Bachelors Portal

शहीद स्मृति विद्यालयमा पूर्वाधार अभाव

लमही, फागुन २ गते । द्वन्द्वपीडित विद्यार्थीलाई पठनपाठन गराउँदै आएको दाङको तुलसीपुर उपमहानगरपालिका– १७ हेमन्तपुरस्थित शहीद स्मृति आवासीय माविमा पूर्वाधार अभाव छ । पूर्वाधार अभाव हुँदा पठनपाठनमा समस्या भएको छ ।

विद्यालयका प्रधानाध्यापक नारायण पौडेलका अनुसार पूर्वाधार जीर्ण हुँदा विद्यार्थीलाई बस्न समस्या भएको छ । अहिले विद्यालयमा ४७० विद्यार्थी अध्ययनरत छन् । चार सय ११ विद्यार्थी विद्यालयमै बस्ने गरेका छन् । “आवासीय विद्यार्थीका लागि भवनको अभाव छ”, प्रअ पौडेलले भन्नुभयो, “एउटै कोठामा २६ विद्यार्थीलाई राख्नुुपर्ने अवस्था छ ।”

विद्यार्थीको आवासका लागि दुई भवन छन् । छात्र र छात्राका लागि १२–१२ कोठाको व्यवस्था गरिएको छ । कोठा अभावमा शिक्षकलाई बस्न समस्या भएको छ । सरकारले शहीद, बेपत्ता, घाइते र अपाङ्गता भएकाका छोराछोरीलाई पठनपाठन गराउन सञ्चालन गरेको उक्त विद्यालय अहिले स्थानीय सरकार मातहत आएको छ । “ एउटै कक्षामा ५०÷६० विद्यार्थी राख्नुपर्ने अवस्था छ”, प्रअ पौडेलले भन्नुभयो, “विद्यार्थीको चाप निकै छ, चापअनुसार तिक पूर्वाधार पनि थप गर्नुपर्छ ।”

विद्यालयमा द्वन्द्वपीडित छात्रछात्रा कक्षा १२ सम्म पढ्छन् । आर्थिक अभावका कारण उनीहरुले स्नातक तह पढ्न पाएका छैनन् । “स्नातक तह निःशुल्क पढ्न कक्षा सञ्चालन गर्नुपर्ने अवस्था छ”, प्रअ पौडेलले भन्नुभयो । विद्यालयमा बाल विकास कक्षा नहुँदासमेत समस्या भएको छ । “द्वन्द्वपीडित बालबालिका पढ्न आउँछन्, उनीहरुलाई एकैपटक कक्षा १ मा राख्न समस्या हुने गरेका छ”, उहाँले भन्नुभयो ।

विद्यालयमा सबै शिक्षक करारमा कार्यरत छन् । विसं २०६४ मा स्थापना भएको सो विद्यालयमा तत्कालीन प्राविको पाँच, निमाविको चार, माविको पाँच र एक लेखापालको दरबन्दी छ । “दरबन्दी थप नहुँदा समस्या भएको छ”, प्रअ पौडेलले भन्नुभयो । सबै करार शिक्षकलाई स्थायी गर्नुपर्ने उहाँको माग छ । विद्यालयमा थप दुई ‘पार्ट टाइम’ शिक्षक र पाँच आवास व्यवस्थापन कर्मचारी छन् ।

विद्यालय स्थानीय तह मातहत आएकाले व्यवस्थित गर्ने जिम्मेवारी तुलसीपुर उपमहानगरपालिकाले लिने उपमहानगर शिक्षा समितिका संयोजक देवराज विश्वकर्माले बताउनुभयो । विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गरी सहजै रोजगार पाउने वातावरण मिलाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

Thuprai - Books and E-books