शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको काम गराइप्रति कर्मचारीमा असन्तुष्टि बढ्दै गएको छ ।
शिक्षामन्त्री श्रेष्ठले एक महिनाको अवधिमा तीन जना सहसचिवलाई मन्त्रालयबाट हटाइसकेका छन् भने निजी सचिवलाई पनि अन्यत्र हुत्याइदिएकी छिन् ।
सुरुमा शिक्षा मन्त्रालयका सहसचिव शिवकुमार सापकोटालाई सानोठिमीस्थित शिक्षक सेवा आयोगमा पुर्याएर आयोगबाट डा. कमलप्रसाद पोखरेललाई मन्त्रालयमा ल्याइएको थियो ।
यसबीचमा मन्त्रालयका सहसचिव इमनारायण श्रेष्ठलाई पाठ्यक्रम विकास केन्द्रमा पठाएर केन्द्रमा रहेका सहसचिव बैकुण्ठ अर्याललाई मन्त्रालयमा तानिएको छ । सहसचिव श्रेष्ठलाई काममा सुस्त भएको आरोप शिक्षामन्त्री श्रेष्ठको छ ।
त्यस्तै प्रशासन महाशाखाका सहसचिव कालीप्रसाद पराजुलीलाई पनि हटाइदिएकी छिन् । उनलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ भने लुम्बिनी प्रदेशबाट सहसचिव सुमन घिमिरेलाई ल्याई मन्त्रालयको प्रशासन महाशाखाको जिम्मेवारी दिइएको छ । सहसचिव पराजुलीलाई पनि जिम्मेवारी निर्वाह गर्न नसकेको आरोप मन्त्रीको थियो । मन्त्री श्रेष्ठले सामान्य प्रशासन मन्त्रालयमा आफैँ पुगेर पराजुलीलाई सरुवा गर्न माग गरेकी थिइन् । मन्त्री आफैँ मन्त्रालयमा आएर सरुवा गरिदिन भनेपछि उनलाई सरुवा गरिएको थियो । कर्मचारी सरुवाका लागि मन्त्री नै सम्बन्धित मन्त्रालयमा पुग्ने चलन छैन ।
त्यस्तै मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईलाई उच्च शिक्षा महाशाखाबाट परिवर्तन गरी प्राविधिक शिक्षा महाशाखामा लगिएको छ । शिक्षामन्त्री श्रेष्ठले सहसचिव भट्टराईलाई पनि उच्च शिक्षा महाशाखा सम्हाल्न नसकेको आरोपमा अर्काे महाशाखामा लगेकी हुन् ।
शिक्षामन्त्री श्रेष्ठका निजी सचिव (उपसचिव) विजय सुवेदीलाई पनि यसै साता हटाइएको छ । नयाँ निजी सचिव ल्याइएको छैन ।
शिक्षामन्त्री श्रेष्ठको काम गर्ने शैलीप्रति कर्मचारीहरु आजित छन् । उनीहरुले मन्त्रीको कुराकाटेरै दिन बिताउने गरेका छन् । सदरका लागि टिप्पणी लिएर जाने कर्मचारीलाई ठाडै हप्काउने गरेपछि अचेल कर्मचारी उनका सामु पर्न निकै अप्ठेरो महसुस गर्ने गरेका छन् ।
“मन्त्रीका लागि हामी सबै कर्मचारी नालायक हौँ । कुनै पनि कर्मचारी उनका लागि योग्य बन्न सकेनौँ” मन्त्रालयका एक उपसचिवले नाम उल्लेख नगरिदिन अनुरोध गर्दै गुनासो गरे, “कुन स्कुलिङबाट मन्त्री आएका हुन् थाहा भएन । कर्मचारीलाई निकै हेपाहा व्यहोरा गर्ने गरेका छन् । कसैप्रति विश्वास नै छैन । एक्लै सबै काम गर्छु भन्ने भ्रममा परेको देखियो ।”
विद्यालय शिक्षकको जिल्लान्तर सरुवा रोकिएको छ र गत वैशाख मसान्तसम्म यसलाई खुला गर्ने भनिएको थियो । त्यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सहसचिव बसन्त कोइरालाको संयोजकत्वमा सुझाव दिन कार्यदल गठन गरिएको थियो । कार्यदलले गत वैशाखको अन्तिम सातामा प्रतिवेदन बुझाएको थियो । तर कार्यदलले दिएको सिफारिसप्रति शिक्षामन्त्री सुमना श्रेष्ठलाई सन्तुष्टी हुनसकेन । उनले सबैका सामु ‘यस्ता काम नलग्ने पनि सिफारिस हुन्छ ?’ भनेकी थिइन् । शिक्षक सरुवाका बारेमा कार्यविधिको अत्तोपत्तो हुनसकेको छैन ।
गत साता उनी त्रिभुवन विश्वविद्यालयको पत्रकार सम्मेलनमा सहभागी भएकी थिइन् । त्रिविले आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षामन्त्री उपस्थित भएको पहिलो घटना हो । त्रिविका एक पदाधिकारीले त्रिविको पत्रकार सम्मेलनमा शिक्षामन्त्री उपस्थित भएर आफैँले आफ्नो मानमर्दन गरेको टिप्पणी गरेका छन् । “मन्त्री त्रिविको पत्रकार सम्मेलनमा उपस्थित भएर आफ्नो ओहदाको मान राख्न सकेनन् । यतिसम्म फितलो हुनुहुन्न” ती पदाधिकारीले भने ।