Managed Admission 2022

विद्यालय सुधारका अनेक उपाय अपनाइँदै

Thuprai - Books and E-books

सँगैका निजी विद्यालयमा विद्यार्थी भरिभराउ हुन थालेपछि पछिल्ला समयमा सामुदायिक विद्यालयलाई सुधारका लागि नैतिक दबाब बढ्न थालेको छ । सामुदायिक विद्यालयका शिक्षकसँग अब दुईवटा विकल्प छन्– बद्नाम कमाएर ‘जागिर’ खाने वा सुधार गर्ने । पछिल्लो विकल्पतर्फ सामुदायिक विद्यालय अग्रसर हुन थालेका छन् । 

कक्षाकोठाभित्रको सिकाइ सुधार्न विद्यालयले फरक फरक अभ्यास थाल्दै आएका छन् । कतिपय अभ्यास नयाँ प्रयोगमा ल्याइएका छन् भने कतिपय अभ्यास अन्य विद्यालयबाट अनुकरण गरिएका छन् । नयाँ अभ्यास निकै सफल भएका छन् । यिनलाई अन्य विद्यालयले पनि अनुकरण गर्न सके सुधार अभियानमा सहयोगी हुने देखिन्छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक नीलकण्ठ ढकालले सामुदायिक विद्यालयमा सुधारका प्रयास निकै सकारात्मक रूपमा अगाडि बढेको दावी गर्दै भने, “शैक्षिक सुधारका लागि प्रतिस्पर्धाको विकास भएको छ ।”

विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी) गत असारमा सकिएको छ । अब विद्यालय शिक्षा क्षेत्र योजना (एसईएसपी) कार्यान्वयनमा छ । एसएसडीपीले पहुँच, सहभागिता, समता, गुणस्तर, सुशासन र व्यवस्थापन, उत्थानशीलता आदिमा उपलब्धि हासिल गरेको दावी सरकारी संयन्त्रको छ । जबकी गुणस्तरमा अझै सोचेअनुरुप सुधार भएको देखिँदैन । “एसएसडीपीले गर्दा विद्यालयका कक्षाकोठामा सुधार देखिन थालेको हो” उनले भने, “प्रयास सुरु भइसकेको छ । नतिजा आउन केही समय लाग्छ ।”

कास्कीको भर्जुङ्खोलास्थित माछापुच्छे माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष आचार्यले विद्यालयमा गरिँदै आएका असल अभ्यासका बारेमा सुनाए–

१) गैरगुरुङ भाषीबीच गुरुङ भाषामा हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्दै आएका छौँ । यसबाट गैरगुरुङ भाषीका विद्यार्थी पनि गुरुङ भाषा जान्ने र सिक्ने अवसर पाउँछन् । सबै विद्यार्थीलाई गुरुङ र तामाङ भाषा पनि सिकाउन थालेका छौँ । 

२) परीक्षाका लागि शिक्षकले प्रश्नपत्र लिखित रुपमा बुझाउन नपाउने नियम बनाएका छौँ । शिक्षकले अनिवार्य रुपमा कम्प्युटरमा टाइप गरेर बुझाउनुपर्छ । हरेक शिक्षकलाई ल्यापटपको व्यवस्था गरिएको छ । 

३) प्रारम्भिक बाल विकासका बालबालिकाका पाठ्यसामग्री किन्ने गरेका छैनौँ । शिक्षकले तयार गर्नुहुन्छ । त्यसलाई विद्यालयमै प्रिन्ट गरेर पुस्तकको रुपमा विद्यार्थीलाई उपलब्ध गराउँछौँ । तिनैको प्रयोग गरी प्रारम्भिक बाल विकासका बालबालिकाले कखरा र एबीसीडी सिक्छन् । 

