After SEE Portal

राष्ट्रिय प्याब्सनले आइतबार बिदा नदिने

Bridge Course

 

राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (राष्ट्रिय प्याब्सन)ले आइतबार बिदा नदिने भएको छ ।

सरकारले जेठदेखि परीक्षणका रूपमा सातामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । शिक्षण संस्थामा पनि मन्त्रिपरिषद्ले गरेको निर्णयलाई कार्यान्वयन गर्ने भनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय गरेको थियो ।

राष्ट्रिय प्याब्सनले भने सरकारी यस निर्णयप्रति ठाडो असहमति जनाउँदै आफूअन्तर्गतका देशभरिका सबै विद्यालय आइतबार सञ्चालन हुने प्रष्ट पारेको छ । 

राष्ट्रिय प्याब्सनका अध्यक्ष पाण्डव हमाल ठकुरीले निजी विद्यालयहरूको असहमति हुँदाहुँदै शिक्षा मन्त्रालयले एकपक्षीय ढङ्गले आइतबार पनि बन्द गर्ने निर्णय गरेको बताउँदै भने, “हामी यो निर्णय मान्दैनौँ । विद्यालय शनिबारमात्र बिदा हुनेछ, बाँँकी दिन सञ्चालन हुनेछ ।”

राष्ट्रिय प्याब्सनले विज्ञप्ति जारी गरी सरकारी निर्णयका कारण विद्यार्थीको सिकाइ कमजोर हुने ठहर गरेको छ । विगत दुई वर्षमा कोभिड–१९ का कारण पठनपाठन अस्तव्यस्त भएको र पठनपाठन क्रियाकलाप लयमा आउन नसकेको अवस्थामा आइतबार पनि बिदा दिने निर्णयप्रति आफूहरूको असहमति रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शिक्षा ऐनमा भएको व्यवस्थाअनुसार कार्यदिन वा कार्यघण्टालाई प्रत्यक्ष प्रभाव पर्ने गरी बिदा थप गरिँदा आगामी दिनमा तोकिएको पाठ्यक्रम पूरा गर्न नसकिने चिन्ता व्यक्त गर्दै राष्ट्रिय प्याब्सनले सरकारले गरेको बिदासम्बन्धी निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ ।

सरकारी निर्णयअनुसार भोलि जेठ १ गते आइतबार देशभरिका कार्यालय बन्द रहनेछन् । शिक्षा मन्त्रालयको निर्णयअनुसार सामुदायिक र संस्थागत दुवै विद्यालय आइतबार बन्द हुनेछन् । राष्ट्रिय प्याब्सनले आइतबार विद्यालय खुला गर्ने निर्णय गरे पनि निजी विद्यालय सञ्चालकहरूकै अर्काे छाता संस्था प्याब्सनले यस बारेमा कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । 

A Levels MA
Thuprai - Books and E-books