Ranakalin Shiksha

यस्तो होस् नयाँ वर्ष २०७८

विक्रम सम्वतको नयाँ वर्ष २०७८ अन्य वर्षमा जस्तै हरेक नेपालीको घर दैलोमा आएको छ । यो नियमितरुपमा आउँछ । यसलाई कसैले ढिलो छिटो गर्न सक्दैन । यसको आफ्नै गति छ । नेपालमा अंग्रेजी नयाँ वर्ष एवं नेपाल सम्वत पनि नयाँ वर्षको रुपमा लिई यसमा विभिन्न कार्यक्रम गर्ने प्रचलन बढ्दो क्रममा छ । नया वर्ष शुभ बनोस् भन्ने चाहना भएर नै हुनसक्छ एकआपसमा शुभकामना आदान प्रदान गर्ने प्रचलन हुन्छ । यसका साथमा रमाइलो गर्ने प्रचलन पनि छ । कतिले यस दिनलाई नयाँ प्रतिबद्धता व्यक्त गर्ने, पुराना वानीह हटाउन प्रण गर्ने, नयाँ कार्य, व्यवसाय तथा कारोबार सुरु गर्ने जस्ता वैयक्तिक जीवनको पाटाहरुमा पनि नयाँपन दिन कोशिस गरेका हुन्छन् । काम सुरु गरेका हुन्छन् । अरुको जस्तै नयाँ वर्षको यस सन्दर्भमा मेरो पनि यस्तो होस् भन्ने कामना छ जसलार्इ देहायमा उल्लेख गरेको छु ।

भाइरस नियन्त्रणः सर्वप्रथम त सन् २०१९ को डिसेम्बर (अर्थात २०७६ को मंसिरतिर) चीनको वुहानबाट सुरु भएको नोवल कोरोना भाइरस (पछि कोभिड-१९ नाम दिइएको) विश्व जगतमा पूर्णरुपमा नियन्त्रणमा आउन सकोस् । अझ निर्मूल हुन सकोस् । यस त्रासदी पूर्ण अवस्थाबाट सम्पूर्ण मानव जाती मुक्त हुन सकुन् । अबका दिनमा थप कुनै पनि नेपालीले यसको कारण ज्यान गुमाउनु पर्ने अवस्था नआओस् । प्रभावकारी खोप सबैको पहुँचमा पुग्न सकोस् । जनजीवन पुनः सामान्य अवस्थामा आउन सकोस् । रमाएर हिँडडुल गर्ने वातावरण बन्न सकोस् ।

मानिसको सोचमा परिवर्तनः भाइरस नियन्त्रणका साथमा मानव जातीले प्रकृति र वातावरणमा पुर्‍याएको हानी र क्षतिमा  पनि कमी आओस् । यो पृथ्वी सबै जीव र वनस्पतीको हो भन्ने भावना मानिसको मन र व्यवहारमा पलाओस् । वातावरण संरक्षण हुन सकोस् । वन्यजन्तुको वासस्थान, पानीका मुहान र वातावरण संरक्षण गर्न बुद्धि पलाओस् । उपभोगमा पनि किफायती पन आओस् । सकारात्क सोचको विकास हुन सकोस् । मानिसको मनमा सतगुणको प्रभाव बढोस् ।

सामाजिक सन्जालको प्रयोगः अहिले सामाजिक सन्जालमा अनावश्यक एवम् नकारात्मक सामग्री राख्ने र त्यसैमा क्रिया प्रतिक्रिया जनाउने कार्यले अधिक मानिसमा तनाव एवं दवाव बढेको सन्दर्भमा नयाँ वर्षमा यस्ता कार्य राख्ने त्यसैम लाग्ने कार्यमा कमी आओस् । बालबालिकाको मनोविज्ञानमा हाल परेको नकारात्मक प्रभाव घटाउन सकियोस् । कसैको पनि  अनावश्यकरुपमा यसमा समय नबितोस् । सकारात्मक सोच जागृत गराउने खालका सामग्रीले यस्ता सामाजिक सन्जालमा स्थान पाउन सकून् । शिक्षण सिकाइमा यसलाई प्रयोग गर्न सकियोस् । स्वअनुशासन कायम हुन सकोस् ।

