A Levels MA

हुम्लामा स्कुलभित्र पठनपाठन थालियो

हुम्लाको खार्पुनाथ गाउँपालिकाले आइतबारबाट दुवै तहका विद्यालयमा पठनपाठन सुरु गर्दा विद्यार्थीको उपस्थिति उल्लेख्य देखिएको छ । बन्दाबन्दी खुकुलो भएको र कोरोना सङ्क्रमणको त्रास पनि न्यून हुँदै गएपछि गाँउकार्य पालिकाले विद्यालय सञ्चालन गर्ने निर्णयअनुसार छोटो सूचनाका आधारमा पठनपाठन सुरु गरिएको हो । 

सीता माविमा कक्षा नौमा अध्ययरत छात्र सूचना रोकायाले कोरोना कहरपछि पढाइ होला नहोला भन्ने चासोका बीच पठनपाठन सुरु भए पनि पढाइ राम्रो भएको बताए । बिहानबाट पठनपाठन सुरु हुँदा विद्यार्थी तोकिएको समयमा विद्यालयमा उपस्थित भएका थिए । विद्यालयले विद्यार्थीका लागि सुरक्षा विधि अपनाएको छ ।  

सीता माविका प्रधानाध्यापक जुनराज हमालले गाउँपालिकाको निर्णयअनुसार आइतबार बिहानी सत्रबाट पठनपाठन सुरु भएको बताए । विद्यार्थीको चाप बढी भएका कारण सामाजिक दूरी कायम गर्न विद्यालयले बिहानी र दिउँसो गरी दुई सिफ्टमा पठनपाठन गरेको छ । प्रअ हमालका अनुसार बिहान कक्षा छदेखि १० सम्म र दिउँसो कक्षा एकदेखि पाँचसम्म पठनपाठन भएको छ । गत चैत्र ४ गतेसम्म विद्यालयमा पठनपाठन भएको थियो । त्यसयता कोरोना सङ्क्रमणको कारण विद्यालय बन्द भएकोमा आइतबार पुनः विद्यालय सञ्चालन हुँदा सबै जसो शिक्षकको उपस्थिति थियो । जिल्ला बाहिरका केही शिक्षकको उपस्थिति थिएन ।

गत असार २५ गते खार्पुनाथ गाउँपालिकाले सबै विद्यालयमा पठनपाठन सुरु गर्ने निर्णय गरेको थियो । गाँउपालिका अध्यक्ष कर्णबहादुर रावलका अनुसार बन्दाबन्दी खुकुलो हुनु र कोरोना सङ्क्रमणको त्रास कम हुँदै गएपछि सबैतिर बुझेर कार्यपालिकाले पठनपाठन सुरु गर्ने निर्णय गरेको थियो । 

उनले आइतबारबाट गाँउपालिकाभित्रका १७ वटा विद्यालयमध्ये चार वटा मावि र १३ वटा आधारभूत विद्यालयमा पठनपाठन भएको जानकारी दिए । कोरोना कहरका बीच विद्यालय सञ्चालन गर्ने हुम्लाको पहिलो गाँउपालिका खार्पुनाथ भएको छ । यसअघि विद्यालयमा स्थापना भएको क्वारेन्टिनहरुको निमर्लीकरण गरिएको थियो । जसका लागि सेनिटाइजिङ गर्ने, सफा गर्ने र झारपात पन्छाउने कार्य भएको थियो । 

यता नाम्खा गाँउपालिकाले साउन ११ गतेबाट पठनपाठन सुरु गर्ने जनाएको छ भने अन्य सिमकोट सहित पाँच वटाले भने पठनपाठनका बारेमा केही निर्णय गर्न सकेका छैनन् । हुम्लामा नयाँ शैक्षिक सत्र फागुन १ गतेबाट सुरु हुन्छ । 

Thuprai - Books and E-books