A Levels MA

स्नातक तह प्रथम वर्षको परीक्षामा भौतिक दुरीलाई वेवास्ता

स्वास्थ्यका सम्पूर्ण सुरक्षा मापदण्ड लागु गरेर सञ्चालन गर्ने भनिएको त्रिभुनव विश्वविद्यालयको स्नातक तह प्रथम वर्षको परीक्षामा भौतिक दुरीलाई वेवास्ता गरेको पाइएको छ । त्रिविले कोभिड १९ का कारण १९ महिना अगाडिदेखि स्थगित गरेको सो परीक्षाका अधिकांश परीक्षा केन्द्रमा भौतिक दुरीलाई वेवास्ता गरेको पाइएको हो ।

सीसी क्यामरा जडान गरी अनलाइनबाट अनुगमन, निरीक्षण र नियन्त्रण गर्दै पहिलो दिनको परिक्षा संचालन गरेको भनिए पनि एउटै बेन्चमा तीन जना सम्म परीक्षार्थीलाई राखेर परीक्षा लिइएको परीक्षार्थीहरुले जानकारी दिए ।

पोखरास्थित पृथ्वी नारायण क्याम्पसमा एउटा बेन्चमा दुई जना विद्यार्थी राखिएको, रुघाखोकी लागेका विद्यार्थीलाई पनि एउटै कोठामा राखेर परीक्षा लिइएको परीक्षार्थीहरु बताउँछन् ।‘परीक्षा हलमा छिर्नु अघि स्वास्थ्य परीक्षण गरिएको, सेनिचाइजर लगाउन दिएइको तर परीक्षा हलमा छिर्ने समय र परीक्षा हलमा भौतिक दुरी कायम गरिएको थिएन ।’ सो क्याम्पसकी एक परीक्षार्थीले भनिन्। ‘एउटा कोठामा ४५ जना सम्म विद्यार्थी थिए, बिरामीलाई पनि एउटै कोठामा राखेर परीक्षा दिन लगाइएको थियो, हामीले गाडलाई भनेर उनीहरुलाई अर्कै कोठाको व्यवस्था गर्न लगायौं ।’

धुलिखेल क्याम्पसमा आजको परीक्षामा सामेल विद्यार्थीहरुः फोटो रुटिन अफ नेप्लिज युनिभर्सिटी

काभ्रेको धुलिखेल क्याम्पसमा पनि एउटा बेन्चमा दुई देखि तीन जना सम्म विद्यार्थी राखेको पाइएको छ । सो क्याम्पसमा एउटा परीक्षा  हलमा ५० देखि ५२ जना सम्म विद्यार्थी सामेल गराइएको परीक्षार्थी अजय न्यौपानेले जानकारी दिए । उनले भने, ‘नेपालमा नियम कानुन कागजमा मात्र लागु हुन्छ आजको परीक्षामा त्रिवि र सीसीएमसीले निर्धारण गरेको सुरक्षा मापदण्ड अपनाइएन ।’

करिब २ लाख ५० हजार विद्यार्थी सो परीक्षामा सामेल भएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । गत वर्षको भदौमा हुनुपर्ने परीक्षा आजदेखि सुरु भएको हो । त्रिविको बार्षिक क्यालेण्डर प्रभावित हुने भएकाले स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाइ परीक्षा सञ्चालन गरिएको उनले जानकारी दिए ।

वार्षिक परीक्षा प्रणाली अन्तर्गत ४-३ वर्षे स्नातकतह प्रथम वर्ष मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित, आंशिक, मौका एवं प्राइभेट (आंशिक) परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा बिहान  ७ बजेदेखि १० बजे सम्म सञ्चालन गरिएको थियो । परीक्षा आगामी २९ गतेसम्म हुने  परीक्षा नियन्त्रण कार्यालयले जानकारी दियो । सो कार्यलयले  यो विषयमा कार्यालयमा आधिकारिक जानकारी आइनसकेको बताएको छ ।

त्रिविका सम्बन्धन प्राप्त र आंगिक गरी जम्मा १ हजार १२५ वटा क्याम्पस छन् । विगतमा २२० क्याम्पसमा मात्र परीक्षा केन्द्र सञ्चालन गरिएको भए पनि यो वर्ष करिब ४०० केन्द्रबाट परीक्षा लिइएको नियन्त्रक जोशीले जानकारी दिए । परीक्षा सञ्चालन गर्नुपूर्व सीसीएमसीसंग परामर्श गरी परीक्षा सञ्चालन गरिएको हो ।

Thuprai - Books and E-books