Bachelors Portal

गत वर्षका पुरस्कृत शिक्षकका हात अझै रित्तो

गत वर्ष घोषित पुरस्कृत शिक्षकलाई पदक तथा प्रमाणपत्र दिने सुरसार छैन तर यस वर्ष पनि नयाँको नाम घोषणा गरिने भएको छ ।

गत वर्ष राष्ट्रिय शिक्षा दिवसका सन्दर्भमा पदक तथा प्रमाणपत्रसहित पुरस्कृत गरिने शिक्षकको नाम सार्वजनिक गरिएको थियो । एक वर्ष बित्दा पनि उनीहरुले न पदक पाए न त प्रमाणपत्र पाउन सकेका छन् । हरेक जिल्लाबाट एक जना शिक्षक र हरेक प्रदेशबाट पाँच पाँच जना विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई पुरस्कृत गर्ने प्रावधान छ ।

यस वर्ष पनि त्यस्ता शिक्षक र विव्यस पदाधिकारीको नाम पठाइदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरिका शिक्षा विकास तथा समन्वय एकाइ एवं प्रदेश शिक्षा निर्देशनालयलाई पत्राचार गरेको छ । पुरस्कृतका लागि सिफारिस गरिएका नाम अझैसम्म पनि मन्त्रालयले पाइसकेको छैन ।

शिक्षा मन्त्रालयका सहसचिव डा. कमल पोखरेलले उत्कृष्ट शिक्षकको नाम सिफारिस गर्न एकाइलाई निर्देशन दिइएको बताउँदै भने, आर्थिक स्रोत जुट्दासम्म पदक नै दिने सोचमा छौँ । स्रोत जुट्न नसक्दा प्रमाणपत्र भए पनि दिनुपर्छ भन्ने कुरा छलफल भइरहेको छ ।

मन्त्रालयले अहिलेसम्म यो विषय टुँगो लगाइसकेको छैन । तसर्थ १३ दिनपछि मनाइने शिक्षा दिवसमा पदक प्रदान गर्न सम्भव छैन । प्रमाणपत्रका लागि भने खासै समस्या नरहने बताइएको छ । पदक तयार गर्न समय लाग्ने भएकाले स्रोत जुट्न सक्दा पछि कुनै कार्यक्रमको आयोजना गरी पदक वितरण गरिने र अहिलेलाई असोज २ गते नाम सार्वजनिक गर्ने योजनामा मन्त्रालय रहेको बुझिएको छ ।

यस्तो समस्या नेपाल विद्याभूषणको पनि छ । गत वर्ष सिफारिस भएका विद्यार्थीले नेपाल विद्याभूषण हालसम्म पाएका छैनन् । यस वर्ष गत वर्षका र यस वर्षकालाई एकैपटक प्रमाणपत्र दिने सोचमा मन्त्रालय पुगेको छ ।

Thuprai - Books and E-books