Bachelors Portal

शिक्षा मन्त्रालयमा शासकीय सुधार एकाइ गठनः १५ दिनभित्र गुनासो सम्बोधन, एक महिनामा प्रतिवेदन

Managed Admission 2022

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा नागरिकका गुनासो छिटो छरितो सम्बोधन गर्न शासकीय सुधार एकाइ गठन गरिएको छ।

प्रशासन महाशाखा प्रमुख सहसचिव सुमन घिमिरेको संयोजकत्वमा एकाइ गठन गरिएको हो । एकाइको सदस्यमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शासकीय सुधार हेर्ने उपमहानिर्देशक, आर्थिक प्रशासन शाखा, योजना तथा बजेट शाखा र कानून तथा फैसला कार्यान्वयन शाखाका शाखा प्रमुख, पाठ्यक्रम विकास केन्द्रका उपसचिव, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले तोकेको उपनिर्देशक र आन्तरिक व्यवस्थापन शाखाको शाखा प्रमुख सदस्य हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बताइन् ।

एकाइले कार्य प्रगति विवरण हरेक महिना सचिव र मन्त्री समक्ष पेस गर्नु पर्नेछ।

एकाइले मन्त्रालयबाट सम्पादन हुने कार्यहरूलाई शासकीय सुधारको मान्यताअनुरूप सुधार गर्ने नीति अख्तियार गरी कार्यान्वयन गर्ने छ। सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा २९ मा प्रत्येक मन्त्रालयमा शासकीय सुधार एकाइको गठन गरिने व्यवस्थाअनुसार गुनासो प्राप्त भएको १५ दिन भित्र सम्बोधन गर्ने र वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने गरी एकाइ गठन गरिएको हो ।

एकाइको काम, कर्तव्य र अधिकार मन्त्रालयबाट सम्पादन हुने कामसम्बन्धी कानुन, नीति र कार्यविधि निर्माण एवं सुधारका लागि सूचना, सल्लाह र पृष्ठपोषण उपलब्ध गराउने, सार्वजनिक प्रशासन र व्यवस्थापनका नवीनतम मान्यताहरूको प्रयोगबाट कार्यालयको कार्यसम्पादनको गुणस्तरमा सुधार ल्याउन प्रयासरत रहने, शासकीय सुधारको सम्बन्धमा तालीम, गोष्ठी र अन्तरक्रियाहरू सञ्चालन गर्ने  लगायतका काम गर्ने मन्त्री श्रेष्ठले जानकारी दिइन् ।

एकाइले शासकीय सुधारको सम्बन्धमा अवलोकन र अनुगमन गरी मन्त्रालयबाट सम्पादन हुने काम कारबाहीलाई मितव्ययी, दक्ष र जनमुखी बनाउने उनको दाबी छ।

Select college / campus