After SEE Portal

प्रदेश युवा नीतिमा शिक्षालाई जोड

Bridge Course

बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयले प्रदेश युवा नीतिको मस्यौदा तयार गरेको छ ।

युवालाई विकासको मूल प्रवाहमा ल्याउन गुणस्तरीय शिक्षामा सहज पहुँच, जीवनोपायोगी ज्ञान, सीप, रोजगारीको उपलब्धता लगायत उद्देश्य प्रस्तावित युवा नीतिले समेटेको छ ।

शैक्षिक विभेद अन्त्य गर्दै युवालाई व्यावसायिक एवं गुणस्तरीय शिक्षामा अवसर र पहुँच सुनिश्चिन गर्न शिक्षा पद्धतिमा व्यापक सुधार गर्ने, व्यावसायिक र जीवनोपयोगी शिक्षाका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न योग्य, सक्षम, नैतिकवान, इमान्दार, क्रियाशील र सिर्जनशील युवा शक्ति तयार गर्ने नीति लिइएको छ ।

यसैगरी निजी र सरकारी शैक्षिक पाठ्यक्रममा पुनरावलोकन गरी निश्चित समयभित्र सरकारी शैक्षिक संस्था र जनशक्तिको स्तरोन्नति तथा क्षमता विकास गरी सरकारी एवं निजी क्षेत्रमा समान पाठ्यक्रममा पठनपाठनको व्यवस्था मिलाइ सरकारी र निजी क्षेत्रले उत्पादन गर्ने जनशक्तिलाई समान रूपमा प्रतिस्पर्धी बनाइ शैक्षिक असमानताको अन्त्य गर्ने रणनीति अगाडि सारिएको छ ।

वर्तमान शिक्षा प्रणालीको पुनरावलोकन गरी नेपाली समाजको विकासक्रम, त्यसको सैद्धान्तिक स्रोत, समाजमा प्रकट भएका विभिन्न प्रकृतिका विभेद र असमानता उत्पत्तिको कारण र विभेद किन गलत हो, ऐतिहासिक तथ्य एवं सूचना प्रविधि र सुशासनलाई समेत पाठ्यक्रममा समावेश गरी स्कुल तहदेखि नै पठनपाठन गर्ने व्यवस्था मिलाई सामाजिक न्याय एवं सुशासनमैत्री युवा शक्ति उत्पादन गर्ने, प्रदेशबाट युवा निरक्षरता उन्मुलन गरी श्रम बजारको मागलाई ध्यानमा राखी प्राविधिक, सीपमूलक, व्यावसायिक र जीवनोपयोगी शिक्षालाई सबै स्थानीय तहसम्म विस्तार गरिने रणनीतिमा समेटिएको छ ।

शिक्षामा प्रदेश सरकारको लगानी वृद्धि गरी माध्यमिक तहसम्मको शिक्षालाई क्रमशः निःशुल्क तथा अनिवार्य बनाउने र सबै युवाको व्यावसायक शिक्षामाथिको पहुँच सुनिश्चित गर्ने, युवालाई गुणस्तरीय र व्यावसायिक शिक्षा प्रदान गर्न स्मार्ट व्यवस्थापन प्रणालीको विकास, युवाको इच्छाशक्ति र स्थानीय आवश्यकतासमेत समेट्ने पाठ्यक्रम निर्माण, संस्थागत संरचनाको विस्तार, परिणाममुखी सिकाइ र मूल्याङ्कन विधिमा समयानुकूल सुधार गर्ने विषयलाई जोड दिइएको छ ।

शिक्षामा लैङ्गीक समानता कायम गरी विशेष प्राथमिकताको क्षेत्रमा रहेका युवा विद्यार्थीलाई सकारात्मक विभेदको नीतिअनुसार आवश्यक सहयोगसमेत गरी उनीहरुको शैक्षिक पहुँच सुनिश्चित गर्ने, वैज्ञानिक, व्यावहारिक र परिणाममुखी शिक्षामा जोड दिई वर्तमान परीषा केन्द्रित शिक्षालाई सिकाइ केन्द्रित बनाउँदै युवालाई श्रमसँग आबद्ध गरी कम्तीमा माध्यमिक तहको शिक्षापश्चात् जीविकोपार्जन गर्न सक्षम युवा तयार गर्ने, प्रदेशलाई आवश्यक जनशक्ति उत्पादन गर्न उच्च शिक्षा हासिलका लागि आर्थिक अभाव भएका युवालाई वित्तीय संस्थामार्फत सहज शैक्षिक ऋण उपलब्ध गराउन आवश्यक वातावरण तयार गर्ने, व्यावसायिक तालिम र सीपमूलक शिक्षालाई विशेष प्राथमिकता दिने लगायतका बुँदालाई कार्यनीतिमा उल्लेख गरिएको छ ।

त्यस्तै सामाजिक न्याय, मानवीय आर्थिक र पूर्वाधार विकासलाई टेवा पुग्ने गरी औपचारिक र अनौपचारिक दुवै हिसाबले विभिन्न शैक्षिक कार्यक्रम र गतिविधि तयार गरी सञ्चालन गर्ने, युवाको सीपमूलक क्षमता विकास गरी श्रम बजारको मागमा आधारिक श्रमशक्ति उत्पादन गरी विदेशी श्रमिकलाई क्रमशः विस्थापित गर्दै लग्ने, कृषि, पर्यटन, पूर्वाधार निर्माण, हस्तकला, जडिबुटीलगायतका विषयमा पर्याप्त जनशक्ति उत्पादन गर्न प्रदृश प्राविधिक एवं व्यावसायिक तालिम एकेडेमी स्थापना गरी सरकार, विकास साझेदार र निजी क्षेत्रसँगको सहकार्यमा युवामा सीप विकास गर्ने कार्यनीतिमा प्रस्ताव गरिएको छ ।

युवा नीतिले रोजगारी, उद्यमशीलता विकास, स्वास्थ्य, समाजिक सुरक्षा, युवा सशक्तिकरण, वैज्ञानिक खोज, अन्वेषण, स्वयंसेवी भावना विकास, कला, साहित्य, मनोरन्जन लगायतका क्षेत्रमा पनि विभिन्न प्रस्ताव अगाडि सारेको छ ।

यसैबीच प्रदेश युवा परिषद्को कार्यालयले युवा नीतिलाई अन्तिम रूप दिन सरोकारवालासँग परामर्श गरेको छ ।

वागमती प्रदेशको युवा तथा खेलकुदमन्त्री रत्न ढकालले नीतिअनुसार कार्यक्रम नआउने, कार्यक्रमअनुसार बजेट नबन्ने र बजेटमा समस्या हुँदा नीतिको कार्यान्वयनमा नै समस्या हुने गरेको बताए ।

उनले युवा सशक्तिकरण गर्न सकिए विभिन्न वहानामा विदेशिने युवा जनशक्तिलाई मुलुकमा नै रोक्न सकिने बताउँदै युवालाई शिक्षामार्फत आयआर्जनका क्षेत्रमा संलग्न गराउनसकिने बताए । उनका अनुसार युवा नीति आगामी महिना स्वीकृत हुनेछ ।

 

 

A Levels MA
Thuprai - Books and E-books