सार्वजनिक क्षेत्रमा सुशासनः नागरिकको आधारभूत सेवा सुविधा समयमै प्रभावकारी ढङ्गबाट सुनिश्चित गर्न राज्यका हरेक अङ्ग र निकायमा सुशासन कायम हुन सकोस् । राजनैतिक दल तथा नेतृत्वमा उच्च राजनीतिक संस्कार, इमानदारिता र सदाचारिता कायम हुन सकोस् । राजनैतिक दल, नेतृत्व, कर्मचारी एवम् सार्वजनिक प्रशासनको हरेक क्षेत्रमा सुशासन कायम गर्नमा सदवुद्धि पलाओस् । हालका वेथितिहरु घटून् । सुशासनका आधारभूत मूल्य र मान्यतामा वृद्धि हुन सकोस् । दैनिक उपभोगका सामग्रीहरु सर्वसुलभ एवं सहजढंगबाट उपलब्ध हुन सकोस् । सामग्री खरिद गर्दा थप ठगिन नपरोस् । व्यवसायी एवम् विक्रेताहरुमा धेरै नाफा एकैपटक कमाउने लोभलालचामा कमी आओस् । व्यवसायका साथमा थप सेवा भाव र सामाजिक दायित्व वोध हुन सकोस् । यी पक्ष हेर्दा अत्यन्त आर्दशवादी जस्ता देखिए तापनि यी सबै हासिल गर्नै पर्ने भएकोले नयाँ वर्ष २०७८ थप उपलब्धिमूलक बन्न सकोस् ।

शिक्षा ऐनको तर्जुमाः संविधानबमोजिम सङ्घीय निजामती ऐनको अभावमा प्रदेश र स्थानीय तहमा कर्मचारी भर्ना हुन सकेको छैन । यस वर्षमा नयाँ निजामती ऐन बनोस् जसले गर्दा प्रदेश र स्थानीय तहका जनशक्ति व्यवस्थापन र कार्यसम्पादन थप प्रभावकारी बन्न सकोस् । यसैगरी २०२८ सालमा बनेको शिक्षा ऐनबाट व्यवस्थापन भई आएको शिक्षा गुणस्तरीय र थप व्यवस्थित बन्नका लागि नयाँ शिक्षा ऐन बनाउने कार्यले पूर्णता पाओस् । यसलाई उच्च प्राथमिकतामा राखी कार्य हुन सकोस् । नयाँ ऐनबाट विद्यालय व्यवस्थापनदेखि स्थानीय तह, प्रदेश तह र सङ्घीय तहका कार्य जिम्मेवारी थप प्रष्ट हुन सकोस् ।

सार्वजनिक शिक्षामा सुधारः सार्वजनिक विद्यालयको कार्यशैलीमा थप सुधार हुन सकोस् । शिक्षकहरु विद्यार्थीको सिकाइप्रति दत्तचित्त हुने अवस्था आओस् । विद्यालय बाहिरका क्रियाकलापमा कोही कसैले शिक्षकलाई बोलायो भने उनीहरुले मेरो कक्षा छ, पढाउनुपर्ने छ, सिकाउनु पर्ने कार्य छ त्यही भएर आउन सक्दिन भनेको सुन्न पाइयोस् । यही अवस्था सरकारी निकायका कर्मचारीमा पनि देख्न पाइओस् । शिक्षा क्षेत्रका कर्मचारी, शिक्षक, प्रधानाध्यापकदेखि अभिभावक सबैले विद्यालयका क्रियाकलाप सुव्यवस्थितढङ्गबाट सञ्चालन गर्नका लागि आवश्यक सहयोग गर्न लालायित बनून् । विद्यालय र समुदायको सम्बन्ध थप सुदृढ बन्न सकोस् ।

