A Levels MA

२० प्रतिशत पूर्ण छात्रवृत्तिको व्यवस्था सहित मास्टर इन मिडिया स्टडीजमा भर्ना लिँदै केयू

काठमाडौं विश्वविद्यालय (केयू) ले यसै बर्षदेखि अध्यापन सुरु गर्ने गरी मिडिया स्टडीज विषयमा स्नातकोत्तर कार्यक्रम लागि भर्नाको आवेदन खुला राखेको छ ।

२१ जुनदेखि आवेदन खुला गरिएको यो कार्यक्रममा  ३१ जुलाई २०२२ सम्म भर्नाका लागि आवेदन दिन सकिने व्यवस्था गरेको छ ।  

विगत १६ बर्षदेखि स्नातक तहमा सञ्चालन हुँदै आएको मिडिया स्टडीज कार्यक्रमलाई  केयूले  अब स्नातकोत्तर तहमा पनि विस्तार गरेको हो ।

स्नातकपछि केयूमा नै स्नातकोत्तर गर्न चाहने विद्यार्थीको लागि  यो सुनौलो अवसर भएको विश्वविद्यालयस्थित भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. सुधांशु दाहालले बताए ।

आमसञ्चार र पत्रकारिता विषय नेपालका अन्य विश्वविद्यालयमा पढाइ हुँदै आए पनि मिडिया स्टडीज केयुले सञ्चालनमा ल्याएको  एक पृथक कार्यक्रम हो । यो कार्यक्रमभित्र विद्यार्थीले समाज, संस्था, संस्कृति तथा प्रविधिलाई आधारशिला मानी सञ्चारमाध्यमका विभिन्न आयामहरुको अध्ययन गर्न पाउने गरी पाठ्यक्रम निर्माण गरिएको विश्वविद्यालयले जानकारी दियो ।

केयूको मिडिया स्टडीज कार्यक्रममा प्राविधिक सिप र सैद्धान्तिक ज्ञानको समिश्रण पाइने भएकाले यहाँबाट दीक्षित हुनेहरुको बजारमा अत्याधिक माग रहने केयूको दाबी छ ।

केयुले यो कार्यक्रम्का लागि स्नातकोत्तर तहमा  एक चौथाइ विषय अनुसन्धानमुखि बनाएको छ । भने, मिडिया उत्पादन, मिडिया व्यवस्थापन जस्ता विषयहरु व्यवसायिक मिडिया कर्ममा लाग्न चाहनेहरुका लागि ज्ञानको बलियो आधार हुन  प्रमुख दाहालको विश्वास छ । स्नातकोत्तर तहको यो कार्यक्रम तयार गर्दा नेपाल र एसियाकै मौलिक परम्परा, ज्ञान र दर्शनलाई ध्यानमा राखिएको विभागका सहप्राध्यापक डा. निर्मलमणि अधिकारीले बताए ।

यो कार्यक्र दुई बर्षे  हो । यसमा विद्यार्थीले ६० क्रेडिट बराबरका विभिन्न २० वटा विषयहरुको अध्ययन गर्नेछन् । तीमध्ये मोबाइल पत्रकारिता, फिल्म अध्ययन, विज्ञापन व्यवस्थापन, प्रसारण पत्रकारिता, रेडियो स्टेसन व्यवस्थापन लगायत २८ वटा विषयहरुबाट तीन वटा ऐच्छिक विषय छान्न सक्ने प्रमुख दाहालले जानकारी दिए । तर, प्रथम बर्षमात्र पूरा गरेर पढाईलाई निरन्तरता दिन नसक्ने विद्यार्थीहरुलाई बैकल्पिक रुपमा पोष्ट ग्रयाजुएट डिप्लोमाको डिग्री प्रदान गर्न सकिने व्यवस्था समेत यसमा गरिएको छ।

मास्टर्स इन मिडिया स्टडीज कार्यक्रम पूरा गर्ने विद्यार्थीहरु आमसञ्चारका क्षेत्रमा सम्वाददाता, सम्पादक, मिडिया व्यवस्थापक, टेलिभिजन प्रस्तोता लगायत विभिन्न पदका लागि योग्य हुनेछन् ।

साथै विज्ञापन तथा जनसम्पर्क, सरकारी तथा गैह्रसरकारी संस्थाहरुमा रोजगारीका अवसरहरु मिल्नेछन् भने आफै यस्ता क्षेत्रहरुमा व्यवसाय सुरु गर्ने क्षमता तथा योग्यताको विकास हुनेछ ।

स्नातकोत्तर तहको यस कार्यक्रमले नीति निर्माण, सञ्चार विज्ञ तथा अनुसन्धाता तथा शोधकर्ताका रुपमा काम गर्न योग्य बनाउँछ । मिडिया क्षेत्रमै विद्यावारिधी गर्न चाहनेहरुका लागि पनि यो स्नातकोत्तर कार्यक्रम सहयोगी हुनेछ ।

स्नातकोत्तर तहमा मिडिया स्टडीजमा भर्ना हुनका लागि आवेदकले जुनसुकै विषयमा कम्तिमा ३ बर्षे स्नातक तहको पढाइ पुरा गरेको हुनुपर्छ ।

न्यूनतम ५० प्रतिशत वा २.५ जिपिए ल्याएको हुनुपर्छ । तर, दश बर्षभन्दा बढी व्यवसायिक मिडियाकर्ममा लागिसकेका आवेदकको हकमा ४५ प्रतिशत वा २ जिपिए भए पुग्ने केयुले जानकारी दियो ।

मास्टर्स इन मिडिया स्टडीज नामको यो स्नातकोत्तर कार्यक्रममा हरेक बर्ष २० जना विद्यार्थी भर्ना हुनेछन् भने पूरा पढाई शुल्क ४ लाख रुपियाँ कायम गरिएको छ । यो कार्यक्रममा भर्ना भएका मध्ये २० प्रतिशत विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तिको समेत व्यवस्था  गरिएको छ।

सूचना प्रविधिमा आएको नवक्रान्तिलाई पछ्याउँदै नेपाली आमसञ्चार तथा मिडियाको क्षेत्रले केही वर्ष यतादेखि विशिष्टिकृत जनशक्तिको अभाव झेली रहेको परिवेशमा मास्टर्स इन मिडिया स्टडीजबाट उत्पादित जनशक्ति सहायक मात्र हुनेछैन, यसले नेपाली मिडिया क्षेत्रका समग्रता समेतमा दीर्घकालीन प्रभाव पार्ने केयुको स्कुलअफ आर्टस् अन्तर्गत्को भाषा तथा आमसञ्चार विभागले आज प्रकाशन गरेको ज्ञिप्तिमा  उल्लेख गरिएको छ।

Thuprai - Books and E-books