एसईईका विद्यार्थीलाई हेल्प डेस्क

लकडाउनको समीक्षापछि मात्र एसईई सञ्चालन हुनेः मन्त्रालय

माध्यमिक शिक्षा परीक्षा (एसईई) को पर्खाइमा बसेका विद्यार्थीलाई सहयोग पुर्‍याउने उद्देश्यले नेपाल शिक्षक महासंघले हेल्प डेस्कको व्यवस्था गरेको छ ।

नेपाली,अङ्ग्रेजी,गणित, विज्ञान र सामाजिक विषयका विषयगत शिक्षकहरूलाई २४ सौं घण्टा विद्यार्थी सामु पुर्‍याउने उद्देश्यले महासंघले हेल्प डेस्कको व्यवस्था गरेको हो ।

एसईईको तयारी गरिरहेका विद्यार्थीहरूलाई अध्ययनको क्रममा अन्यौल, असजिलो र अस्पष्ट महसुस गरेका विषयमा सहयोग र समाधान गर्न ३५ जना शिक्षक विद्यार्थीको सिधै सम्पर्कमा रहने महासंघका अध्यक्ष बाबुराम थापाले जानकारी दिए ।

नोभल कोरोना भाइरसको सन्त्रासपूर्ण प्रकोपबाट विश्व यतिखेर विक्षिप्त भएको छ । हजारौंले ज्यान गुमाइ सकेका छन् भने लाखौं कोरोना भाइसबाट संक्रमित भै सकेका छन् । यो क्रमले द्रुतता पाइरहेको छ । यस गम्भीर परिस्थितिमा सबैले सुरक्षाका सबै उपायाहरू अवलम्बन गर्दै एसईईको पर्खाइमा बसेका सबै विद्यार्थीले हत्तोसाही नभइ परीक्षाको तयारी गर्न अध्यक्ष थापाले आग्रह समेत गरेका छन् ।

एसईईको पर्खाइमा रहेका झण्डै पाँच लाख परीक्षार्थीहरुलाई परीक्षा कहिले सञ्चालन होला भनी दुविधा र अन्यौलमा रहनुभन्दा परीक्षाको तयारी गर्न उनले आग्रह समेत गरेका छन् ।

‘ हेल्प डेस्कको अधिक भन्दा अधिक उपयोग गर्न विद्यार्थीहरुलाई आग्रह गर्दछु ।’ अध्यक्ष थापाले भने, ‘ सम्पूर्ण शिक्षक मित्रहरूमा एवम् महासङ्घका सबै प्रदेश, जिल्ला र स्थानीय समितिहरूलाई आ–आफ्नो तहबाट विद्यार्थीको पढाइ तथा सिकाइमा सक्रियतापूर्वक सरिक भई सहयोग पुर्‍याउन आव्हान समेत गर्दछु।’

यसैबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउनको समीक्षापछि मात्र एसईई परीक्षा सञ्चालन हुने जानकारी दियो । सरकारले लकडाउनको समीक्षा गरेपछि मात्र परीक्षा बोर्डले नयाँ कार्यतालिका सार्वजनिक गरी एसईई परीक्षा सञ्चालन गर्ने मन्त्रालयका प्रवत्ता दीपक शर्मालले बताए । ‘विश्व परिवेश हेर्दा लकडाउन कहिले खुल्छ भन्न सक्ने अवस्था छैन त्यसैले विद्यार्थीहरू तनावमुक्त भई परीक्षा केन्द्रमा पुग्ने, बस्ने अवस्था सिर्जना भएपछि मात्र एसईई सञ्चालन हुन्छ ।’ प्रवत्ता शर्मालले भने, ‘विद्यार्थी हतास हुनुपर्ने अवस्था छैन, अन्य देशमा जस्तो हाम्रो देशमा कोरोना भाइरसले आफ्नो प्रकोप फैलाउन सकेको छैन यसैका लागि चैत्र ६ गतेदेखि हुने भनिएको परीक्षा स्थगित गरिएको हो, अब सहजता हुने बितिकै परीक्षा हुन्छ त्यसैले मन्त्रालयले तयार गरेका अनलाइन कक्षा तथा आफ्ना शिक्षकहरूसंग टेलिफोनमार्फत् सम्पर्क गरी समस्या भएका विषयमा छलफल गरी तयारी अवस्थामा रहे हुन्छ ।’

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यो वर्ष ४ लाख ८२ हजार ७०७ जना विद्यार्थी एसईईको पर्खाइमा बसेका छन् । देशभरिमा १ हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको छ । एसईईका प्रश्नपत्र परीक्षा केन्द्र नजिकको प्रहरी चौकीमा सुरक्षित राखिएको बोर्डले जानकारी दियो ।

Thuprai - Books and E-books