After SEE Portal

महामारीमा शिक्षा, परीक्षा र अपेक्षा

Bridge Course

फेरी पनि हामी उही पोहोर सालकै अवस्थामा आइपुगेका छौँ । कोरोना कहर बढीरहेको छ । कोरोनाको संक्रमित र मृत्यु दरसमेत दिनानुदिन बढ्दै गइरहेको छ । कोरोनासँग सम्बन्धित समाचारले सबैलाई झस्काएको मात्र छैन स्तब्ध पनि बनाएको छ ।

दिन प्रतिदिन बढीरहेको संक्रमणले चरणबद्ध रुपमा मलुकको विभिन्न क्षेत्रमा लकडाउन भइरहेको छ । कोरोना पोहोर सालजस्तो सहरमा मात्र केन्द्रित नभइ गाउँगाउँका बस्ती बस्तीसम्म पुगिसकेको छ । कोरोनाको यस संक्रमणलाई रोक्न नेपालभरिका विद्यालयहरु फेरी पनि बन्द गरिएका छन् । यस अवस्थाले फेरी एउटा अन्यौल छाएको छ कि कतिखेर वार्षिक परीक्षा हुन्छ ? खासगरी पालिकास्तरीय कक्षा ८, एसइई र कक्षा १२ को बोर्ड परीक्षा कहिले हुन्छ भन्ने पिरलोमा शिक्षक, विद्यार्थी र अभिभावक परिरहेका छन् । हामी प्राय: परीक्षाको मात्र बढ्ता चिन्ता गर्ने गर्दछौँ । सामान्य अवस्थामा पनि सबै शिक्षक, विद्यार्थी र अभिभावकलाई परीक्षाको टन्टा छिटो सक्न पाए हुन्थ्यो भन्ने लाग्ने गर्दछ । यस कोरोना कहरमा यही परीक्षाको विषय अनिश्चित भइदिदा परीक्षाको भारी छिटो बिसाउने चाहना अन्यौलमा परेको छ । जस्ले शिक्षक, विद्यार्थी र अभिभावकलाई झन पीडा थपेको छ ।

वास्तवमा परीक्षा त्यति मात्र महत्वपूर्ण हो जति शिक्षकले शिक्षण गर्न सकेको हुन्छ वा विद्यार्थीले सिक्न सकेको अवस्था रहन्छ । विद्यालयले अर्थपूर्ण शिक्षण सिकाइको अवस्था सुनिश्चित नगरी शिक्षकले प्रभावकारीढङ्गले शिक्षण सिकाइ क्रियाकलाप नगरी वा विद्यार्थीले भरपूररुपमा नसिकी परीक्षामा हेलिनुको कुनै अर्थ रहँदैन । परीक्षा सिकाइको स्तरीकरण गर्ने माध्यम न हो । अर्थात शिक्षकको शिक्षण दक्षता र विद्यार्थीको सिकाइ प्रभावकारिताको मापन गर्ने साधन हो परीक्षा । यसरी विद्यालय, शिक्षक र विद्यार्थीहरुले पाठ्यक्रमले निर्धारण गरेका शिक्षण सिकाइ उपलब्धी प्राप्त गर्न समर्थ भए नभएको जाँच गर्ने साधन हो परीक्षा । तर, प्रायः विद्यालय अर्थात शिक्षकले परीक्षाको यस पवित्र भावनाको कदर गर्न चुकेको देखिन्छ । यसकै परिणाम स्वरुप परीक्षाजन्य अनियमितताले पनि संस्थागत स्वरुप ग्रहण गरेको हो भन्ने लाग्छ । साथै यस कोरोना कहरमा पनि परीक्षा परीक्षा भन्नुको तात्पर्य हामी शिक्षण सिकाइको सार पक्षमा नभइ रुप पक्षमा मात्र अल्झिएका छौँ भन्ने हो ।

विद्यार्थीलाई जसरी पनि सिकाउने विषय महान हो । शिक्षकले सिकाएको र विद्यार्थीले सिकेको सुनिश्चित गर्न सके परीक्षालाई परिस्थितिजन्य हिसाबले व्यवस्थापन गर्न सकिन्छ । तर  शिक्षकले सिकाउन नै सकेका छैनन् र विद्यार्थीले सिक्न नै सकेका छैनन् भने परीक्षा गौण विषय हुनेछ । त्यसैले कोरोना कहरको यस बेला वैकल्पिक माध्यम अवलम्बन गरी विद्यार्थीलाई सिक्न अभिप्रेरित गरौं । सिकाउने प्रयत्न गरौं । मूल्याङ्कनलाई त्यति साह्रो र अप्ठ्रयारोरुपमा नलिऔं ।

