Thuprai - Books and E-books

बालबालिकामा पठनसीप बढाइँदै

कक्षा १ देखि ३ सम्मका बालबालिकामा पठनसीप विकास गर्न जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (एनइजिआरपी) लागू गरिएको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएड) को आर्थिक÷प्राविधिक सहयोगमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

नेपाली पहिलो भाषा भएका र नेपाली दोस्रो भाषा भएका सामुदायिक विद्यालयका बालबालिकाको पठनसीप अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य लक्ष्य रहेको (एनइजिआरपी) का जिल्ला संयोजक बुद्धिबल थापामगरले जानकारी दिनुभयो । प्राररम्भिक तहका बालबालिकाको पठनसीप कमजोर पाइएपछि सरकारले सन् २०१४÷०१५ देखि उक्त कार्यक्रम शुरु गरेको थियो । पहिलो चरणमा १६ जिल्लामा लागू भएको कार्यक्रम यस वर्षदेखि बागलुङसहित ३८ जिल्लामा विस्तार गरिएको हो ।

कार्यक्रम कार्यान्वयनका लागि जिल्लाभरका ५१७ सामुदायिक विद्यालयमा सन्दर्भ सामग्री पु¥याइएको उहाँले बताउनुभयो । “तीनै वटा कक्षामा ५९ शीर्षकका गरी एउटा विद्यालयमा कूल १७७ वटा सन्दर्भ सामग्री पुगेका छन्”, उहाँले भन्नुभयो । कक्षागत पुस्तकालय निर्माण, शिक्षण सामग्रीलगायत व्यवस्थापकीय कामका लागि स्थानीय तहमार्फत प्रत्येक विद्यालयमा रु नौ हजारका दरले बजेटसमेत उपलब्ध गराइएको छ । कार्यक्रम कार्यान्वयनको जिम्मा पनि स्थानीय तहलाई नै तोकिएको छ ।

पाठ्यक्रम विकास केन्द्रले नै तयार पारेका सन्दर्भ सामग्रीको प्रयोगमार्फत बालबालिकाको पठनसीप अभिवृद्धि गर्न कक्षा शिक्षकका लागि तालीम र पेशागत सहयोग प्रदान गरिने छ । उहाँका अनुसार प्रारम्भिक तहमा अध्यापनरत दुई सय शिक्षकलाई तालीम दिन तयारी अगाडि बढाइएको छ । “पाठ्यक्रमसँग मिल्दाजुल्दा सन्दर्भ सामग्री छन्, तिनको प्रयोग गरेर पढाउँदा बालबालिका छिटो सिक्छन्, पठनसीप पनि बढ्छ”, उहाँले भन्नुभयो ।

रमाइला र चित्रात्मक सन्दर्भ सामग्रीलाई बालबालिकाले घर लगेर पढ्ने र पछि फिर्ता गर्ने प्रबन्ध मिलाइएको छ । ती सन्दर्भ सामग्री बजारमा किन्न पाइँदैन । प्रारम्भिक कक्षाको पढाइसँग सम्बन्धित शैक्षणिक र सन्दर्भ सामग्रीको विकास तथा वितरण ‘ एनइजिआरपी’ले मात्र गर्छ ।

यस्तै कक्षा २ र ३ का बालबालिकालाई ‘एनइजिआरपी’ले निर्धारण गरेको अभ्यास पुस्तीकासमेत उपलब्ध गराउन स्थानीय तहले तयारी थालेका छन् । कार्यक्रमको प्रभावकारिता वृद्धि गर्न स्थानीय तहदेखि शिक्षासँग सरोकार भएका पक्षको क्षमता विकास, समुदाय एवं अभिभावक परिचालन र विद्यार्थी मूल्याङ्कनलाई पनि निरन्तरता दिइने जनाइएको छ ।

एनइजिआरपी’ले मन्त्रालयले लागू गरेको विद्यालय क्षेत्र विकास कार्यक्रमलाईसमेत टेवा पु¥याउने विश्वास लिइएको छ । काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले निरन्तर मूल्याङ्कन र अनुगमनले मात्र कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । “राम्रो अवधारणासहित राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम शुरु भएको छ, यसको सफल कार्यान्वयनमा सरोकार भएका सबै पक्षको उत्तिकै दायित्व छ”, उहाँले भन्नुभयो, “कार्यक्रमको नियमित अनुगमन गर्नुपर्छ, मूल्याङ्कन हुनुपर्छ ।”

