A Levels MA

लिम्पियाधुरा नभएको नक्सा प्रयोग नगर्न शिक्षामन्त्रीको आह्वान

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लिम्पियाधुरा र कालापानी नभएको नेपाली नक्सा प्रयोग नगर्न विद्यालय सञ्चालकहरुलाई निर्देशन दिएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को १३ औँ राष्ट्रिय साधारणसभालाई सम्बोधन गर्दै उनले भने, “नयाँ शैक्षिकसत्रबाट नेपालको नक्सा प्रयोगमा ध्यान दिनुहोला । लिम्पियाधुरा र कालापानी उल्लेख नगरिएको नक्सा नभएका पुस्तक नपढाउनुहोला ।”

स्रोत: IAEA Imagebank

उनले नेपालमा धेरै स्कुल खुलेको चर्चा गर्दै अब स्कुल सङ्ख्या घटाउनुपर्ने बताए । “अब निजी वा सामुदायिक अलग अलग मात्र होइन एक आपसमा समेत गाभ्नुपर्दछ” उनले भने । उनले निजी स्कुलले हिजोको जस्तै सञ्चालन गर्छु भनेर नसोचे हुन्छ भन्दै अब विगतमा जस्तो सञ्चालन सम्भव नभएको बताए । उनले पहिलो सिटमा स्थानीय तह, त्यसपछि प्रदेश र अन्तिम सिटमा सङ्घीय सरकार बसेको उल्लेख गर्दै अग्रस्थानमा बस्नेले शिक्षा हाक्ने प्रष्ट गरे । शिक्षामन्त्री पोखरेलले घोकेका आधारमा तीन घण्टा परीक्षा दिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउँदै परम्परागत काइदा हटाउन नसके शिक्षामा सुधार हुन नसक्ने बताए ।

सांसद उमेश श्रेष्ठले पूर्वी नेपालमा जग्गा किनेर विश्वविद्यालय स्थापना गर्न निजी स्कुलका सञ्चालकहरुलाई आह्वान गर्दै भने, “आउनुहोस् विराटनगरमा जग्गा किनेर विश्वविद्यालय बनाऔँ । त्यो भएपछि हामीले अरु विश्वविद्यालयबाट सम्बन्धन लिनुपर्ने आवश्यकता नै रहँदैन ।”

शिक्षासचिव महेश दाहालले सार्वजनिक शिक्षा कमजोरमात्र नभई लाजमर्दाे नै रहेको बताउँदै निजी शिक्षाको स्तर राम्रो भएकाले विद्यार्थीको आकर्षण बढ्दै गएको बताए ।

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले कार्यपालिकाहरुले अव्यवहारिक किसिमका ऐन बनाएको बताउँदै उनीहरुले बनाएका ऐनका कारण समस्या सिर्जना भएको गुनासो पोखे । उनले मुलुकमा राजनीतिक संक्रमण अन्त्य भए पनि शिक्षा क्षेत्रमा संक्रमण अझै जारी रहेको तर्क गरे ।

प्याब्सनका सहअध्यक्ष डीके ढुङ्गानाले शिक्षामा सरकारी लगानीले मात्र सम्भव नहुने हुँदा निजी क्षेत्रको उपस्थिति पनि आवश्यक पर्ने बताए भने राष्ट्रिय प्याब्सनका महासचिव सुवास न्यौपानेले निजी शिक्षाप्रति राज्यले विभेद गर्दै आएको बताए ।

Thuprai - Books and E-books