अझ त विद्यालय तहको कक्षा १ देखि ७, कक्षा ९ र कक्षा ११ मा विद्यालयस्तरमा परीक्षा सञ्चालन गरिन्छ । कक्षा ७ सम्म उहिले नै उदार कक्षोन्नती लागु भएको हो । अर्थात कक्षा ७ सम्म निरन्तर विद्यार्थी मूल्याङ्कन पनि कार्यान्वयनमा रहेको छ । बाँकी रह्यो कक्षा ९ र ११ को परीक्षाको कुरा जो पोहोर सालको कोरोना कहरमा समेत अभ्यास गरि सकिएको छ । यतिमात्र नभएर एसइई र कक्षा १२ को बोर्ड परीक्षासमेत लचिलो ढाँचाबाट सम्पन्न गरिसकिएको अनुभव छ । यद्यपि निक्कै ढिला गरेर उक्त अभ्यास भएको थियो । यस सन्दर्भमा पोहोर सालको अनुभव र विद्यालयहरुका आआफ्नै अभ्यासका आधारमा यस वर्ष जेठ मसान्तभित्रै वार्षिक मूल्याङ्कनका कार्य बिट मारेर असार पहिलो साताभित्र विद्यार्थी भर्ना र नयाँ सेसनको पठनपाठन आरम्भ गर्न ढिला गर्न हुँदैन । भलै वैकल्पिक माध्यम वा स्वाध्ययनबाटै पठनपाठन किन नहोस् ।

कोरोनाको बेला के पढाइ लेखाइको चिन्ता ? बाँचेपछि पढौँला भन्ने सोचले शैक्षिक क्षतिमात्र गराउँछ । सिकाइ अनवरत चलिरहने प्रक्रिया हो । यो कुनै महामारी वा विशेष परिस्थिति देखाएर अवरुद्ध हुन सक्ने विषय होइन । हो, विद्यालयहरु बन्द हुन सक्छन् तर विद्यार्थीको सिकाइ बन्द हुन सक्दैन ।

पोहोर साल पनि सूचना र प्रविधिमा पहुँच हुनेहरुले वा पहुँच नभए पनि इच्छाशक्ति हुनेहरुले वैकल्पिक शिक्षा प्रणाली (भर्च्युअल)लाई संस्थागत गरी आफ्ना विद्यार्थीहरुको शिक्षण सिकाइलाई निरन्तरता दिन समर्थ बने । यो वर्ष उनीहरुलाई कुनै पिरलो छैन । तर प्रविधिको पूर्वाधार अभाव र शिक्षकहरुको डिजिटल निरक्षरता देखाएर वैकल्पिक शिक्षण सिकाइलाई असम्भव ठान्नेहरु अर्कमण्यताको चक्रब्यूहमा फसिसके । उनीहरुका प्यारा विद्यार्थी र अभिभावकहरुले उनीहरुलाई असक्षमताको पगरी गुथाइसके ।

पोहोर सालको अनुभव हेर्दा जहाँ इच्छा त्यहाँ उपाय भने झैं सूचना र प्रविधिमा पोख्त हुन नसकेकाहरु एकाध समयमा पोख्त भए । विद्यार्थीहरुप्रति उत्तरदायित्व वहन गर्नेहरु आफ्ना विद्यार्थी खोज्दै घरघरमा गइ विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरण गर्न मात्र नभइ बेलाबेला विद्यार्थीहरुलाई सुरक्षित तवरले भेटेर परामर्श गर्न भ्याए । फोन, च्याट, मेसेज, स्काइप, अनलाइन र पत्रपत्रिकामार्फत आफ्ना प्यारा विद्यार्थीहरुसँग साक्षात्कार गरी रहे । जस्ले गर्दा ती शिक्षकहरु आफ्ना विद्यार्थी र अभिभावकको मानसपटलमा अविस्मरणीय भइरहे । साथै सकारात्मक पेशागत मनोवृत्ति भएका शिक्षकहरुले लकडाउनलाई पेशागत विकासको स्वर्णिम अवसरका रुपमा प्रयोग गरे । ननिदाएका शिक्षकहरु, शिक्षण म्याराथन,  शिक्षकले चाहेमा गर्न सक्छन् जस्ता विभिन्न अभियानहरुसँग जोडेर आफूलाई प्रविधिको हिमायती बनाउन सफल बने । ती शिक्षकहरु अहिले प्रविधिको दोहोन गर्न समर्थ भएका छन् । जसले गर्दा शिक्षकहरुको सक्षमता मात्र होइन पेशागत निष्ठा र आत्मबल उच्च बनेको देख्न सकिन्छ ।

