After SEE Portal

कक्षा १२ को परीक्षामा सक्कल प्रवेशपत्र अनिवार्य

Bridge Course

कक्षा १२ को परीक्षामा सम्मिलित हुन सक्कल प्रवेशपत्र आवश्यक पर्ने राष्ट्रिय परीक्षा बोर्डले स्पष्ट गरेको छ । कतिपय विद्यार्थी तथा शिक्षकले फोटो खिचेर म्यासेन्जर, भाइबरबाट पठाएको वा फोटोकपी गरेकोलाई मान्यता दिनुपर्ने माग गरिरहेको सन्दर्भमा बोर्डले सक्कल प्रवेशपत्र नै आवश्यक पर्ने स्पष्ट गरेको हो ।

कोभिड–१९ का कारण विद्यार्थीहरुलाई आफूलाई पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने अवसर दिइएको छ । घर नजिकको पायक पर्ने विद्यालयबाट परीक्षा दिन पाउनका लागि करिव १६ हजार विद्यार्थीले फाराम भरेकोमा १४ हजारमात्र स्वीकृत भएका छन् ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले नक्कली परीक्षार्थीको समस्या सिर्जना हुन सक्ने भएकाले सक्कल प्रवेशपत्र अनिवार्य गरिएको स्पष्ट गर्दै भने, “अहिले सवारी साधन चलेको अवस्था छ । हवाइ साधन पनि नियमित छन् । कुरियर गरेर पनि आजको भोलि नै प्रवेशपत्र हात पर्न सक्ने अवस्था भइसकेको छ । त्यसैले अब कुनै पनि वहानालाई स्वीकार गर्न सकिदैन ।”

यसबीचमा केही विद्यार्थीले आफू पढेकै विद्यालयमै गई परीक्षा दिन चाहेको र परीक्षार्थीलाई घर नजिकको विद्यालय वा आफू पढेकै विद्यालयबाट परीक्षा दिन सक्ने व्यवस्था मिलाइएको बताउँदै उनले थपे, “विगतमा घर नजिकको विद्यालयबाट परीक्षामा सम्मिलित हुन चाहनेहरुले अब यतिबेला आफू पढेकै विद्यालयबाट परीक्षा दिन चाहेका छन् । उनीहरुलाई त्यस्तो सुविधा दिइनेछ । त्यसले गर्दा विगतमा घर नजिकको विद्यालयबाट परीक्षा दिन चाहने १४ हजार विद्यार्थी अब केही घट्न सक्नेछन् ।”

यसैबीच बोर्डले हिमाली सबै जिल्लाका परीक्षा केन्द्र र पहाडी केही परीक्षा केन्द्रमा प्रश्नपत्र छपाइ गरी पठाएको छ । बाँकी स्थानमा इमेलमार्फत सोही दिन प्रश्नपत्र पठाइनेछ र विद्यालयले आफ्नो सुविधाअनुसार प्रिन्ट गरेर वा कालोपाटीमा सारेर विद्यार्थीलाई प्रश्न उपलब्ध गराउनेछन् ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले तराईँ र काठमाडौँ उपत्यकाका कुनै पनि स्थानमा प्रश्नपत्र छपाइ गरी नपठाइएको बताउँदै भने, “जहाँ इन्टरनेटको असुविधा हुनसक्दछ त्यस्ता स्थानमा प्रश्नपत्र पठाइएको छ । पहाडी केही जिल्ला, तराईँ र काठमाडौँ उपत्यकाभित्रका विद्यालयहरुले हामीले पठाएका प्रश्नपत्र तुरुन्त प्रिन्ट गरेर विद्यार्थीलाई उपलब्ध गराउनेछन् ।”

कक्षा १२ को वार्षिक परीक्षा मङ्सिर ९ गतेबाट सुरु हुँदैछ ।

A Levels MA
Thuprai - Books and E-books