A Levels MA

बाढी पीडित विद्यालयका बालबालिका खुला आकाशमुनि पढ्न बाध्य

बाढी प्रभावित बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानी किटेनीस्थित जनता प्राथमिक विद्यालयका विद्यार्थी कक्षाकोठाको अभावमा खुल्ला आकाशमुनि पढ्न बाध्य भएका छन् । भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठ अस्थायी टहरा । टहराको एउटा  कोठामा कार्यालय र अर्का दुई कोठामा पठनपाठन । अन्य तीन कक्षा खुला आकाशमुनि  पढ्दै आएका छन् ।

२०७८ को साउनमा गएको बाढीका कारण विद्यालय क्षति ग्रस्त् भएपछि स्थानान्तरण गरिएको ठाउँमा बनाइएका अस्थायी टहरामा कक्षा कोठा अभाव भएपछि खुला आकाशमुनि बालबालिका बसेर पढ्न बाध्य भएका हुन् ।

स्थानीय स्तरमा सडक सञ्जाल विस्तार गर्दा विद्यालयको छेउबाटै सडक विस्तार गरेपछि विद्यालय क्षतिग्रस्त भएको स्थानीय अभिभावकहरू बताउँछन् । अभिभावकका अनुसार प्रदेश सरकारको अनुदान र स्थानीय सरकारको लगानीमा विद्यालय छेवैमा भएको सार्वजनिक चउरमा अस्थायी टहरा निर्माण गरिएपछि अहिले ३० जना बालबालिका जोखिमपूर्ण तरिकाले भुइमा बसेर पढ्दै आएका हुन् ।

दुई वर्षदेखि अस्थायी छाप्रोमा समस्याका बीच पठनपाठन भइरहेको विद्यालयको केही कक्षा खुला आकाशमुनि पठनपाठन भइरहेको विद्यालयका प्रधानाध्यापक कृष्णकुमारी श्रीसले जानकारी दिइन् ।

‘तीन वर्षअघि भिरालो जग्गामा भएको विद्यालय पहिरोको जोखिममा पर्‍यो, विद्यालयको चार कोठे भवन भासिएर पढाउनै सकिएन, पहिरोको समस्याले दुई वर्षदेखि विद्यालय नजिकैको सार्वजनिक चौरमा अस्थायी छाप्रोसहित पठनपाठन गर्न थालिएको हो, साघुँरा टिनको छाप्रोमा पढाउन निकै समस्या छ’, प्रधानाध्यापक श्रीषले भनिन्, ‘अहिले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत दुई कोठे विद्यालय भवन बनाउन अस्थायी छाप्रोको केही भाग हटाएपछि तीन वटा कक्षाका विद्यार्थीलाई प्राङ्गणमै पठनपाठन गराइन्छ । दुई वटा कक्षाका विद्यार्थीलाई अस्थायी टहरामै पठनपाठन गराइन्छ ।’

प्रदेश सरकारको रु. पाँच लाख अनुदानमा निर्माण गरिएको अस्थायी टहरामा पालिकाको आर्थिक लगानीमा डेक्सबेन्चको व्यवस्थापन गरी पहिरो लगतै विद्यालय स्थानान्तरण गरिएको शिक्षा शाखाका प्रमुख तथा सूचना अधिकारी खेम प्रसाद आर्चायले जानकारी दिए । आचार्यका अनुसार उक्त क्षति ग्रस्त विद्यालयबाट बालबालिकालाई अन्यत्र पढ्न पठाउन भौगोलिक कारणले नसकिने हुँदा अहिले सञ्चालन भइरहेको अस्थायी टहरा भएकै ठाउँमा चारकोठे भवन निर्माण गर्न लागिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत भवन निर्माणलागि सम्झौता भइसकेको छ । कार्यविधि अनुसार भवन निर्माणको कार्य पनि सुरु हुने तयारीमा रहेको छ ।

Thuprai - Books and E-books