After SEE Portal

उपकुलपति नियुक्तिले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय लयमा फर्किने आशा

Bridge Course

कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय साढे नौ महिना तालाबन्दीको शिकार बन्यो । 

नेपाल विद्यार्थी सङ्घदेखि नेपाल प्राध्यापक सङ्घसम्मले विभिन्न माग र असन्तुष्टि राख्दै तालाबन्दी र दबाब दिइरहँदा विश्वविद्यालय केही समय नेतृत्वविहीन तथा विवादित पनि बन्यो । साढे नौ महिनापछि गत माघ दोस्रो साता नेवि सङ्घले तालाबन्दी खोलेको थियो ।

तत्कालीन अवस्थामा विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारलाई विनाकारण जिम्मेवारीबाट मुक्त गर्दै कार्यावधि छँदै नयाँ उपकुलपति र रजिष्ट्रारलाई कायममुकायम दिइएको विरोधमा नेविसङ्घ आन्दोलित थियो भने प्राध्यापक सङ्घ विश्वविद्यालय परीक्षा नियन्त्रकदेखि अन्य नियुक्तिमा असन्तुष्ट रहँदै आएको थियो । झण्डै चार महिना विश्वविद्यालय नेतृत्वविहीन रहेको थियो ।

विवाद र नेतृत्वविहीन भएकै कारण विश्वविद्यालयको सिनेटसमेत बस्न सकेन । केन्द्रीय कार्यालयका कर्मचारी कामविहीन थिए । 

सरकारले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा प्रा डा अम्मरराज जोशीलाई उपकुलपतिमा नियुक्त गरेसँगै यहाँका शैक्षिक अवस्थामा सुधार आई विश्वविद्यालय लयमा फर्किने आशा गरिएको छ ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय व्यवस्थापन सङ्कायका डीन पद्मकान्त जोशीले विश्वविद्यालयले अब गति पाउनेमा आशावादी रहेको बताउनुभयो । “विश्वविद्यालयको सभा नै बस्न नसकेको अवस्था थियो”, डीन जोशीले भन्नुभयो, “अब सभाबाट नीति तथा कार्यक्रम पारित भएर अगाडि बढ्नेमा विश्वस्त छौँ । विभिन्न नीतिगत निर्णय हुन नसक्दा कामहरु प्रभावितसमेत बने ।” उहाँले भन्नुभयो, “विश्वविद्यालयको गति बढाउन सबै सहयोगी बन्न आवश्यक छ ।”

तत्कालीन उपकुलपति प्रा भूषण श्रेष्ठ र रजिष्ट्रार द्विजराज भट्टलाई सरकारले २०७५ साल पुस २७ गते सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ दफा ३० बमोजिम जिम्मेवारीबाट पदमुक्त गरेको थियो । विसं २०७५ चैत २७ मा विश्वविद्यालयकै विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा डा पूर्णबहादुर चन्दलाई उपकुलपति र शिक्षा सङ्कायका डीन डा गोविन्द विष्टलाई रजिष्ट्रारको जिम्मेवारी दिइएको थियो ।

जिम्मेवारी दिइएका चन्दको अवधि गत मङ्सिरमा सकिएको थियो भने रजिष्ट्रार विष्ट जिम्मेवारीमै छन् । 

नेवि सङ्का निर्वतमान केन्द्रीय सदस्य कैलाश चन्दले नयाँ उपकुलपतिको नियुक्तिसँगै विश्वविद्यालयभित्र देखिएका विकृति तथा विसङ्गति हट्नेमा आशावादी रहेको बताउनुभयो । 

“नयाँ नियुक्त हुनुभएका जोशी शिक्षा क्षेत्रको परिचित व्यक्तित्व हुन्”, उहाँले भन्नुभयो, “उहाँसित विश्वविद्यालयलाई गति दिएर हाँक्न सक्ने क्षमता भएकाले पनि धेरै सुधार हुने अपेक्षा विद्यार्थीदेखि प्राध्यापकसम्मको छ ।”

A Levels MA
Thuprai - Books and E-books