४) प्रत्येक दिनको प्रार्थनामा हाजिरी जवाफ गराइन्छ । कक्षा १–३, कक्षा ४–५, कक्षा ६–८ र कक्षा ९–१० का विद्यार्थीका लागि अलग अलग प्रश्न सोधिन्छ । सही जवाफ दिनेलाई पेन्सिल उपहार दिने गरेका छौँ । यसले गर्दा विद्यार्थी विश्वज्ञानसँग जोडिन पाउँछन् ।

५) कक्षा ५ सम्मका विद्यार्थीले ९० प्रतिशत र कक्षा ६–१० सम्मका विद्यार्थीले ८० प्रतिशत प्राप्ताङ्क नघाएमा जनही एक सय रुपियाँ पुरस्कार दिने गरेका छौँ । यस्तो व्यवस्था वार्षिकमात्र नभई त्रैमासिक परीक्षामा पनि कार्यान्वयन गर्दै आएका छौँ । यसबाट विद्यार्थीमा प्रतिस्पर्धाको भावना जागृत हुन गएको छ ।

६) विद्यार्थी वा शिक्षकको जन्म दिनमा चकलेट बाँड्ने चलनलाई रोकेका छौँ बरु त्यो रकम विद्यालयमा उपलब्ध गराउनसक्ने व्यवस्था गरिएको छ । त्यस्तो रकम विद्यार्थीहरुले नै कोष बनाएर राख्ने गरेका छन् । उनीहरुले नै विद्यालय र विद्यार्थीका लागि आवश्यक पर्ने सामग्री खरिद गर्ने गरेका छन् । हालसम्म ६५ हजार रुपियाँ कोषमा जम्मा भइसकेको छ । आर्थिक विपन्न विद्यार्थीका लागि स्विटर, मोजा, टोपी किन्न, फूलका गमला लगायतका सामग्री खरिदमा त्यो रकम खर्च हुने गरेको छ । 

७) ईसीडीका बालबालिकाका लागि चप्पलको व्यवस्था गरेका छौँ । उनीहरु घरबाट आएपछि जुत्ता फुकाल्छन् र विद्यालयले उपलब्ध गराउने चप्पल दिनभरि लगाउँछन् । दिनभरि जुत्ताको कसाइको पीडा साना बालबालिकाले नपाउन् भनेर यस्तो गरेका हौँ ।

८) वर्षको १२ देखि १५ पटकसम्म अभिभावक भेलाको आयोजना गर्दै आएका छौँ । यसबाट विद्यालयको पठनपाठन सुधारमा सहयोग मिलेको छ ।

९) शिक्षक नहुँदा पूर्वविद्यार्थीलाई शिक्षकका रुपमा अध्यापन गर्न खटाउने गरिएको छ । उनीहरुलाई प्रतिकक्षा २५० देखि तीन सय रुपियाँ उपलब्ध गराउँछौँ । शिक्षक अनुपस्थित हुँदा पूर्व जानकारी गराउनुपर्छ । त्यसपछि पूर्वविद्यार्थीको व्यवस्थापन गर्छाैँ । यसरी पूर्वविद्यार्थीको व्यवस्थापन नहुन्जेल शिक्षकले बिदा नपाउने व्यवस्था छ ।

१०) भैपरी र पर्व विदा सञ्चित गर्न शिक्षकलाई त्यसवापत स्केलअनुसारको रकम उपलब्ध गराउँछौँ । वर्षान्तमा शिक्षकहरु बिदा सक्न घर बसिदिने समस्या भएपछि यस्तो विधि अपनाइएको हो । यसबाट शिक्षकले बिदा लिन छाड्नु भएको छ । कतिपय शिक्षकले त वर्षभरि एक दिन पनि बिदा नलिएको अवस्था छ । बिदा सञ्चित गरेमा पारिश्रमिक पाउने भएपछि चैतमा बिदा सक्न घर बसिदिने प्रवृत्तिमा निकै कमी आएको छ ।

११) विद्यालय व्यवस्थापन समिति र शिक्षकका छोराछोरी अनिवार्य रुपमा यही विद्यालयमा पढाउनैपर्ने व्यवस्था गरेका छौँ । 

