After SEE Portal

सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन–अध्यापन सुरु

Bridge Course

त्रिभुवन विश्वविद्यालयले पहिलोपटक सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन–अध्यापन गराउने भएको छ । त्रिविले विश्वमै अत्यधिक भ्रष्टाचार हुने देशको सूचीमा परेको देशमा पहिलो पटक यो विषयको अध्यान थालेको हो ।

त्रिविले विश्वमै पहिलो पटक स्नातकोत्तर तहमा दुई वर्षीय कार्यक्रम सञ्चालनमा ल्याएको हो । त्रिविको मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । यो विषयको अध्ययन पश्चत् देशमा सुशासन कायम गर्न र भ्रष्टाचार कम गर्न मद्दत पुग्ने आशा राखिएको डीन प्राडा कुसुम शाक्यले बताइन् ।‘भ्रष्टाचार देशमा मौलाउँदो अवस्थामा छ, यसलाई पहिचान गर्न, निवारणका उपाय खोज्न अनुसन्धान गर्न मद्दत गर्दछ’ उनले भनिन्।

त्रिविको डीन कार्यालयले आज आयोजना गरेको विषयगत परिचयात्मक तथा पत्रकार भेटघाट कार्यक्रममा भ्रष्टाचार विरोधी अभियन्ता भरत जंगमले आफूले यस विषय त्रिविमा प्रवेश गराउन विगत २५ वर्षदेखि प्रयत्नरत रहेको भन्दै अहिले प्रवेश पाएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रमका लागि संयोजक डा योगेश रञ्जितले कार्यक्रम र पाठ्यक्रमबारे जानकारी दिए । यो कार्यक्रममा जुन सुकै विषयमा स्नातक तह उत्तीर्ण विद्यार्थीले प्रवेश पाउने उनले जानकारी दिए । सुशासन तथा भ्रष्टाचार निवारण अध्ययनमा सहभागी हुन प्रवेश परीक्षाका लागि आवेदन खुला गरिएको छ । इच्छुक विद्यार्थीले अनलाइन माध्यमबाट फारम भर्न सक्ने उनले जानकारी दिए ।

यो विषय अध्ययनका लागि एक विद्यार्थीले दुई वर्षमा न्यूनतम १ लाख ७३ हजार रुपियाँ लाग्ने डीन कार्यालयले जानकारी दियो । कार्यक्रममा प्राडा शिवराज अधिकारी, प्राडा रविनकुमार आचार्य, ट्रान्सपेरेन्सी इन्टरनेसनलकी अध्यक्ष पद्मिनी प्रधानांग, राजनीति शास्त्रका प्राध्यापक गेहेन्द्र लाल मल्ल लगायतले कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।

A Levels MA