विश्वविद्यालयको साख जोगाउन शुल्क समायोजनको तयारी गर्दै केयु

काठमाडौं विश्वविद्यालय (केयु) मा विद्यार्थी घटेपछि शुल्क समायोजनको तयारी थालेको छ । विश्वविद्यालयका लोकप्रिय मानिएका कार्यक्रममा ७० प्रतिशत मात्र विद्यार्थी भर्ना भएपछि शुल्क समायोजनका लागि छलफल अघि बढाएको विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले बताए ।

विश्वविद्यालय अनुदान आयोगले आयोजना गरेको ‘उच्च शेक्षिक संस्थाहरूमा विद्यार्थी भर्ना र यसका विविध आयामहरू’ विषयक नीति संवाद कार्यक्रममा आफ्नो धारणा गर्दै चिकित्सा शिक्षा आयोगले चलेका कार्यक्रममा सिट सीमित र नचल्ने कार्यक्रममा बढी निर्धारण गरेपछि विश्वविद्यालयमा विद्यार्थी घटेको बताए । ‘चलेका कार्यक्रममा चिकित्सा शिक्षा आयोगले सिट सीमित गरिदियो नचल्ने दियो ।’ उनले भने, ‘विद्यार्थी अभाव झेल्न विश्वविद्यालय बाध्य भयो, विगतका दुईवर्ष यता मैले आयोगलाई केयु पब्लिक क्याम्पस हो भनेर बुझाउन सकिन ।’

विश्वविद्यालयले विद्यार्थी घट्दै गएपछि आफ्नो शाखा विस्तारका लागि अन्तर्राष्ट्रिय साझेदार विश्वविद्यालयसंग समन्वय गरी तिरुपति र अष्ट्रेलियामा केही कार्यक्रम सञ्चालनका लागि छलफल अघि बढाएको बताए । ‘तिरुपतिमा शाखा विस्तारका लागि गरिएको अध्ययन र तयारी सफल भएन, अब अष्ट्रेलिया गर्ने कि भन्ने सोचमा छौं ।’

अन्तर्राष्ट्रि विद्यार्थीलाई नेपालमा अध्ययन गर्न ल्याउनका लागि आठओटा शैक्षिक कन्सल्टेन्सीसंग सम्झौता गरेको जानकारी दिए ।‘विदेश अध्ययनका लागि विद्यार्थी पठाउन सक्ने कन्सल्टेन्सीले नेपालमा पनि विद्यार्थी ल्याउन सक्छन् भनेर सम्झौता गरेका छौं ।’ उनले भने, ‘अहिलेसम्म  विदेशी विद्यार्थी कन्सल्टेन्सीले ल्याउन सकेका छैनन् ।’

विश्वविद्यालयमा विद्यार्थी संकट पर्न नदिन पहिला त्रिभुवन विश्वविद्यालयमा सुधार हुनु पर्ने उनले बताए । त्रिविमा सुधार आए थोरै विद्यार्थी भएका विश्वविद्यालय आफैं सुध्रिने उनेको धारणा छ ।  विश्वविद्यालयले केही कार्यक्रममा निशुल्क कक्षा सञ्चालन गर्ने भएको छ । ‘विश्वविद्यालयको साख जोगाउनु छ विद्यार्थी पनि जोगाउनु छ त्यसैले केही कार्यक्रम निशुल्क गर्दैछौं ।’ उनले भने, ‘केही छोटो अवधिको तालिम पनि सञ्चालन गरिसकेका छौं ।’

Thuprai - Books and E-books