मानसिकता र व्यवहारमा परिवर्तनः हाल सार्वजनिक विद्यालय जागिर खुवाउने थलो जस्तो बनेको छ । छोराछोरी पढाउन निजी विद्यालय चाहिन्छ तर जागिर खान भने सबैलाई सार्वजनिक विद्यालय नै चाहिन्छ । यस्तो द्वेध मानसिकतामा हामी रहेका छौँ । सहर केन्द्रित विद्यालयमा शिक्षक दरबन्दी छन्, भौतिक पूर्वधार पनि तुलनात्मकरुपमा राम्रै छन् । सरकार र दातृ निकाय एवम् गैरसरकारी सङ्घसंस्थाको ध्यान पनि यिनमा देखिन्छ । यीमध्ये अधिकांशमा एउटा मात्र कुराको कमी छ सो भनेको विद्यार्थी सङ्ख्याको न्यूनता हो । सहरी क्षेत्रमा रहेका धेरै सार्वजनिक विद्यालयहरु सगौरव विद्यार्थीबाट रकम लिएर सार्वजनिक विद्यालयको छानोमुनी निजी मोडलको शिक्षा दिइरहेछन् । यी विद्यालयहरुको आन्तरिक स्रोतको मात्रा पनि उल्लेख मात्रामा छ भन्ने गरिन्छ । सार्वजनिक वहसमा कुरा पनि यिनकै बिक्छन् । यिनले निजी मोडलमा विद्यालय चलाए पनि नाम सरकारी बहिखातामा सार्वजनिक छ जसले गर्दा सरकारी छात्रवृत्ति यिनकै पोल्टामा जान्छभन्दा फरक पर्दैन । हुम्ला वा ताप्लेजुङका झ्याल ढोकाका खापा नभएका कक्षाकोठाका चिसो भुइँमा बसेर कहिलेकाँही मात्र पढ्न पाएका विद्यार्थीले यस्ता सार्वजनिक नामका निजी मोडलका विद्यालयकासँग प्रतिस्पर्धा गर्नु परेपछि समन्यायिकता, समता, सामजिक न्याय सबै वहसमा खपत हुने विषयमात्र बने । अब यस्तो अवस्थामा सुधार आओस् । यहाँ हुनेको खोस्नेभन्दा पनि नहुनेले नयाँ वर्षमा थप न्याय पाउन सकून् वा पाएको देख्न सुन्न पाइयोस् भन्ने चाहना छ । राज्यले हुनेलाई भन्दा नहुनेलाई हेर्नुपर्छ भन्ने शास्वत मान्यता नयाँ वर्षमा केही मात्रामा भए पनि पूरा हुन सकोस् ।

गुणस्तरीय प्राविधिक शिक्षाः मुलुकले प्राविधिक व्यावसायिक शिक्षा र तालिममा जोड दिने सार्वजनिक प्रतिवद्धता जनाइसकेको छ । नीतिगत प्रतिवद्धता छ । तर कार्यक्रमहरु यति छरिएका छन् कि कुन निकायले के गरेको छ भन्ने विवरण पाउन पनि कठिन छ । मन्त्रालयअन्तर्गत पनि विभिन्न मोडलका कार्यक्रम सन्चालनमा छन् । कसैले सोध्यो भने कुन निकायको कार्यक्रम हो भनेर सोध्नुपर्ने अवस्था छ । मापदण्ड पूरा नगरेका संस्थालाई कार्यक्रम सञ्चालन गर्न दिने, अनुगमन संयन्त्र कमजोर हुने र स्रोत साधन पनि उपलब्ध गराउन नसक्ने कार्यले प्राविधिक र व्यावसायिक शिक्षा पनि कागजी घोडामात्र बन्छ कि भन्ने जस्तो छ । यो तहको शिक्षा र तालिम रोजगारी र स्वरोजगारीसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले नया वर्षमा यसमा थप सुधार हुन सकोस् । यस्ता कार्यक्रम सञ्चालन गर्ने निकायहरुले मापदण्ड पूरा गरुन्, शिक्षक प्रशिक्षकको व्यवस्था गर्न सकून्, शैक्षिक सामग्रीको व्यवस्था गर्न सकून्, विद्यार्थीलाई बढीभन्दा अभ्यासमा सरिक बनाउन सकून् । यस्ता निकायहरुले सीपयुक्त जनशक्ति उत्पादन गर्न सकून् । यहाँबाट उत्पादित जनशक्ति लिनका लागि बजारमा प्रतिस्पर्धा हुने वातावरण बनोस् ।

उच्च शिक्षा व्यवस्थापनः उच्च शिक्षातर्फ धेरै समयदेखि मुलुकले पर्खेको छाता ऐन आउन सकोस् । एकातिर भएका विश्वविद्यालयमा विद्यार्थी  छैनन् तर अर्कोतिर नयाँ विश्वविद्यालय खोल्ने क्रम रोकिएको छैन । विना अध्ययन र औचित्यका आधारमा विश्वविद्यालय खोल्ने कार्यले यस नयाँ वर्षदेखी निरन्तरता नपाओस् । अबका दिनमा विश्वविद्यालयहरु सम्बन्धन दिने कारखाना नबनून् । सम्बन्धन नदिने उच्च प्राज्ञिक उत्कृष्टताको केन्द्र बन्न सकून् । भएका विश्वविद्यालयहरुले कम्तिमा पनि आधा शैक्षिक कार्यक्रम प्राविधिक उच्च शिक्षातर्फ केन्द्रित गर्न सकून् । अनुसन्धानमा जोड दिई यसलाई अध्ययन अध्यापनको अभिन्न अङ्ग बनाउन सकून् । प्रध्यापकहरु विद्यार्थीलाई सहयोग गर्नका लागि प्रयत्नसिल रहून् । अन्तर्राष्ट्रिय जर्नलमा प्रध्यापकहरुका अनुसन्धान प्रतिवेदन प्रकाशित भएको देख्न, सुन्न र अध्ययन गर्न पाइयोस् ।

