After SEE Portal

तुलादानको रकम विद्यालयलाई

Bridge Course

बागलुङ, १२ माघ : गलकोट नगरपालिका–७ मल्मकी मनकुमारी थापाको चौरासी पूजामा गरिएको तुलादानबाट सङ्कलित रकम विद्यालयलाई प्रदान गरिएको छ । 

थापाका परिवारजनले सोही ठाउँका प्रगति आधारभूत विद्यालयलाई रु एक लाख ५०५ शुक्रबार हस्तान्तरण गरेका हुन् । उक्त सहयोग रकम विद्यालयमा सञ्चालित बाल विकास केन्द्रको अक्षयकोषमा राखिने विद्यालयले जनाएको छ । 

“अक्षयकोषबाट आउने ब्याज रकम बाल विकासमा खर्च गर्छौँ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाले भन्नुभयो । उहाँले आर्थिक स्रोतको अभावमा बाल विकास केन्द्र सञ्चालनमा कठिनाइ आइपरेको उल्लेख गर्नुभयो । बालबालिकाको शैक्षिक विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको थापाका नाति तुलवीरले बताउनुभयो । 

वैदेशिक रोजगारीमा रहनुभएका तुलवीर र उहाँका दाजु टेकबहादुरले यसअघि पनि सोही विद्यालयलाई रु दुई लाख ११ हजार १११ सहयोग प्रदान गर्नुभएको थियो । अङ्ग्रेजी माध्यमबाट पढाइ हुने उक्त विद्यालयमा १२३ र बाल विकास केन्द्रमा २३ बालबालिका अध्ययनरत छन् । थापाको गत सोमबार चौरासी पूजा गरिएको थियो । 

स्वरोजगारको माध्यम कृषि– मन्त्री थापा 

गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले स्वरोजगारको उपयुक्त माध्यम कृषि भएको बताउनुभएको छ । 

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र बागलुङमा शुक्रबार आयोजित उपकरण हस्तान्तरण कार्यक्रममा उहाँले व्यावसायिक कृषकलाई प्रोत्साहित गर्न प्रदेश सरकारले विशेष अनुदानको योजना ल्याएको उल्लेख गर्नुभयो । “साना ठूला दुवैखाले कृषि फार्म चलाउने दुई हजार बढी किसानबाट अनुदानको लागि आवेदन परेको छ”, मन्त्री थापाले भन्नुभयो, “मापदण्ड पूरा गर्ने करीब ६०० किसानले अनुदान पाउँछन् ।” मन्त्री थापाले एक निर्वाचन क्षेत्रमा एउटा नमूना कृषि कार्यक्रम सञ्चालन गर्ने योजना रहेको पनि बताउनुभयो । 

सो अवसरमा जिल्लामा कार्यरत २७ पशुसेवा प्राविधिकलाई गाउँमा पुगेर सेवा सञ्चालन गर्नका लागि सामग्री तथा उपकरण प्रदान गरिएको थियो । ‘माइक्रोस्कोप’, ‘पोस्टमार्टम’ यन्त्र, डोरीलगायतका उपकरण र सामग्री प्रदान गरिएको केन्द्रका वरिष्ठ पशु विकास अधिकृत नारायण पौडेलले जानकारी दिनुभयो । 

‘एक गाउँ, एक प्राविधिक’ भन्ने अवधारणाअनुसार प्राविधिकको क्षमता विस्तारमा समेत ध्यान दिनुपर्नेमा कार्यक्रमका सहभागीको जोड थियो । प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले कृषिलाई व्यावसायिक बनाउन आवश्यक रहेको भन्दै बागलुङलाई मासु, तरकारी तथा फलफूलमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो । 

A Levels MA