CMAT

१७ विद्यालयका २३६ ओटा सटरमा ताला, सात दिनमा सटर खाली नगरे कारबाही गर्ने चेतावनी

काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको सटर भाडा अन्त्य अभियान तीव्र बनाएको छ ।

महानगरपालिका शिक्षा विभागले आफ्नो मातहतमा रहेका सामुदायिक विद्यालयले विभिन्न व्षपारिक प्रयोजनमा भाडामा लगाउका सटर बन्द गरिरहेको छ । शिक्षा विभागले आतबार र सोमबार गरेर दुई दिनमा १७ विद्यालयका २३६ ओटा सटरमा ताला लगाएको छ ।

शिक्षा विभागले सोमबार १३ ओटा सामुदायिक विद्यालयका १७५ र आइतबार ४ ओटा विद्यालयका ६१ ओटा सटरमा ताला लगाएको छ । हिजो ताला लगाएका मध्ये ७ ओटामा विभाग पुगेको थियो भने ६ ओटाले आफैँ बन्द गराएका थिए ।

यसरी ताला लगाइएका विद्यालयहरुमा जुद्धोदय माध्यमिक विद्यालय (जेपि स्कूल), ठमेलका ४६ वटा सटर छन् ।

जेपि स्कुलका सटरमा रेष्टुरेन्टलगायतका अन्य  व्यापारिक क्रियाकलाप सञ्चालन गरिँदै आएको शिक्षा विभागले जानकारी दियो ।

त्यस्तै रत्नराज्य माध्यमिक विद्यालय, बानेश्वरका ११ ओटा, कन्या मन्दिर माध्यमिक विद्यालय, न्होखाका ३६ ओटा, मंगलादेवी माध्यमिक विद्यालय, गुह्येश्वरी १२ ओटा, जनकल्याण माध्यमिक विद्यालय, बौद्धका १४ ओटा, पशुपति मित्र माध्यमिक विद्यालय, चावहिलका ३६ ओटा र महेन्द्र माध्यमिक विद्यालय बौद्धका २० ओटा सटरमा ताला लगाइएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिए ।

त्यसैगरी शितला माध्यमिक विद्यालय, वोहराटार, शिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्ज, नव जागृति माध्यमिक विद्यालय, वोहोराटार, रुद्रमती आधारभूत विद्यालय, देवीनगर, विद्योदय आधारभूत विद्यालय, झोँछे र आधारभूत विद्यालय, लगनले भाडामा लगाएका सटर आफैँ बन्द गराएका विभागले जानकारी दियो ।

आइतबार  ४ ओटा विद्यालयका ६१ ओटा सटरमा ताला लगाएको थियो । यसरी ताला लगाइएका सटरहरूमध्ये रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका १७ वटा, बागबजारमा रहेको सहिद शुक्र माविका २२ वटा, विजय स्मारक मावि डिल्लीबजारका ८ वटा र पदमकन्या मावि डिल्लीबजारका १४ वटा सटर रहेका छन् ।

केही विद्यालयले विद्यालयको खुला जग्गामा अस्थायी टहरा बनाएर भाडामा लगाएका छन् । यसले विद्यार्थीको सुरक्षा, शैक्षिक तथा व्यक्तित्व विकासमा बाधा सिर्जना गरेको  विभागले जानकारी दियो ।  शिक्षा अधिकृत नेत्रनारायण पौडेलका अनुसार शिक्षा ऐन २०२८ को दफा १६, शिक्षा नियमावलीको  नियम १५८ र १५९ अनुसार उद्देश्य पूरा नभएको देखिएकोले ताला लगाउनु परेको हो ।

 यस व्यवस्था अनुसार विद्यालयको सम्पत्ति विद्यार्थीको शैक्षिक र व्यक्तित्व उन्नतिका लागि मात्र उपयोग गर्न पाइन्छ ।

ताला लगाइएका सटरहरुको चावी विद्यालयका प्रधानाध्यापकलाई बुझाइएको छ । व्यवसाय सञ्चालन गर्न नदिने तर व्यवसायीका सामान सारेर लैजाने सर्तमा प्रधानाध्यापकहरुलाई ताला दिइएको हो ।

शिक्षा विभागले विद्यालयलाई पत्राचार गर्दै गत चैत २ गते विद्यालय हाताभित्र भएका भाडामा लगाइएका, वहाल अवधि सकिएका सटरको नवीकरण नगराउन  निर्देशन दिएको थियो । अनुगमनका क्रममा महानगरपालिकाका प्रतिनिधिले अवस्था सुधार गर्न विद्यालयले चासो नदेखाए पछि आफै ताला लगाएको प्रमुखको सचिवालयले जानकारी दियो ।

‘महानगरपालिका भित्रका ३७ वटा विद्यालयले सटर वा विद्यालय परिसरमा टहरा बनाएर भाडामा लगाएको अनुगमनपछिको प्रतिवेदनमा देखिएको  विभागले जानकारी दियो  । विभागले महानगरपालिका भित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरू ७ दिन भित्र खाली गर्न निर्देशन दिएको छ ।

सात दिन भित्र व्यावसायिक प्रयोजनका सटरहरू खाली  नगरे कारबाही प्रक्रिया अघि बढाउने महानगरले जनाएको छ ।

Thuprai - Books and E-books