![सङ्गीतमय विद्यालय](https://media.edusanjal.com/__sized__/news_headers/sangit_class_rampur_aadharvut_school_3-crop-c0-5__0-5-300x180-70.jpg)
पछिल्ला केही हप्तायता उच्च शिक्षाका लागि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिने विद्यार्थीको संख्या अत्याधिक बढेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार दुई सातादेखि दैनिक एक हजारदेखि १२ सय जना विद्यार्थी वैदेशिक अध्ययन अनुमति पत्र लिन आउने गरेका छन् । विद्यार्थीको चाप बढेकै कारण मन्त्रालयको एनओसी शाखाले विद्यार्थीहरुको प्रमाणपत्रको भेरिफिकेसन अनलाइन प्रविधिबाट मात्र गर्ने निर्णय गरेको छ । भौतिक रुपमा अत्यधिक चाप बढेकाले अनलाइन माध्यमबाट मात्रै भेरिफिकेसन गर्न थालिएको शाखाले जानकारी दियो ।
सुरक्षित गन्तव्यको खोजी गर्दै उच्च शिक्षाका लागि अष्ट्रेलिया, जापान, बेलायत, क्यानडा, भारतलगायतका देशमा पढ्न जाने विद्यार्थीको चाप बढ्दै गएको समयमा नुवाकोटकी इश्वरी सार्कीले तीन महिने व्यवसायिक सिप सिकेर मासिक ४० हजार रुपियाँ माथि कमाउँदै आएको बताइन् ।
![](https://media.edusanjal.com/u/screenshot_4.jpg)
विहानको छाक टारेर बिहान हात जोर्नै मुस्किल थियो । कठिन परिस्थितिमा उनको बाल्य काल बित्यो । घरमा आमा र दाईहरू थिए । परिवारिक जिम्मेबारी बहन गरिन् । आर्थिक अभावका कारण उनले कक्षा १० भन्दा माथि पढ्न सकिनन् । एसएलसीपछि रोजगारीको खोजीमा नुवाकोटकी इश्वरी सार्की काठमाडौं छिरिन् । काठमाडौं उनले सोचें जस्तो सहज भएन ।
रोजगारीकालागि गल्ली गल्ली भौतारिरहेका समयमा उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) अन्तर्गत बालाजु स्कूल अफ इन्जिनियरिङ्ग एण्ड टेक्नोलोजीबाट तीन महिने डकर्मी तालिम लिइन् ।
तीन महिना तालिम पश्चात दुई महिना साइट मै गएर प्रयोगात्मक अभ्यास पछि प्रमाणपत्र लिएर उनले सोही काम गर्न सुरु गरिन् ।
निक्कै मुस्किलले उनले तीन महिना पुरा गरिन् । त्यो समयमा उनलाई छाक टार्ननै समस्या भयो । जति समस्या भए पनि उनले यो तालिम पुरा गरिन् । तालिम पश्चात दुई महिना फिल्डमा नै गएर डकर्मी काम गरेको सुनाउँछिन् ।
सुरुसुरुमा उनलाई देख्नेले ओठ लोपारर हिँड्थे । उनले त्यसलाई वास्त गरिनन् । काम सानो वा ठुलो हुँदैन भएर व्यवसायिक सिप सहित काम गर्न थालेकी उनलाई अहिले भ्यायी नभ्यायी छ । सबै तिरबाट कामको अफर आउन थालेको सुनाउँछिन् ।
उनी डकर्मी पेशामा सक्रिय छिन् । कोभिड –१९ को कारण केही समय निस्क्रिय भएपनि अहिले उनी पुनः व्यस्त हुन थालेकी छिन् । ‘मैले १० वर्ष पढ्दा हासिल गर्न नसकेको सिप तीन महिनामा आर्जन गरे ।’ उनले थपिन्, ‘अहिले त कमाइ राम्रै छ भोलि काम गर्न नसकेपछि चाहीँ के होला भन्ने चिन्ता लागिरहन्छ ।’
म के गछु भन्ने निर्णय आफ्नै भयो भने जुनसुकै काममा सफलता मिल्ने उनको धारणा छ । जहाँ इच्छा त्यहाँ उपाय हुने हुँदा अभावभित्रै विकल्प खोज्नु पर्ने उनी सुझाउँछिन् ।
उनको पहिलो सपना प्रशिक्षक बन्ने छ । यसका अलवा यही पेसालाई परिस्कृत गर्ने छ । आफैं ठेकदार बनेर काम गर्ने लक्ष्य रहेको उनी बताउँछिन् । उनका धेरै साथी केही डकर्मी पेशालाई विस्तार गर्दै ठेक्कापट्टाका काम लागेका छन्, कोही तालिम पश्चात यहि क्षेत्रमा काम गर्न विदेश गएका छन् ।
सबै आ—आफ्नै क्षेत्रमा लागेका छन् । अहिले प्रायः भेटघाट नहुने र सम्पर्कमा छैनन् । सबै आआफ्नै कामा व्यस्त छन् ।व्यावसायिक शिक्षा पढेर उनी खुसी छिन् । आफू सिपयुक्त भएर रोजगारीको अवसर पाएको उनको बुझाइ छ ।