After SEE Portal

शिक्षक अभाव भएका विद्यालयलाई अनुदान दिइने

Bridge Course

शिक्षक अभाव भएका विद्यालयले शिक्षण सिकाइवापत अनुदान पाउने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षक नभएका विद्यालयलाई यस वर्ष शिक्षण सिकाइ अनुदान उपलब्ध गराइने जानकारी दिए । उनले आगामी नयाँ शैक्षिक सत्रमा शिक्षकको अभाव नहोस् भनेर शिक्षण सिकाइको अनुदानका लागि एक अर्ब रुपियाँ जगेडा रहेको बताउँदै भने, “शिक्षक अभावका कारण शिक्षक माग गर्ने विद्यालयलाई स्थानीय सरकारमार्फत रकम उपलब्ध गराउँछौँ ।”

मन्त्री पोखरेलका अनुसार यो अनुदान आगामी वर्षका लागि मात्र दिइनेछ । आगामी वर्षका लागि स्थानीय सरकारले शिक्षकको माग गरेपछि विज्ञापनको प्रक्रिया अगाडि बढ्नेछ ।

उनले जुन शीर्षकमा रकम उपलब्ध गराइनेछ विद्यालयले त्यही काममा खर्च गर्नुपर्ने हुन्छ भन्दै यो रकमले नपुग्न सक्ने भएकाले नयाँ अभ्यास पनि गरिन लागिएको जानकारी दिए । उनले ‘माटो चिनौँ, देश चिनौँ’ अभियानअन्तर्गत सरकारसँग ५० करोड रुपियाँ रहेको बताए । “अर्थ मन्त्रालयले स्वयं सेवक परिचालनअन्तर्गत स्नातक गरेकाहरुलाई ३० हजार रुपियाँ र स्नातकोत्तर गरेकाहरुलाई ३२ हजार रुपियाँ निर्वाह भत्ता दिने सहमति दिएको छ” उनले थपे, “स्वयंसेवक परिचालन गर्दा पनि शिक्षक समस्या हल नहुन सक्दछ । किनकी शिक्षक पुनर्वितरण गरिसकेपछि पनि ३९ हजार शिक्षक अभाव हुने अवस्था छ ।”

शिक्षामन्त्री पोखरेलले विद्यालय शिक्षाको ९० प्रतिशत अधिकार स्थानीय सरकारमा हस्तान्तरण भएको प्रष्ट गर्दै शिक्षक भर्ती शिक्षक सेवा आयोगबाट मात्र हुने स्पष्ट गरे । “नेपालको संविधानले शिक्षक सेवा आयोगलाई चिनेको छ । संघ, प्रदेश वा स्थानीय तहले शिक्षक भर्ति गर्दा शिक्षक सेवा आयोगको बाटोबाटै जानुपर्दछ” उनले भने, “खल्तीबाट शिक्षक भर्ती गर्ने प्रक्रिया रोकेका कारणले केही प्रश्नहरु उठेका छन् । संविधानले नै शिक्षक सेवा आयोगलाई चिनेपछि मलाई शिक्षक भर्ती गर्न दिइएन भन्न मिल्यो र ? मिलेन नि ।”

उनले गुणात्मक शिक्षा प्रत्याभूत शिक्षकबाट हुने हुँदा लोक सेवा जस्तै शिक्षक सेवा उत्तीर्ण गरेकालाई मात्र शिक्षकमा नियुक्ति गरिएमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सकिने तर्क गरे । मन्त्री पोखरेलले ‘गुणात्मक शिक्षाको बेन्च मार्क के हो ?’ भन्दै अब वहस त्यसतर्फ गएको बताए । “घोकाउँदै परीक्षा केन्द्रमा लैजाने र तीन घण्टा लेखेका आधारमा सक्षमताको प्रमाणपत्र दिने तरिका खत्तम हो । यो तरिका पुरानो र थोत्रो छ । यसलाई नभत्काइकन शिक्षामा परिवर्तन हुँदैन” मन्त्री पोखरेलले भने, “शिक्षामा सुधार, परिवर्तन र क्रान्ति जरुरी छ । अब शिक्षकले बढीभन्दा बढी कक्षाकोठामा विद्यार्थीलाई समय दिनुपर्दछ ।” 

A Levels MA
Thuprai - Books and E-books