिक विपद्लाई नियन्त्रण गर्न नसके पनि यसबाट हुने क्षतिलाई न्यूनीकरण भने गर्न सकिन्छ । आपत्विपत् जहिले पनि र जहाँ पनि आउने सम्भावना हुन्छ । यस्तो महामारीबाट कमभन्दा कम क्षति होस् भनेर पूर्वतयारी हालतमा बस्नु बुद्धिमानी हुन्छ ।

A Levels MA
Thuprai - Books and E-books