A Levels MA

शैक्षिक सामग्री प्रदर्शनी गरेर शिक्षण विधि सञ्चालन

म्याग्दी २४ मङसिर (रासस) ः सिकाइ उपलब्धि वृिद्धका लागि म्याग्दी रघुगङ्गा गाउँपालिकाका सामुदायिक विद्यालयले कक्षा कोठामा शैक्षिक सामग्रीको प्रदर्शनी र बालमैत्री शिक्षण विधि अपनाएका छन् । 

रघुगङ्गाको झिँ, पाखापानी, चिमखोला र कुइनेमङ्गलेका १८ वटा विद्यालयमा पढ्ने र पढाउने तरिका भिन्नै छ । शिक्षकशिक्षिकाले भन्ने र विद्यार्थीले सुन्ने शिक्षण तरिका मात्रै यहाँका विद्यालयमा छैन । कक्षाकोठाभित्र टाँगिएका शैक्षिक सामग्री हेर्दै पढ्ने र सिक्ने तरिका अपनाइएको अमर मावि पाखापानीका प्राधनाध्यापक युकुमार गर्बुजाले बताउनुभयो । 

कक्षाकोठा शैक्षिक सामग्रीले सजिएका छन् । विद्यार्थीमा पढाइप्रति रुचि र सिकाइ उपलब्धि बढाउन शैक्षिक सामग्रीको प्रदर्शनी गरिएको उहाँले बताउनुभयो । कक्षाकोठाको वातावरण रमाइलो बनाएर बालबालिकाको सिकाइलाई सुधार गर्ने उद्देश्यले आधारभूत तहसम्मका कक्षा कोठाका भित्ता, झ्यालदेखिबीच भागमा रसी तानेर कागजमा विभिन्न विषयसँग सम्बन्धित चार्ट, चित्र, तथ्याङ्क, बाक्यहरु लेखेर झुण्डाइएको छ । 

शिक्षक र विद्यार्थी मिलेर कक्षा कोठामा पाठको सन्र्दश अनुसारका सहयोगी शैक्षिक सामग्री तयार गरेर प्रदर्शन गर्छन् । यसले शिक्षक र विद्यार्थी दुबैमा सिर्जनशीलताको विकास भएको अमर माविका स्रोत व्यक्ति बालकृष्ण पौडेलले बताउनुभयो । 

पूर्वप्राथमिक र प्राथमिक तहका विद्यार्थीलाई गीत, नृत्य र खेलकूदको माध्यमबाट पढाउने गरिन्छ । गित, सङ्गित र खेल खेलाएर पढाउँदा साना बालबालिका पढाइप्रति उत्साहित हुने गरेका छन् । शिक्षक, शिक्षिका र विद्यार्थीसँगै नाचगान र खेलेर पठनपाठन गराउँदा वातावरण रमाइलो हुने गरेको महेन्द्र मावि झिँका प्रअ याम शेरपुञ्जाले बताउनुभयो । 

विद्यार्थीले नबुझेको र बिर्सिएको कुनै विषयमा कक्षा कोठामा प्रदर्शन गरिएको सामग्रीबाटै सिक्ने अवसर पाएका छन् । शैक्षिक सामग्रीको निर्माण र प्रयोगका सम्बन्धमा नेपाल भिलेज इनिसियटिभ एशोसिएसन (एनभिआई) अस्टे«लियाको सहयोगमा समृद्ध ग्रामीण नेपालका लागि शैक्षिक उन्नयन (लर्न) संस्थाले शिक्षकलाई तालीम दिँदै आएको संस्थाका कार्यकारी निर्देशक कृष्ण तिलीजाले जानकारी दिनुभयो । 

यसअघि बालमैत्री शिक्षण विधि लागू गरिएका अन्नपूर्णका सामुदायिक विद्यालयको सिकाइ उपलब्धिमा पाँचदेखि १४ प्रतिशत वृद्धि भएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । रघुगङ्गाको बेग, भगवती, पिप्ले र दग्नामका विद्यालयमा पनि परियोजना विस्तारको तयारी गरिएको छ । 

Thuprai - Books and E-books