त्रिविका आंशिक प्राध्यापकलाई करार बनाउन कार्यदल गठन

कक्षाअनुसार ज्यालादारीमा कार्यरत आंशिक प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालयले करारमा नियुक्त गर्ने भएको छ ।

आंशिक प्राध्यापकलाई करारमा नियुक्ति गर्ने प्रयोजनकालागि त्रिवि कार्यकारी परिषद्ले अध्ययन टोली गठन गरेको छ ।

प्राडा. योगेन्द्रप्रसाद गुरुङको संयोजकत्वमा तीन सदस्यीय स्थलगत अध्ययन टोली गठन गरेको त्रिवि शिक्षाध्यक्ष कार्यालयले जनाएको छ ।

शिक्षाध्यक्षको कार्यालय अनुसार सो टोलीले त्रिविका ६२ ओटै आगिक क्याम्पस, केन्द्रीय विभागहरुमा कार्यरत स्थायी, अस्थायी र करार प्राध्यापकहरूले त्रिवि। नियमानुसार पूर्ण कक्षाभार लिई बांकी रहेको कक्षाभार त्रिविको नियमित कार्यक्रमका विषयमा मात्र जेष्ठता, योग्यता निरन्तरता औचित्यता समेतका आधारमा विविको स्वीकृत रिक्त दरबन्दीमा करार सेवामा शिक्षण सहायक पदमा नियुक्ति प्रक्रिया अगाडि बढाउने प्रयोजनका लागि कार्यादेश सहित प्राडा योगेन्द्र प्रसाद गुरुङको संयोजकत्वमा ३ सदस्यीय एक स्थलगत अध्ययन टोली गठन गरिएको जनाएको छ ।

 सो टोलीको प्रतिवेदनका आधारमा शिक्षण सहायक नियुक्ति कार्यविधि निर्माण गरी शिक्षण सहायक पद सम्बन्धी प्रक्रिया सम्बन्धित क्याम्पस, केन्द्रीय विभाग मार्फत अगाडि बढाउने त्रिविले जनाएको छ ।

कक्षाअनुसार पारिश्रमिक दिने गरी राखिएका आंशिक प्राध्यापकले त्रिवि धान्दै आएका छन् । टोलीको सिफारिसका आधारमा तिनै आंशिक प्राध्यापकलाई करार बनाउन कार्यविधि तयार गर्ने शिक्षाध्यक्षको कार्यालयले जनाएको छ ।

अध्ययन टोलीको प्रतिवेदनका आधारमा शिक्षण सहायक नियुक्ति कार्यविधि निर्माण गरी शिक्षक सहायक पद सम्बन्धी प्रक्रिया अगाडि बढ्ने त्रिवि शिक्षाध्यक्षको कायालयले जनाएको छ ।

अध्ययनका लागि त्रिविले डोटी बहुमुखी क्याम्पस डोटी, डडेलधुरा क्याम्पस डडेलधुरा, सुर्खेत क्याम्पस सुर्खेत, तेह्रथुम क्याम्पस तेह्रथुम, भोजपुर क्याम्पस भोजपुर, विश्वभाषा क्याम्पस काठमाडौं र जुम्ला क्याम्पस जुम्लालाई पत्राचार गरी सकेको छ ।

प्रतिपिरियड ३ सयका दरले अध्यापन गराउने आंशिक प्राध्यापकलाई करारमा नियुक्ति गर्न १ हजार ४२० दरबन्दी थप गर्ने निर्णय त्रिविले यस अघि नै गरीसकेको छ ।

त्रिविको करिब ८० प्रतिशत कक्षा आंशिक प्राध्यापकले लिँदै आएका छन् । देशभर १८ सय भन्दा बढी आंशिक प्राध्यापक कार्यरत रहेको आंशिक प्राध्यापक संघले जानकारी दियो ।

त्रिविमा२०६३ मंसिरदेखि आंशिक प्राध्यापक नियुक्त गर्न थालिएको हो । त्रिवि कार्यकारी परिषद्ले २०७४ वैशाखमा दरबन्दी थप्ने निर्णय गरेपनि अहिलेसम्म सो निर्णय कार्यान्वयन हुन सकेको छैन । २०७४ सालमा तत्कालीन  प्रधानमन्त्री शेरबहादुर देउवाले आंशिक शिक्षकहरूको दबाबमा १४ सय २० दरबन्दी स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय गराएका थिए । उक्त निर्णय अहिले सम्म कार्यान्वयन हुन भने सकेको छैन ।

सरकारले दरबन्दी थपका लागि स्विकृति नदिँदा विश्वविद्यालयले आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिन नसकेको त्रिविले दाबी गर्दै आएको छ ।

केही दिन अघि आंशिकलाई करार नगरी त्रिवि सेवा आयोगले परीक्षाको प्रक्रिया अगाडि बढाए परिणाम नराम्रो हुने चेतावनी आंशिक प्राध्यापकहरुले दिएका थिए । त्रिविमा कार्यरत आंशिक शिक्षकहरूको व्यवस्थापन नगरी सेवा आयोगले कुनै पनि स्थायी नियुक्ति गर्न नपाउने भन्दै आंशिक प्राध्यापकहरुले सेवा आयोगका कुनै पनि विज्ञापनको अन्तर्वार्ता लिन दिएका छैनन् ।

विभिन्न संकाय र संस्थानमा उपप्राध्यापक छनोटका लागि परीक्षा तालिका सार्वजनिक गरे लगत्तै आंशिक प्राध्यापकहरूले  यस्तो चेतावनी दिएका थिए ।

आयोगले २०७७–७८ मा गरेको विज्ञापनबाट अझै शिक्षक छनोट गर्न सकेको छैनन्, पटक पटकको दवावबाट परीक्षा स्थगित हुँदै आएको छ । आर्थिक रूपमा निकै कमजोर बन्दै गएको त्रिविमा आंशिक प्राध्यापकलाई करार सेवामा लैजाँदा ठुलो व्ययभार थपिने भन्दै सरोकारवालाले भने असन्तुष्टि जनाउँदै आएका छन् ।