पोहोर पनि एकाध समयपछि परिस्थिति सहज होला र पेसामा जुटौँला भन्ने अनुमान प्रायःको थियो । तर स्थिति सहज हुन १०।१० महिना लाग्यो । चैतबाट बन्द भएका विद्यालयहरु एकैपटक पुस महिनामा मात्र बल्लतल्ल खुल्न सके । अहिले पनि त्यही अवस्था नहोला नरहला भन्न सकिन्न । अहिलेकै स्थिति विश्लेषण गर्दा पनि दशैँ अघिसम्म विद्यालय खोल्न हतार नहोला भन्न सकिन्न । विश्वव्यापी महामारीको अवस्थामा विश्वव्यापी शासन व्यवस्था सकारेको मुलुक हुनुको नाताले पनि सार्वभौम राष्ट्रको रुपमा आफ्नै स्वतन्त्र निर्णय लिन पनि कठिन हुने देखिन्छ । यसबाट शैक्षिक बन्द झन दूरह नहोला भन्न सकिन्न ।

हरेक समस्याले समाधान पनि सँगै बोकेर आउँछ । लामो समयसम्मको लकडाउनले वैकल्पिक शिक्षण सिकाइ प्रणालीको आवश्यकता औँल्याएको थियो । विद्यालय विद्यालयसम्म मात्र नभएर विद्यार्थीको घर परिवारसम्म सूचना प्रविधिको पूर्वाधार स्थापना गर्दै वैकल्पिक शिक्षण सिकाइ प्रणालीको सुनिश्चितता गर्ने अवसर दिलाएको थियो । तर पोहोर साल यस अवसरको अवलम्बन गर्न सकिएन । शिक्षकहरुलाई सूचना प्रविधिको प्रयोग गर्नसक्ने क्षमता आवश्यक थियो । त्यो दिलाउन सकिएन । पिसिआर टेष्ट गरी सकेर आवासीयरुपमा विद्यालय सञ्चालन गर्न सकिन्थ्यो । त्यसतर्फ पनि ध्यान दिन सकिएन । कोरोना विरुद्धको भ्याक्सिन शिक्षक र विद्यार्थीहरुलाई पहिलो चरणमा लगाएर विद्यालयहरु पूर्णरुपमा बन्द गर्नुपर्ने अवस्थाबाट मुक्त हुन सकिन्थ्यो । त्यो पनि गरिएन । शिक्षकलाई जहिले पनि कम प्राथिमकतामा राख्ने सोच कोरोना बिरुद्धको खोपमा समेत हटाउन सकिएन ।

विगतका सफल अभ्यासहरुलाई अवलम्बन गर्दै विद्यार्थीहरुको शैक्षिक वर्ष खेर नजाने र विद्यार्थीहरुको शिक्षण सिकाइ कमजोरसमेत नहुने अवस्थाको सुनिश्चितता नगरि हुँदैन । उदाहरणको रुपमा त्रिभुवन विश्वविद्यालयले वैकल्पिक माध्यमबाट वा गत कोरोनाको अवस्था नियन्त्रणमा रहेको पुसदेखि चैत्र महिनाको अवधिमा परीक्षा लिन नसकेका कारण विद्यार्थीहरुको शैक्षिक वर्ष खेर गएको छ । तर मध्यपश्चिम विश्वविद्यालयले अनलाइनमार्फत विद्यार्थीको परीक्षा समयमै सकाएर नयाँ सेसनको पठनपाठनमा समेत तिब्रता दिइरहेको छ ।

