After SEE Portal

काठमाडौँ विश्वविद्यालय र नेपाल महर्षि वैदिक फाउन्डेसनले शैक्षिक तथा बैदिक कार्यमा सहकार्य गर्ने

Bridge Course

काठमाडौँ विश्वविद्यालय र नेपाल महर्षि वैदिक फाउन्डेसनले शैक्षिक तथा बैदिक कार्यमा सहकार्य गर्ने भएका छन् । बिच वैदिक एवं आध्यात्मिक अनुसन्धान, प्रकाशन, शैक्षिक कार्यक्रम सञ्चालन तथा विज्ञ-विशेषज्ञ आदानप्रदानका लागि सहकार्य  गर्ने गरी सम्झौता गरेका हुन् ।

सम्झौताअनुसार सनातन वैदिक दर्शन, सभ्यता संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पौरस्त्य भाषा, संस्कृति, साहित्य, रीतिथिति, परम्परा आदि विषयमा आवश्यक अध्ययन अनुसन्धान गराउन लागिएको हो । यसका लागि प्राज्ञिक पक्षमा विश्वविद्यालय र आध्यात्मिक सनातन वैदिक पक्षमा फाउण्डेसनले सहकार्य गर्नेछन् ।

वैदिक वाङ्मय, संस्कृत लगायत प्राचीन भाषा र लिपिमा थप अध्ययन, अनुसन्धान गर्न र अन्तर्राष्ट्रियकरण गरी संरक्षणसमेत गर्न विशेषज्ञ अनुसन्धानदाता आदान प्रदान गरिने भएको छ । योग, वैदिक यज्ञ, प्राकृतिक चिकित्सा, आयुर्वेद, औषधि चिकित्सा र परम्परागत उपचार पद्धतिमा आवश्यकताअनुसार संयुक्त अध्ययन र अन्वेषणात्मक कार्य गरिनेछ ।

फाउण्डेसनसँग आबद्ध विश्वका विभिन्न विश्वविद्यालय, शिक्षण संस्था, अनुसन्धान केन्द्र र काठमाडौँ विश्वविद्यालय तथा मातहतका निकायसँग पारस्परिक सहकार्यको वातावरण निर्माण गरिने सम्झौतापत्रमा उल्लेख छ ।

आवश्यकताकअनुसार दुवै स्थानमा समानस्तरका परिपूरक शैक्षिक एवं अनुसन्धानात्मक कार्यक्रम सञ्चालन गरिनेछ । यसका लागि सम्बन्धित शिक्षक विद्यार्थी आदानप्रदान गरिनेछ । पारस्परिक सहकार्यबाट तयार गरिएका शोधप्रबन्ध, प्रकाशन संयुक्तरूपमा सम्पादन एवं प्रकाशन गरिनेछ । सहकार्य पत्रको समयावधि पाँच वर्षको हुनेछ । पाँच वर्षपछि आपसी सहमतिमा नवीकरण गरिने छ ।

सम्झौता पत्रमा विश्वविद्यालयका कार्यकारी निर्देशक प्राडा सागरराज शर्मा र फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले आधुनिक ज्ञानलाई वैदिक ज्ञानसँग जोड्न सकेमा मात्र परिपूर्ण हुनसक्ने अनुभव गरेर सहकार्य अघि बढाएको बताए । कार्यक्रममा डा चिन्तामणि योगीले समारोहलाई सम्बोधन गर्दै वेदभन्दा ठूलो प्रमाण अरु केही छैन भन्ने महर्षि महेश योगीको उद्घोषलाई नेपालका सबै विश्वविद्यालयमा नेपाली परम्परा र वैदिक ज्ञानको पठनपाठन गराउन चेतनामा आधारित शिक्षाले मद्दत गर्ने बताए। फाउन्डेसनका अध्यक्ष पूर्वमन्त्री दीपकप्रकाश बाँस्कोटाले वैदिक नेपाल निर्माणमा विश्वविद्यालयसँग सहकार्य गरी काम गर्न लागेको बताए ।

A Levels MA
Thuprai - Books and E-books