SEE Result 2082

स्कुलमै खोप अभियान सञ्चालन गर्न दुई मन्त्रीबीच छलफल

१२ वर्षमाथिका विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग छलफल गरेका छन् ।

मङ्गगलबार दिउँसो स्वास्थ्य मन्त्रालय पुगेर शिक्षामन्त्री पौडेलले स्वास्थ्यमन्त्री खतिवडासँग छलफल गरेका थिए । मन्त्री पौडेलले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन भएपछि १२ वर्षमाथिका सबै विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गर्न आग्रह गरे । 

“विद्यालय खुलेसकेका छन्” उनले भने, “१८ वर्षमाथि उमेरसमूहका धेरैले खोप लगाइसकेका छन् । त्यसमुनिका विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेर तुरुन्त खोपको व्यवस्थापन हुनुपर्यो ।”

शिक्षामन्त्री पौडेलले बालबालिकालाई विद्यालयमै पुगेर कोरोनाविरुद्धको खोप लगाउनुपर्नेमा जोड दिए । उनले भने, “प्रत्येक विद्यालयमा पुगेर कोरोना विरुद्धको एक हप्ते खोप अभियान सञ्चालन गरौँ । शिक्षा मन्त्रालयले त्यसको समन्वय गर्छ । खोपको व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गरिदिनुपर्यो ।”

स्वास्थ्य मन्त्री खतिवडाले १८ वर्षमुनीका बालबालिकाको लागि एक करोड डोज खोप ‘बुक’ भइसकेको जानकारी दिए । 

“बालबालिकाको लागि एक करोड डोज खोप अमेरिकाबाट आउने भएको छ” मन्त्री खतिवडाले भने,  “आउने वित्तिकै विद्यार्थीेले खोप पाउँछन् ।” उनले तीन करोड २० लाख डोज खोप आउने तयारीमा रहेको जानकारी दिए । 

१२ वर्षभन्दा मुनिका बालबालिकालाई डब्लूएचओले कोरोना विरुद्धको खोप लगाउन स्वीकृति दिएको छैन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार कक्षा १२ सम्मका ६७ लाख ५१ हजार ४४९ जना विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाउनुपर्ने छ । जसमा पाँचदेखि नौ वर्ष उमेर समूहका ३१ लाख नौ हजार १७५ रहेका छन् । नौदेखिमाथि उमेरसमूहका ३६ लाख ४२ हजार २७४ जना छन् ।  

+2 School
Counseling
Bachelors Portal