A Levels MA

विद्यार्थी किन घट्दैछ काठमाडौँ विश्वविद्यालयमा ?

काठमाडौँ विश्वविद्यालयले विद्यार्थी अभावको समस्या झेल्न थालेको छ । गुणस्तरीयताका दृष्टिकोणले नेपालको सबभन्दा अब्बल मानिएको विश्वविद्यालयको यो अवस्था सुन्दा अचम्म लाग्न सक्छ तर दुई सयभन्दा बढी शैक्षिक कार्यक्रममा कुल कोटाको झण्डै ३० प्रतिशत विद्यार्थी भर्ना भएकै छैनन् । त्यसैले केयुले विद्यार्थी अभाव निकै झेल्नु परेका केही शैक्षिक कार्यक्रम नै स्थगित गर्ने निर्णय गर्दैछ ।

पत्याउनै नसकिने यो दृश्य नेपालका विश्वविद्यालयहरूका लागि नै निकै डरलाग्दो बन्न पुगेको छ । विद्यार्थी सङ्ख्या घट्नुको ठ्याक्कै कारण भन्न नसकिए पनि यो नेपाली विश्वविद्यालयहरूका लागि सुखद् संकेत होइन ।

काठमाडौँ विश्वविद्यालय र शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) को सहकार्यमा आज आयोजित छलफल कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले राज्यले प्रोत्साहन गर्नेभन्दा नियन्त्रण गर्ने काममा बढी ध्यान दिँदा यस्तो अवस्था सिर्जना भएको बताए ।

“विद्यार्थी ल्याउने बहानामा लोकप्रिय कार्यक्रम जथाभावी विस्तार गर्ने पक्षमा हामी छैनौँ” उनले थपे, “यस वर्ष कम विद्यार्थी भएका केही शैक्षिक कार्यक्रम विस्थापन गर्ने योजनामा छौँ ।” 

केयुका अनुसार बीएमएसमा ३० सिट कायम गरिएकोमा २२ सिट रिक्त भएको छ । त्यस्तै बीवाइएसडब्लुको २४ मध्ये २२ सिट रिक्त छ । केयुले त्यसमा मुस्किलले दुई जना विद्यार्थी पाएको छ । एमएमएसमा २० मध्ये १२ सिट रिक्त छ । 

बीए बुद्धिस्ट स्टडिजमा ३० मध्ये चार सिटमात्र पूरा भएको छ । पीजीडी इन लिडरसिप एण्ड म्यानेजमेन्टमा ३० मध्ये १६ सिट रिक्त छ । एक वर्षे एमएड इन ईएलटीमा १५ मध्ये १२ सिट खाली छ । 

इन्जिनियरिङको भर्ना जारी भएकाले सोको तथ्याङ्क उपलब्ध हुन केही समय लाग्नेछ । बीबीए (एनसीएम) मा १२० मध्ये ७८ सिटमात्र भरिएको छ । बीबीआईएसको ४० मध्ये २६ सिटमा भर्ना भएका छन् । त्यस्तै बीएस्सी मिडमा २० मध्इे १३ सिट अझै रिक्त छ । बीएस्सी नर्सिङ (सीओएमएस)मा ४० मध्ये १७ सिट रिक्त छ । बीएस्सी नर्सिङ (एनजीएमसी) मा २० मध्ये १८ सिट रिक्त छ । बीडीएस तथा एमबीबीएसमा पनि यस्तै अवस्था छ । 

काठमाडौँ विश्वविद्यालयअन्तर्गत सात वटा स्कुल (संकाय), २२ वटा कलेज र दुई सयभन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको छ । सो विश्वविद्यालयबाट हालसम्म ४० हजार ३८ जनाले अध्ययन पूरा गरिसकेका छन् र तीमध्ये पाँच हजार ३९ विदेशी विद्यार्थी छन् । हालसम्म ५५ मुलुकबाट विद्यार्थी आएर अध्ययन गरेका छन् ।

पछिल्लो समयमा नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेशिने क्रम बढ्नुले नै नेपालका विश्वविद्यालयले विद्यार्थी पाउन छाडेको प्रारम्भिक अनुमान गरिएको छ । हुन त पछिल्लो समयमा नेपालमा नयाँ विश्वविद्यालय थपिने क्रम बढेको छ । तर ती विश्वविद्यालयमा विद्यार्थी सङ्ख्या हेर्दा यसका कारण सबै विश्वविद्यालयले विद्यार्थीको अभाव झेल्नु परेको त्यति तर्कसङ्गत देखिँदैन ।