अब प्रश्न उठ्न सक्छ, अहिलेसम्मका यावत समस्या नयाँ वर्षमा एकैपटक पूरा हुन सक्छन त ? यो विषय सोचनीय छ । शिक्षामा हाल देखिएका धेरै समस्याहरु एक आपसमा सम्बन्धित छन् । एउटा समस्या सामाधान गर्ने हो भने अन्य कतिपय समस्याहरु क्रमशः स्वतः समाधान हुन थाल्छन् । सबै समस्या समाधान नभए पनि यस नयाँ वर्षमा शिक्षाका समस्या समाधान हुने दिशामा मुलुक अगाडि बढ्न सकोस् भन्ने चाहना हो ।

यसैगरी अर्को प्रश्न उठछ कि के माथि दिइएका सबै सरकारका कारणमात्र आएका हुन् र सुधारका लागि सरकारले मात्र गर्नुपर्छ ? दिइएका समस्यामध्ये धेरै सरकारका कार्यशैलीका कारण आएका हुनसक्छन् भने कतिपय व्यक्ति स्वयंका कारण पनि आएका हुन् । देखिएका समस्याहरु समयमै समाधान नगरिएको हुनाले समय क्रममा यस्ता समस्या थप झांगिने, फैलिने र विस्तार हुने मौका पाएका हुन् । नयाँ वर्षमा हरेक सार्वजनिक पद धारण गर्ने व्यक्ति स्वयं सदाचारी, जवाफदेही र काम प्रति प्रतिवद्ध बनोस् भन्ने अपेक्षा गर्नु अस्वभाविक हुँदैन । हरेक नागरिक आफ्ना अधिकारका साथमा कर्तव्य प्रति सचेत बन्ने हो भने हाम्रो अवस्था बदलिन समय लाग्ने देखिदैन । विश्वका अनुभवले के देखायो भने मुलुकमा विकासको अवस्था देखिन २०-२५ वर्ष लाग्ने रहेछ, देखिने र अनुभव गरिने परिवर्तन ५-१० वर्षमा हासिल हुने रहेछ । एक वर्षमा लक्षणहरु देखिन थाल्छ । धेरै अपेक्षा गर्न नसकिए पनि नया वर्षमा सुधारका लक्षणहरु देखियून् ।

नयाँ वर्षमा सुधारका लक्षण देखिने वा अनुभव गर्न चाहने हो भने माथि दिइएका कार्यमा साथमा व्यक्ति, घरपरिवार र सरकारले वचत र लगानीको संस्कार विकास गर्ने र कार्यान्वयन गर्ने संस्कृति बसाल्नुपर्छ । आफूसँग हुनेले बचत गरी लगानी गर्ने हो भने यसले अरुलाई आम्दानी गर्ने बाटो खुल्छ । यसका लागि सरकार स्वयंले सुरुमा लगानी गर्न सक्नुपर्छ । लगानीको वातावरण बनाउन सक्नुपर्छ, लगानीले नै व्यक्तिलाई आम्दानी गर्ने बाटो खोल्ने हो । तर अहिलेको अवस्था हेर्ने हो भने मुलुकको सरकारी बजेटको ठूलो हिस्सा उपभोगमा नै सकिएको छ । बढी उपभोगमुखी संस्कारले भएको पनि सकिने भोलिका लागि लाभ सिर्जना गर्ने कार्य नहुने निश्चित छ । तसर्थ नयाँ वर्षले आ-आफ्नो हैसियतअनुसार न्यूनतम मात्रामा उपभोग गर्ने, बचत गर्ने र सो बचतलाई लगानी गर्ने वातवरण बन्न सकोस्, संस्कार बन्न र बस्न सकोस् ।

लेखक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हुन् ।