विदेशी कलेजको व्यवस्थापनको जिम्मेवारी इस्लिङ्टन कलेजलाई

इस्लिङट्न कलेज, लण्डन मेट्रोपोलिटन विश्वविद्यालय, माई सेकेण्ड टिचर र आरभिआई ग्रुपबीच लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको बिए (अनर्स) बिजनेस प्रशासन कोर्ष अध्ययन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

आज चार निकायबीच सम्झौता भएपछि विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित इस्लिङ्टन कलेजले नेपालमै पहिलो पटक विदेशको कलेजको व्यवस्थापन जिम्मा लिएको हो । लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनमा अनलाइन बिए (अनर्स) बिजनेस प्रशासन तहको कक्षा सञ्चालन गर्ने विषयमा चार निकायबीच सम्झौता भएको हो । जसअनुसार विश्वविद्यालयले तयार गरेको पाठ्यक्रम म्यानम्यार र थाइल्याण्डमा अध्यापन हुनेभएको छ । कक्षा आगामी फेब्रुअरी सेसनबाट सञ्चालन हुनेछ । 

विश्वको चर्चित मानिएको आरभिआई ग्रुपले विश्वविद्यालयको पाठ्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सम्पूर्ण सहयोग गर्नेछ । सिङ्गापुरमा कार्यालय रहेको आरभिआई ग्रुपले विश्वका २० शैक्षिक केन्द्र र छ वटामा एकेडेमिक्स काम गरिरहेको छ । आरभीआईका प्रमुख कार्यकारी अधिकृत आर्गस एङ्गले आरभिआई ग्रुपले भियतनाम, इन्डोनेसिया, कम्बोडिया, म्यानमार, थाइल्याण्ड लगायत अन्य मुलुकमा काम गरिरहेको जानकारी दिए । “निकट भविष्यमा चार निकायको सहकार्यम थाइल्याण्ड र म्यानमारमा अनलाईन कक्षा सञ्चालन कक्षा सञ्चालन गर्नेछौँ” प्रमुख कार्यकारी अधिकृत एङ्गले बताए । 

इस्लिङ्टन कलेजले यस साझेदारीमा विद्यार्थीको स्नातकसम्मको यात्रामा सम्पूर्ण प्रक्रियालाई सहजीकरण गरेर यस साझेदारीमा प्रमुख भूमिका निर्वाह गर्ने छ । जसअन्तर्गत कलेजले विद्यार्थी परामर्शदेखि भर्ना प्रक्रिया र विद्यार्थीको क्षमता अभिवृद्धि गराउने व्यवस्था गर्ने लगायतको मुख्य भूमिका रहनेछ ।

इस्लिङ्टन कलेजका सङ्काय पनि मूल्याङ्कन विकास प्रक्रिया सिर्जना गर्नुका साथै लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको दिशा निर्देशअनुसार मार्किङ प्रक्रिया सञ्चालन गर्न जिम्मेवार हुने कलेजका अध्यक्ष शुलभ बुढाथोकीले बताए । उनले भने, “हामी विदेशी कलेजमा व्यवस्थापन गरेर नेपालको शिक्षाा क्षेत्रमा मुख्य भूमिका निर्वाह गर्न सफल भएका छौँ । यो हाम्रो मात्र होइन मुलुकमै गर्व गर्ने विषय हो ।” 

यो साझेदारीमा समावेश गरिएको अर्को अग्रगामी पहल र सायद सबैभन्दा महत्वपूर्ण मध्ये एक, अनलाइन शिक्षाको लागि प्लेटफर्मको रूपमा माई सेकेन्ड टिचरको प्रयोग गर्दैछ । माई सेकेन्ड टिचरको सहयोगमा सबै पाठ्यक्रम सामग्री विद्यार्थीहरूलाई उपलब्ध गराइनेछ र तिनीहरूको असाइनमेन्टहरू पनि सोही प्लेटफर्ममा वितरण गर्ने माई सेकेण्ड टिचरका संस्थापक डा. बेन्सन सुङले जानकारी दिए । 

अनलाइन कक्षा सञ्चालन गर्न शिक्षकको पदपूर्ति लगायतका सम्पूर्ण काम माई सेकेन्ड टिचरले गर्नेछ । सम्झौतापत्रमा आरभिआई ग्रुपका आर्गस एङ्ग, माई सेकेन्ड टिचरका संस्थापक डा. बेन्सन सुङ, इस्लिङ्टन कलेज र इनोभेट नेपाल ग्रुपका संस्थापक अध्यक्ष शुलभ बुढाथोकी र लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा. वेन्डी ब्लोइसीले हस्ताक्षर गरेका थिए ।

यसबाट दक्षिण एसियाभरिका धेरै विद्यार्थीलाई लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको प्रतिस्पर्धात्मक बिजनेस पाठ्यक्रममा थप पहुँच दिनेछ र साथै इस्लिङ्टन कलेजका उद्योग–अग्रणी सङ्काय र प्रशासनिक कार्य विश्वव्यापी स्तरमा दोहोरिने माध्यम प्रदान गर्नेछ ।

सम्झौतापत्रमा हस्ताक्षरपछि लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा. बेन्डीले नेपालमा उत्कृष्ट शिक्षा दिन सफल इस्लिङ्टन कलेजले दुई देशका कलेजको व्यवस्थापन जिम्मा लिनु महत्वपूर्ण विषय भएको बताए ।

Thuprai - Books and E-books