विद्यालय स्तरका सबै पाठ्यपुस्तक जनक शिक्षाले छाप्न पाउनु पर्ने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रदेखि लागु हुने भनिएको कक्षा पाँचको नयाँ पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक निजी प्रकाशनलाई छाप्न दिने तयारी थालेको छ ।

पाठ्यक्रम विकास केन्द्रबाट आएको फाइललाई अघि बढाउँदै मन्त्रालयले कक्षा पाँच सम्मको पाठ्यपुस्तक निजी प्रकाशक तथा वितरकलाई छाप्न दिने तयारी थालेको हो ।

यसअघि जनक शिक्षा सामग्री केन्द्रबाट छापिँदै आएका विद्यालय स्तरका पाठ्यसामग्री निजी प्रकाशन गृहलाई छाप्न दिएर जनक शिक्षाको दायरालाई खुम्च्याउँदै लगेको जनक शिक्षा सामग्री केन्द्रका एक अधिकृतले बताए । ‘विद्यालयस्तरका सबै पाठ्यसामग्री लगायत सरकारले छाप्ने सबै खालका सामग्री छाप्नका लागि स्थापना गरेको संस्थाको साखलाई धारासायी बनाएर कमिसन पाउने आशमा मन्त्रालयले हाम्रो कार्यक्षत्रे खोस्दै छ ।’ उनले भने, ‘मन्त्रालयले हाम्रो कार्यक्षेत्रमा असर पारेर हाम्रो काम खोस्नु हुन्न, हामी विद्यालय स्तरका कक्षा १२ सम्मकै पाठ्यपुस्तक छाप्न सक्षम छौं ।’

गत वर्ष कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक छपाइ तथा वितरणका लागि मुद्रक तथा वितरकहरूको नवीकरण गरेको पाठ्यक्रम विकास केन्द्रले यो वर्षका लागि के गर्ने भनेर फाइल मन्त्रालयमा पठाएको जानकारी दियो । केन्द्रले हरेक वर्ष मन्त्रालयले मागेको विवरण अनुसार फाइल पाठउँदा कक्षा पाँचको पाठ्यपुस्तक छपाइका विषयमा पनि सम्बोधन गरेको छ । पाठ्यपुस्तक कसलाई छाप्न दिने कि नदिने भन्ने निर्णय मन्त्रालयको भएको केन्द्रले जानकारी दियो ।

केन्द्रका अनुसार गत वर्ष विद्यालय पाठ्यपुस्तक तथा पाठ्यसामग्री छपाइ तथा वितरण निर्देशिका, २०७६ बमोजिम शैक्षिक सत्र २०७८ मा देशभर कक्षा १ देखि ४ सम्मका चार रडका पाठ्यपुस्तक छाप्न अनुमत दिएको थियो ।

पाठ्यसामग्री छपाइ गरी बिक्री वितरण गर्न इच्छुक मुद्रक तथा वितरकहरूलाई निर्देशिकाको परिच्छेद ११ को दफा ३५ (१) बमोजिम नवीकरण तथा सूचीकरण गरेको हो ।

महावीर प्रिन्टर्स एन्ड पब्लिसर्स प्रालि विराटनगर, मोरङ, स्मृति प्रिन्टिङ प्रेस प्रालि धोविधारा काठमाडौँ, नयाँ मुलुक प्रकाशन प्रालि नेपालगन्ज ५ बाँके, सहयात्रा प्रिन्टर्स एन्ड पब्लिसर्स प्रालि विराटनगर ५ मोरङ, हंसबाहिनी प्रिन्टर्स एन्ड पब्लिकेसन प्रालि विराटनगर १४ मोरङ, लोकेन्द्र प्रिन्टिङ प्रेस एन्ड पब्लिकेसन प्रालि धनगढी १ कैलालीलाई म्रद्रण तथा वितरणका लागि अनुमति दिएको थियो ।

त्यसैगरी फर्मतर्फ समा प्रिन्टर्स प्रालि, पादुका कालशेनी प्रिन्टिङ प्रेस, सोपान प्रेस प्रालि,  कालिका प्रिन्टिङ एन्ड प्याकेजिङ प्रालिलाई पाठ्यपुस्तक तथा अन्य सामग्री छाप्ने अनुमति दिएको थियो ।

४, ७ र ९ को नयाँ पाठ्यपुस्तक लेखनको अन्तिम अवस्थामा

केन्द्रले आगामी शैक्षिक शत्रबाट कार्यान्वयनमा ल्याउन लागेको कक्षा ४, ७ र ९ को नयाँ पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक लेखनको अन्तिम अवस्थामा पुगेको जनाएको छ

देशभरको ७६ वटा विद्यालयमा गरिएको स्थलगत अध्ययनका आधारमा शिक्षक, विद्यार्थी र सरोकारवालाबाट लिइएको पृष्ठपोषण र अनलाइनबाट आएको पृष्ठपोषणलाई प्रविष्ट गरेर नयाँ पाठ्यपुस्तक तयार गरेको हो ।

सरोकारवालाले दिइएको पृष्ठपोषणलाई कार्यदलले छलफल गरेर प्रविष्ट गरेर पिआरसी तयार गरेको केन्द्रका निर्देशक तथा सूचना अधिकारी गणेशप्रसाद भट्टराईले बताए । ‘कार्यदलले आएका सुझावलाई जहिले आउँछ त्यहिले प्रविष्ट गरिरहेको छ ।’ उनले भने, ‘स्थगत अध्ययनमा आएको सुझाव र अनलाइनमा आएको सुझावलाई समेटेर केही दिनमा नै पिआरसी फाइनल गर्ने छौं, त्यसैले सरोकारवालालाई आफ्नो सुझाव तत्काल अनलाइनमार्फत् संप्रेषण गर्न बारम्बार अपिल गर्दै आएका छौं ।’

शैक्षिक वर्ष २०८० सम्ममा विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागु गर्ने सोचका साथ अघि बढेको केन्द्रले कक्षा ४, ७ र ९ का नयाँ पाठ्यक्रम परीक्षणका लागि देशै भरका विभिन्न २८ विद्यालयमा पठाएको छ ।

परीक्षणका लागि पठाइएका विद्यालयबाट आएको पृष्ठपोषण, सरोकारवालाको सुझाव र स्थलगत रुपमा लिइएको सुझावका आधारमा परिमार्जन गरी पाठ्यपुस्तकको अन्तिम रुप दिइएको निर्देशक भट्टराईले बताए ।

२०८० सालमा कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम

शैक्षिक वर्ष २०८० सालमा कक्षा ५, ८ र १० मा केन्द्र नयाँ पाठ्यक्रम लागू गर्ने सोचका साथ अघि बढेको छ ।

राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुरुप शैक्षिक वर्ष २०८० सम्मा सबै कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयनमा आउने छ । जसअनुसार १ र ११ मा गत वर्ष नै नयाँ पाठ्यक्रम कार्यान्वयन सुरु भइसकेको छ भने यो वर्ष कक्षा ६—८ मा नयाँ पाठ्क्रम लागु गरेको छ । त्यसैगरी, शैक्षिक वर्ष २०७८ मा कक्षा २, ३, ६ र १२ तथा २०७९ सालमा कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गरिने नर्देशक भट्टराईले बताए ।

Thuprai - Books and E-books