परिस्थितिको वस्तुगत विश्लेषण गरी परिस्थितिजन्य निर्णय लिएर अघि बढ्नु सर्वथा उचित हुन्छ । आवश्यक जोखिम पनि लिन नसक्ने तथा झिना मसिना स्वार्थबाट प्रेरित हुने नेतृत्वले समस्याबाट पार पाउन सक्दैन । प्रतिकूल परिस्थितिमा सन्निकटताको सिद्धान्त प्रभावकारी हुन्छ । अहिले सरकारले यस सन्दर्भमा स्थानीय तहलाई जिम्मेवारी दिने जुन आँट गरेको छ त्यो प्रशंसनीय छ । यद्यपी नीतिगतढङ्गले उहिले नै कक्षा १० को परीक्षा क्षेत्रस्तरमा सञ्चालन गर्ने व्यवस्था भएको थियो । यो निर्णय कार्यान्वयन गराउन कोरोना नै आउनुपर्यो । तर फेरी पनि क्षणि रुपमा स्थिति सामान्य भएको मौका छोपी कक्षा १० को परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाटै हुने अदूरदर्शी निर्णय गरियो । के यो निर्णय कार्यान्वयन गर्न सकिएला ? कि फेरी पनि एक कदम पछि हटेर प्रदेश र स्थानीय तहकै सहयोगको याचना गर्नुपर्ला ? अहिले फेरी यस निर्णयको वैधता र विश्वसनीयता खण्डहर हुँदैछ । लाग्छ, केही व्यक्तिहरुको सानोतिनो लोभ र लालचाका कारण शिक्षा प्रणाली कमजोर तथा धुमिल हुँदै गइरहेको छ । यो प्रवृत्तिबाट शिक्षा प्रणाली जोगाउन ढिला भइसकेको छ ।

अलबर्ट आइन्स्टाइनले भनेका छन् कि उही प्रक्रिया दोहोर्याएर फरक नतिजा किमार्थ हासिल गर्न सकिदैन । हाम्रो शिक्षा प्रणालीमा सुधार चाहने, शिक्षामा विकासका कुरा गर्ने तर उही असफल पद्धति र प्रक्रियाको प्रयोग गर्न नछाड्ने रोगबाट ग्रसित छौं । हामी अहिले पनि उही पोहोर सालकै सोच, कार्यशैली र पद्धतिबाट अघि बढ्न सकेनौँ । कारण छेपारे चिन्तनबाट हामी मुक्त हुन सकेनौँ । हामी निर्वाहमुखी प्रणालीबाट काम गर्दछौँ । हामी पद्धतिलाई समयको मागअनुसार रुपान्तरण गर्न चाहदैनौँ र चाहनेलाई गर्न पनि दिदैनौँ । यही कारणले कोरोनाले पठनपाठन अवरुद्ध गरिनै रहने भयो । समस्याको पुनरावृत्ति भइरहने तर समाधान ननिस्कने भइनै रहने भयो ।

माथिको सन्दर्भमा आर्थिक वर्ष २०७८।७९ को बजेट र कार्यक्रम पनि तर्जुमा गर्ने समय भइरहेकाले शिक्षा प्रणालीमा रुपान्तरण गर्ने सोचका साथ शिक्षामैत्री बजेट आउनु पर्दछ । ताकि गाउँ र सहरमा सार्वजनिक तथा निजी एवं धनी र गरिबका छोराछोरी पढ्ने स्कुलबीच देखिएको खाडल मेटाउन सकियोस् । यसका लागि विद्यालय शिक्षामा प्रविधिको प्रयोग हुन सकोस् । शिक्षक विद्यार्थीको पहुँचमा प्रविधि पुगोस् । यो समयको उपयोग गरी प्रविधिको प्रयोग गर्न सक्ने गरी शिक्षकको ल्याकत विकास गरौँ । अवसर दिँदा पनि प्रविधि सिक्न नसक्ने, शिक्षण सिकाइमा प्रविधिको प्रयोग गर्न असमर्थ देखिने शिक्षकको ससम्मान बर्हिगमन गरौँ । तबमात्र शिक्षामा क्रान्ति गर्न सकिन्छ । कोरोना आओस् या यस्तै कुनै समस्या जुनसुकै समयमा पनि सदावहाररुपमा शिक्षण सिकाइको निरन्तरता गर्न सकियोस् । अनवरतरुपमा चलिरहने सिकाइ चलिरहन सकोस् । शिक्षाको पारिलो घामबाट कुनै पनि बालबालिका बञ्चित हुन नपरोस् । गरिब र धनी वा सहर र गाउँबीचको शिक्षामा कुनै विभेद नहोस् । समान शिक्षा र समान सिकाइ अवसरको अनुभूत जुनसुकै बालबालिकाले जहाँसुकै रहेर पनि गर्न सकोस् । यति गर्न सके समाजवादी शिक्षा व्यवहारतः कार्यान्वयन हुनेमा कुनै शङ्का गर्न सकिदैन ।

(लेखक कर्णाली प्रदेश सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकाका शिक्षा प्रमुख हुन् ।)

A Levels MA
I Tech store