After SEE Portal

सिर्जनात्कताले थपेको उत्साह

Bridge Course

काठमाडौंको रत्नराज्य माध्यामिक विद्यालय कोटेश्वरका कसिस गिरी, रक्षा चेम्जोङ सञ्चु राई र सुशील आचार्यले पिपलका पात, डाँठ, फल खोजेर ल्याए । कागजका टुक्रा र केही सिन्काहरु पनि बटुले । त्यसलाई आकार दिन थाले । आफ्नो पहिलो अभ्यासमै उनीहरूले एउटा सुन्दर र सफा गाउँ परिकल्पना गरे । त्यस गाउँको वातावरण र रहनसहनको ‘कोलाज’ तयार पारे । व्यावसायिक कलाकारले बनाएको सुन्दर कलाकृति भन्दा फरक बनेन उनीहरूका सृजना ।

पिपलका हाँगा पात र फललाई आकारमा ढालेर उनीहरूले पिपलको रुख नै बनाइदिए । कागजका टुक्रामा रङ भरेर सुन्दर पहाड उतारे । सिन्काहरू जेडेर घर र छाना बनाइदिए । अनि त्यसमा रङ लिपेर एउटा बस्ती नै तयार पारे । उनीहरूले बनाएको सृजनामा एउटा सुन्दर बस्ती छ । सडकमा मानिस आवतजावत गरिरहेका छन् । छेवैमा पिपलको छहारी छ । गाडी पनि देखिन्छन् । एक कुनामा विद्यार्थी पठनपाठन वा कुनै छलफलमा रमाइरहेका जस्तो देखिन्छ । माथि निलो आकाशमा चराहरू स्वच्छन्द रुपमा उडिरहेका सङ्कत गरिएको छ भने छेउछाउमा हरिया पहाडले त्यो बस्तीको सौन्दर्यमा सुगन्ध थपिदिएको छ ।

झट्ट हेर्दा त्यो ‘कोलाज’ नभएर सुन्दर ‘पेन्टिङ’ हो । कोलाजमा उनीहरूले आफ्नो कला प्रस्तुत गरेका छन् । केही महिनाको सिकाइमा कागजमा सुन्दर सृजना भरेका उनीहरू यसरी कला देखाउन पाउँदा निक्कै खुसी छन् । त्यसका साथै उनीहरूले स्केच, पेन्सिल आर्टहरू पनि आकर्षक बनाएका छन् भने अब माटो कला (माटोको कला) सिक्दैछन् ।

शुक्रबार विद्यालयका अन्य विद्यार्थी पनि कला सृजनामा तल्लिन थिए । उनीहरूलाई सोनी राईलगायतका समूहले ‘आर्ट’ सिकाइरहेकी थिइन् ।

शिक्षा र सीप कार्यक्रमअन्तरगत काठमाडौँ महानगरपालिका र नेपाल लतिकला प्रज्ञा प्रतिष्ठानको संयुक्त प्रयासमा विद्यार्थीहरूले पाठ्ययपुस्तक बाहेक यसरी नयाँ सिप सिकिरहेका छन् ।

यो सिप सिकाइ कार्यक्रम रत्नराज्य स्कुलमा मात्रै होइन महानगरभित्रका विश्व निकेतन मावि, ज्ञानोदय मावि, तरुण मावि, गीतामाता मावि, कन्या मन्दिर मावि, शहिद शुक्र मावि, पद्मकन्या मावि, कोटेश्वर र सरस्वती माविमा जारी छ ।

यी ९ वटा विद्यालयमा १९ समूहमा विभाजन गरी ५१७ जना विद्यार्थीले यसरी कला सिर्जनाको सिप सिकिरहेका छन् । उनीहरूलाई हरेक शुक्रबार आर्ट सिकाइन्छ । विद्यार्थीले स्केच, पोष्टर कलर, पेन्सिल कलर सिकिसकेका छन् । अब माटो कलाको आधारभूत ज्ञान सिक्दैछन् ।

प्रशिक्षक सोनी राई भन्छिन्, ‘अब कक्षा सकिएपछि भविष्यमा आर्टिष्ट बन्न चाहनेका लागि बाटो खुला हुन्छ, भविष्य आर्टमा खोज्न सक्छन्, यदि भएन भने जुनसुकै क्षेत्रमा जाँदा पनि आर्ट महत्त्वपूर्ण हुन्छ । फेसन डिजाइनमै जाँदा पनि कलर मिलाउन जान्नुहुन्छ, यस्तै अन्य क्षेत्रमा पनि आर्ट मिसाउन सक्नुहुन्छ र आफ्नो कार्यलाई उत्कृष्ट बनाउन सक्नुहुन्छ ।’

रत्नराज्य मावि बानेश्वरका ९ र १० का इच्छुक विद्यार्थी पहिलोपटक आर्ट कक्षामा सहभागी हुन पाउँदा निक्कै खुसी भेटिए । पहिलोपटक यस्तो कक्षामा सामोल शिखा केसी र विविशा निरौलाले नियमित कक्षाका साथै कलासम्बन्धी नयाँ सीप सिक्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको वास्तुकला तथा अन्य सृजनात्मक कला (बहुआयामिक कला) विभागकी प्रमुख सौर्यगङ्गा दर्शनधारी महानगरको शिक्षा र सीप कार्यक्रमअन्तर्गतको यो नयाँ सिकाई भएको बताउछिन् । उनले नै कार्यक्रमको संयोजन र समन्वय गरिरहेकी छिन् । विद्यालयतहबाटै कला सिकाउनु पर्छ भन्ने प्रतिष्ठानको उद्देश्य रहेको सुनाउँदै उनले यसलाई एउटा छुट्टै कोर्सको रुपमा लैजान आवश्यक भएको बताइन् ।

गत असोजमै काठमाडौँ महानगर र ललितकला प्रज्ञा प्रतिष्ठानविच सम्झौता भएर यो कार्यक्रम शुरु भएको हो । ‘यो कर्याक्रमले आर्टलाई तल्लो तहबाटै जानकारी दिनुपर्छ भन्ने हाम्रो उद्देश्य महानगरले पुरा गरिदिएको छ, विद्यार्थीहरु कला सृजना गर्न पाएकामा खुसी र उत्साहित देखिएका छन्, यसले भविष्यमा उनीहरूलाई बाटो देखाउन सहज हुने छ भन्ने विश्वास छ’, दर्शनधारीले भनिन् ।

अहिलेको यो ९० घण्टाको कार्यक्रम हो । अन्तिममा विद्यार्थीहरूले गरेका कामको प्रदर्शनी समेत गरिने तयारी छ । उनले थपिन्, ‘विगतमा विद्यार्थीको उद्देश्य डाक्टर, पाइलट, इन्जिनियर बन्ने भन्ने हुन्थ्यो, यो कार्यक्रमले आर्टिष्ट बन्छु भन्ने उद्देश्य राख्ने पनि हुनुभएको छ । यो खुसीको कुरा हो । यदि डाक्टर, पाइलट बने पनि कला भनेको त्यो क्षेत्रमा पनि अति आवश्यक कुरा हो, जहाँ पनि काम लाग्छ ।’

A Levels MA
Thuprai - Books and E-books