केयुमा सबैभन्दा बढी भारतीय विद्यार्थी आउने गरेका छन् । हालसम्म चार हजार २९४ विद्यार्थी भारतका छन् । त्यस्तै स्वीडेन, श्रीलङ्का, अमेरिका, माल्दिभ्स, अष्ट्रेलिया लगायतका मुलुकका विद्यार्थी पनि रहेका छन् । स्वदेशी विद्यार्थी सङ्ख्यामा ओरालो लाग्न थालेपछि केयुले सबै शैक्षिक कार्यक्रममा १० प्रतिशत कोटा आरक्षण गरेको छ । तर ती कोटा पूरा हुन तत्काल सम्भव देखिएको छैन ।

विश्वविद्यालयका उपकुलपति डा. थापाले विदेशी विद्यार्थीलाई नेपाल भित्र्याउने भनी सरकारले नीति तथा कार्यक्रममा समावेश गरे पनि त्यसको कार्यान्वयनमा वेवास्ता भएको बताउँदै भने, “विदेशी विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गर्न ल्याउन सकिन्छ तर उनीहरु त्यति तयार छैनन् किनकी यसको कारक चिकित्सा शिक्षा आयोग हो । आयोगले समयमा परीक्षा नलिने र नतिजा पनि समयमा सार्वजनिक नगरिदिने भएकाले विदेशी विद्यार्थी नेपालमा अध्ययनका लागि पर्खिएर बस्न सम्भव छैन । जहाँ छिटो भर्ना भएर पढ्न पाइन्छ, उनीहरु त्यही मुलुकमा जान्छन् ।” केयुमा बुद्धिस्ट स्टडिज, म्युजिक, फाइन आर्टस्, वातावरण विज्ञान लगायतका विषयमा ९० प्रतिशतभन्दा बढी विदेशी विद्यार्थी हुने गरेका छन् ।

विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीले एकै वर्षमा तीन खर्ब रुपियाँ लगेर गएको तथ्याङ्क अर्काे डरलाग्दो छ । बर्सेनि सवा एक लाख विद्यार्थीले नो अब्जेक्सन लेटर लिने गरेका छन् । तीमध्ये ७० प्रतिशतभन्दा बढी विदेशिने गरेका छन् । शिक्षाका लागि बसाइ सर्ने क्रम विश्वभरि नै छ । विश्वमा यो दर ३.४ प्रतिशतले बढ्ने गरेको छ । नेपालमा बर्सेनि २०.१ प्रतिशतका दरले बसाइ सर्ने प्रवृत्ति देखिएको छ । चीनमा यो दर ६.८ प्रतिशत, भारतमा १२.३ प्रतिशत छ ।

नेपालमा ११ वटा विश्वविद्यालय सञ्चालनमा छन् भने प्रादेशिक लगायतका विश्वविद्यालय तथा प्रतिष्ठान गरेर २२ वटा छन् भने ८७ वटा संस्थाले विदेशी सम्बन्धन लिएर पठनपाठन गर्दै आएका छन् । त्रिभुवन विश्वविद्यालयमा उच्च शिक्षा अध्ययनरत विद्यार्थीमध्ये करिब ८० प्रतिशत छन् । 

काठमाडौँ विश्वविद्यालयको भर्ना निर्देशनालयका सहनिर्देशक ब्रजेस मिश्रले प्रवेश परीक्षामा पनि विगतको भन्दा कमी आएको र नयाँ विषयमा पनि विद्यार्थीको आकर्षण नदेखिएको बताए ।

“विद्यार्थी घट्नुको उत्तर कसैसँग पनि छैन” उनले भने, “एसईईबाट कक्षा १२ सम्म पुग्दा ५० प्रतिशत विद्यार्थी घटिसकेका हुन्छन् । बाँकी विद्यार्थी पनि कोही विदेशिने, कोही विदेशी सम्बन्धन प्राप्त कलेजमा भर्ना हुने गरेका छन् । त्रिविमा ३४२ दिनसम्म लगातार बन्द हुँदा नेपालका सबै विश्वविद्यालयमा राजनीति हुन्छ भन्ने गलत बुझाइ विद्यार्थीमा परेको छ । यसले गर्दा विद्यार्थी विदेशिन चाहन्छ । यसको असरले नेपालका विश्वविद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएको छ ।”

Thuprai - Books and E-books