अध्यक्ष थापाले कार्यक्रमको प्रभावकारिता बढाउन कक्षा शिक्षकलाई पनि दक्ष बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले विद्यालयहरुको भौतिक÷शैक्षिक सुदृढीकरणको अभियानमा समुदायलाई जस्तोसुकै सहयोग गर्न गाउँपालिका तयार रहेको बताउनुभयो । शिक्षा विकास तथा समन्वय एकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्यायले ‘एनइजिआरपी’ले प्रारम्भिक कक्षाका बालबालिकालाई पढाइप्रति अभिरुचि जगाउँदै पठनसीप र सिकाइ उपलब्धि बढाउने उद्देश्य लिएको बताउनुभयो ।

“मातृ भाषामै बालबालिकाको पठनसीप ज्यादै कमजोर रहेको अध्ययनले देखाएपछि सरकारले प्राथमिकताकासाथ यो कार्यक्रम सञ्चालनमा ल्याएको हो”, उहाँले भन्नुभयो, “हाम्रा बालबालिका राम्रोसँग पढ्ने, बुझ्ने, त्यसलाई बोध गर्ने र व्यवहारमा अवलम्बन गर्न सक्ने होउन् भन्ने नै कार्यक्रमको मुख्य उद्देश्य हो ।”

एनइजिआरपी’को जिल्ला समन्वय समितिका संयोजकसमेत रहनुभएका प्रमुख उपाध्यायले शिक्षालाई जगैदेखि सुदृढ पार्नुपर्ने धारणा राख्नुभयो । “यदि रित्ता छन् भने ठूलो कक्षाकोठा भएर पनि केही अर्थ नहरने रहेछ, बालबालिकालाई शिक्षक नहुँदा पनि कक्षाकोठामा सिक्ने वातावरण बनाइदिनुपर्छ”, उहाँले भन्नुभयो । कक्षागत पुस्तकालय, प्रर्याप्त शैक्षणिक एवं सन्दर्भ सामग्रीले कक्षाकोठा सजिनुपर्ने र पूर्ण बालमैत्री सिकाइको वातावरण हुनपर्नेमा प्रमुख उपाध्यायको जोड छ । पछिल्लो समय विद्यालय अनुगमन र निरीक्षणको पद्दति टुट्दै गएकामा उहाँले चिन्तासमेत व्यक्त गर्नुभयो । शैक्षिक गुणस्तर सुधारको समग्र अभियानसँग जोडिएको भएकाले ‘एनइजिआरपी’को प्रभावकारी कार्यान्वयनमा सम्वद्ध पक्ष जिम्वेवार र जवाफदेही भएर लाग्नुपर्ने कार्यक्रम संयोजक थापामगरको भनाइ छ । एकीकृत पाठ्यक्रम लागू गर्ने सन्दर्भमा कार्यक्रममार्फत सहजीकरण, समन्वय एवं अनुगमनको कामसमेत भइरहेको उहाँको भनाइ छ । संयोजक थापामगरका अनुसार पहिलो चरणमा विभिन्न जिल्लामा सञ्चालन गरिएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले अपेक्षित परिणाम हासिल भएको छ ।

कार्यक्रमको प्रभाव मूल्याङ्कनका आधारमा एक शब्द पनि शुद्धसँग पढ्न नसक्ने नेपाली मातृ भाषा भएका विद्यार्थी ४५ प्रतिशतबाट ३० प्रतिशतमा झरेको छ । यस्तै एक शब्द पनि शुद्धसँग पढ्न नसक्ने नेपालीबाहेक अन्य भाषा मातृ भाषा भएका विद्यार्थी ६७ प्रतिशतबाट घटेर ५५ प्रतिशतमा पुगेको छ । कार्यक्रम लागू भएपछि शुद्धसँग पढी बोध गर्न सक्ने विद्यार्थी प्रतिशत पनि बढेको पाइएको छ ।

पैतालीस शब्द पढी ८० प्रतिशत बोध गर्न सक्ने नेपाली मातृ भाषा भएका विद्यार्थी २.२ प्रतिशतबाट बढेर ६.२ प्रतिशत पुगेको छ । यस्तै नेपालीबाहेक अन्य माृत भाषा भएका विद्यार्थी ०.१ प्रतिशतबाट १.० प्रतिशत पुगेको छ । नेपाली मापदण्डअनुसार कक्षा १ देखि ३ सम्मका बालबालिकाले ६० शब्दमध्ये ४० शब्द शुद्धसँग पढ्न सक्नुपर्छ