१२) अभिभावक तथा पूर्वअभिभावकका नाममा २४ वटा अक्षयकोष स्थापना छ । तिनमा २० लाख रुपियाँभन्दा बढी रकम छ । सो अक्षयकोषको व्याजबाट शिक्षकलाई पनि सम्मान र पुरस्कृत गर्दै आएका छौँ । यस्तो पुरस्कार स्थायी शिक्षकलाई नदिई निजी स्रोत वा अस्थायी शिक्षकलाई उपलब्ध गराइन्छ ।

सम्झना पोखरेल, शिक्षा प्रमुख, माछापुच्छे गाउँपालिका

१) कक्षा १–५ को त्रैमासिक र वार्षिक परीक्षा पालिकास्तरीय रुपमा सञ्चालन गरिँदै आएको छ । पालिकाले प्रश्न उपलब्ध गराउँछ । त्रैमासिक परीक्षामा पनि बढीमा दुई विषयमा अनुत्तीर्ण भएमा पुनः ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने गरिएको छ । पालिकाभरि एकरुपता ल्याउन यस्तो गरिएको हो । ग्रेड वृद्धि अनिवार्य गरिएको छैन । कुनै कुनै विद्यालयले गर्ने गरेका छन् । सिकाइ उपलब्धि पूरा गर्न ग्रेडवृद्धि परीक्षाको अवसर दिने गरिएको हो । यसबाट विद्यार्थीले आफूलाई सुधार्ने अवसर पाउँछन् । विद्यार्थी अनुत्तीर्ण भए भन्ने मनोविज्ञान उनीहरुमा रहँदैन ।

२) गाउँपालिकाभरि शैक्षिक क्यालेन्डर कायम गरिएको छ । रहेक परीक्षा एकै दिनमा सञ्चालन हुन्छ, एकै दिनमा परीक्षा सकिन्छ र नतिजा पनि एकै दिनमा सार्वजनिक हुन्छ ।

३) कक्षा ८ को वार्षिक परीक्षाको उत्तरपुस्तिका पालिकामै परीक्षण गर्ने गरेका छौँ ।

४) हरेक विद्यार्थीलाई गृहकार्यको डायरी उपलब्ध गराइएको छ । 

५) शिक्षकलाई दैनिक पाठयोजनाका लागि शिक्षक डायरी पनि उपलब्ध गराउँदै आएका छौँ ।

६) प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई असल अभ्यास आदानप्रदान गर्ने उद्देश्यले दसैँ र तिहारको बीचमा शैक्षिक भ्रमणमा लिएर जाने अभ्यास थालेका छौँ ।

७) प्रत्येक कक्षाकोठामा एउटा घडीको व्यवस्था गरेका छौँ । हरेक कक्षाका मनिटरलाई डायरीको पनि व्यवस्था गरेका छौँ । उनले शिक्षकले कक्षाकोठामा बिताउने समयावधिको मूल्याङ्कन गर्ने जिम्मा पाएका हुन्छन् । हरेक शिक्षक कक्षाकोठाभित्र प्रवेश गर्ने र बिताउने समय टिप्छन् । त्यसलाई दैनिक रुपमा प्रधानाध्यापकलाई बुझाउनुपर्ने नियम छ ।

८) प्रत्येक शिक्षकलाई कम्प्युटर तालिम उपलब्ध गराउन थालेका छौँ । कम्प्युटर र प्रिन्टरको पनि व्यवस्था गरेका छौँ । प्रधानाध्यापकले गाउँपालिकासँग पत्राचार लिखित रुपमा गर्न नपाउने व्यवस्था लागू गरेका छौँ । उनीहरुले ईमेल वा प्रिन्ट गरेर पत्र पठाउनुपर्ने हुन्छ ।

