After SEE Portal

‘शिक्षा विभाग ठुलो कि पालिका ?’

Bridge Course

शिक्षा सचिव रामप्रसाद थपलियाले आफूलाई शिक्षा विभागको नयाँ नाम मन नपरेको गुनासो गरेका छन् । 

५५ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा आयोजित कार्यक्रममा उनले शिक्षा विभाग नै उपयुक्त नाम भएको बताए ।

“यो नाम मलाई मन परिरहेको छैन । शिक्षा विभाग नै राख्नुपर्छ” उनले भने, “इतिहास मेट्दै जानु हुँदैन ।”

उनले पालिकासँग सहयोग लिने र समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउँदै शिक्षण सिकाइमा कमी नभएको दावी गरे । शिक्षा सचिव थपलियाले शासन जनप्रतिनिधिले गर्ने र प्रशासनीक कार्य लोक सेवा आयोगबाट सिफारिस भएका कर्मचारीहरुले गर्ने व्यवस्था मौजुद रहेको उल्लेख गर्दै राजनीतिक रुपमा प्राप्त परिवर्तनलाई आत्मसात गर्नुपर्ने बताए ।

नेपाल नगरपालिका महासङ्घका अध्यक्ष अशोककुमार बेन्जुले देशभरिका शिक्षा विकास तथा समन्वय एकाइ तत्काल खारेज गर्न अनुरोध गरे । उनले द्वैध शासन गर्न नपाइने बताउँदै भने, “राणाकालमा द्वैध शासन हुन्थ्यो । अब यस्तो शासन गर्न पाइन्न । त्यसैले एकाइलाई तत्काल खारेज गर्नुहोला ।”

उनले शिक्षा मन्त्रालय आजसम्म जिम्मेवार नभएको बताउँदै स्थानीय सरकारले सङ्घीय सरकारलाई सहयोग नै गरिरहेको तर्क गरे । “शिक्षक सरुवा गर्दा विभागले नगर भन्छ । विभाग ठुलो कि पालिका ?” उनले भने, “पालिकालाई अधिकार दिन सकिन्न भने संविधान संशोधन गरेर शिक्षाको अधिकार स्थानीय तहबाट फिर्ता लिएर जानूस् ।”

केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले निरक्षरता उन्मूलनका लागि आफूहरु सक्रिय रहेको चर्चा गर्दै यस कार्यमा पालिकाको सहयोग आवश्यक रहने बताए । केन्द्रका उपमहानिर्देशक केशव दाहालले मुलुकलाई साक्षर घोषणा गर्न अझै केही वर्ष लाग्ने बताउँदै निरक्षर बाँकी रहेका पालिकातर्फ अबको ध्यान केन्द्रीत हुनुपर्ने बताए ।

सो अवसरमा शिक्षा पत्रकार प्रकृति अधिकारीद्वारा लिखित ‘राणाकालीन शिक्षा’ नामक पुस्तकका साथै केन्द्रले प्रकाशन गरेको शैक्षिक स्मारिका विमोचन गरिएको थियो । 

A Levels MA
Thuprai - Books and E-books