९) गाउँपालिकामा शिक्षासम्बन्धी बैठक हुँदा प्रधानाध्यापकलाई पनि समावेश गर्ने गरेका छौँ । यसले गर्दा प्रधानाध्यापकमा अपनत्व अभिवृद्धि हुनसक्छ ।

कृष्णप्रसाद आचार्य, प्रधानाध्यापक, विन्ध्यवासिनी माध्यमिक विद्यालय बाटुलेचौर पोखरा

१) प्रश्नावली बनाएर अभिभावकका घरघरमा पुगेर धारणा सङ्कलन गर्ने गरेका छौँ । बच्चाले अध्ययनका लागि घरमा कति समय खर्चन्छ ? बच्चाका लागि पढ्ने सुविधा केके दिनुभएको छ ? बच्चाले विद्यालयबाट फर्केपछि केके गरेर समय बिताउँछ ? मोबाइल दिनुभएको छ कि छैन ? बच्चा पढ्न बस्दा उसले ध्यान दिएर पढे वा नपढेको मूल्याङ्कन गर्नुभएको छ ? आदि प्रश्नावली रहने गरेका छन् । बच्चालाई पनि अभिभावक र पठनपाठनका बारेमा प्रश्नावली दिइन्छ । 

२) विद्यालय व्यवस्थापन समितिका हरेक पदाधिकारीलाई कामका विभाजन गरिएको छ । शिक्षकलाई पनि कामको विभाजन गरिएको छ । अतिरिक्त क्रियाकलापका इन्चार्ज, आईसीटी इन्चार्ज, ग्रेड टिचिङ इन्चार्ज, विद्यार्थी परामर्शदाता, अनुशासन इन्चार्ज, आधारभूत तह इन्चार्जलाई जिम्मेवारी तोकिनुका साथै विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारी आचारसंहिता पनि कार्यान्वयन गरेका छौँ ।

३) विद्यार्थीलाई प्रतिबद्धता व्यक्त गराउने गरिएको छ । उसले आगामी वर्ष नतिजामा कस्तो सुधार गर्ने छन्, कमजोरी कस्तो छ आदिका आधारमा यस्तो प्रतिबद्धता व्यक्त गराइन्छ ।

४) विगतमा पाँच सय रुपियाँ सहयोग शुल्क लिने गरिएकोमा अब त्यो हटाइएको छ । महेन्द्र र चमेरे गुफा विद्यालयको सम्पत्ति हो । त्यहाँबाट बर्सेनि करिब एक करोड रुपियाँ आर्जन हुन्छ । त्यसले गर्दा विद्यार्थीबाट सहयोग शुल्क लिनुपरेको छैन ।

५) हरेक कक्षामा लगबुकको व्यवस्था गरिएको छ । शिक्षक कक्षाकोठामा प्रवेश गर्दा आफूले सो कक्षामा अध्यापन गर्ने विषय, त्यसको उद्देश्य, पाठ्यवस्तु लगायत उल्लेख गर्नुपर्ने हुन्छ ।

६) राज्यले उपलब्ध गराएको खाजा खर्च रकम अपुग भएकाले विद्यालय आफैँले रकम थप गर्ने गरेको छ ।

७) विद्यार्थीको जन्म दिनमा इच्छानुसार रकम कोषमा जम्मा गर्ने र सो रकम विद्यार्थीले नै निर्णय गरेर खर्च गर्ने गरेका छन् । आवश्यक सामग्री खरिद गर्नेदेखि आर्थिक विपन्न विद्यार्थीका लागि पोशाक खरिद गरिदिनेसम्मका काम गर्ने गरेका छन् ।   

८) कहिलेकाहीँ शिक्षक घर फर्कन नसक्ने अवस्था पनि हुन्छ । त्यस्ताे बेलाका लागि भनेर विद्यालयमा नै सयन कक्ष तयार गरेका छाैँ । यही  शिक्षक सुत्ने गर्नुहुन्छ ।

९) प्रधानाध्यापक र विव्यस अध्यक्षकाे कार्यकक्षसँगसँगै छ ।