A Levels MA

अपाङ्गताः पौरख गर्न पनि पहुँचको अवरोध

दृष्टिविहीनहरूको शिक्षाको क्षेत्रमा पहुँच पु¥याउन काम गरिरहेका छिटुप दोर्जे लामाले बाल्यकालमा आफैंले ब्रेललिपीमा पढ्न पाएनन्। हुम्लामा जन्मिएका उनलाई ब्रेललिपी त परको कुरा हो विद्यालय जाँदा पनि साधारण व्यक्तिसरह व्यवहार समेत गरिएन।

उनी दृष्टिविहीन हुन्। जन्मजात अपाङ्गता भएका छिटुपले सुनेकै भरमा एसएलसीसम्मको अध्ययन पूरा गरे। एसएलसी पछिका केही बर्ष उनको पढाई रोकियो। किनभने उनी दृष्टिविहीन भएकाले ठूला सहरमा गएर पढ्न सक्ने वातावरण केही बर्ष सिर्जना हुनै सकेन।

केही बर्षपछि उनी काठमाडौंमा गएर पढे। उनले आफ्नो शैक्षिक यात्राका क्रममा अंग्रेजी साहित्यमा स्नातकोत्तर गरे। विदेशका विभिन्न विश्वविद्यालयबाट सिकाई अवार्ड पनि उनले पाईसकेका छन्।

एसएलसी पछिको शिक्षा पूरा गर्ने हुटहुटी लिएर जब उनी काठमाडौं पुगे, अनि थाहा पाए आँखा देख्न नसक्नेहरुले ब्रेललिपीमा पढ्न पाउने रहेछन्। उनलाई पढाईलाई निरन्तरता दिने जोस त्यसैपनि जागिहाल्यो। पहुँचयुक्त वातावरणमा पढ्न पाएपछि उनको पढाई पूरा भयो र विभिन्न विश्वविद्यालयले सम्मान पनि दिए।

उनी अहिले हुम्लामै बसेर दृष्टिविहीनहरुको शिक्षाका लागि काम गर्छन्। ‘मलाई आफूले पढ्नका लागि संघर्ष गर्दैगर्दा दृष्टिविहीनहरुको शिक्षाका लागि काम गर्नुपर्छ भन्ने उर्जा पनि आएको हो।’ लामाले भने।

उनलाई सुरुदेखि नै कर्णालीको भौगोलिक परिस्थिति, समाजको बुझाई, अर्को व्यक्तिले अपाङ्गता भएकालाई गर्ने व्यवहारले अपाङ्गता भएकाहरुका लागि सहज परिस्थिति सिर्जना गर्न समय लाग्छ भन्ने महसुश भएको छ।

‘अपाङ्गता भएकाहरुका लागि पहुँचयुक्तता महत्त्वपूर्ण छ, उनीहरुलाई अवस्थाअनुसार फरकफरक पहुँच चाहिन्छ,’ उनले भने, ‘कर्णालीको अपाङ्गतामा अवरोध भनेको भूगोल नै हो, यसबाहेकका सामाजिक बुझाई त छँदैछन्।’

कुनै पनि सरोकारवाला निकायहरुले संरचना निर्माण गर्दा समान पहुँचयुक्तताको बारेमा नसोचेकोमा उनी गुनासो गर्छन्। यसले अपाङ्गता भएकालाई राज्यले पनि आम मानिस हुन भन्ने नबुझेको महसुश उनले गरेका छन्।

हरेक तहतप्का, नागरिक समाज, संघसंस्थामा एकीकृत रुपमा अपाङ्गताको कुरा समावेश गर्न सकियो भने अपाङ्गता भएका व्यक्तिहरुका लागि छुट्टै संस्था नै खोल्नु नपर्ने उनले बताए।

कालीकोटका दुर्गबहादुर रावत कर्णाली प्रदेश सभा सदस्य छन्। उनी जन्मजात शारीरिक अपाङ्गता भएका व्यक्ति हुन्। अहिले कर्णाली प्रदेश सभा सदस्य रहेको उनी यसअघि प्रतिनिधि सभा सदस्य थिए।

उनी ११ बर्षको उमेर हुँदासम्म विद्यालय जान पाएनन्। ‘अपाङ्गता भएको व्यक्तिलाई पढाउनुपर्दैन भन्ने बुझाई गाउँमा थियो, तर मेरो दाई विद्यालयमा राम्रो पढ्ने विद्यार्थी थिए, उनको प्रेरणाले म भागेर विद्यालय जान थालेँ, बुवाले बाध्य भएर भर्ना गरिदिनुभयो,’ उनले भने, ‘मेरोमा खुट्टा जुत्ता लगाउन मिल्ने थिएन, अरुलाई एक घण्टा लाग्ने विद्यालय पुग्न मलाई दुई घण्टा लाग्थ्यो।’

उनलाई विद्यालय जान गाह्रो भएपछि उनका बुवाले विद्यालय नजिकै डेरा बनाईदिए। त्यहाँका घरभेटीले उनका उल्टो फर्किएका खुट्टाको मजाक उडाएपछि उनी फेरि घरबाटै हिँडेर विद्यालय जान थाले।

प्रतिस्पर्धी स्वभावका रावत विद्यालयमा हुने हरेक खेलकुदमा भाग लिन्थ। उनका बारेमा अरुले कुरा काट्थे, तर उनी वास्ता नगरी खेलमा प्रतिस्पर्धा गर्थे।

उनी २५ बर्षको उमेरसम्म खाली खुट्टा हिँडे। ०४८ सालमा मलाई एउटा संस्थाले चप्पल बनाईदियो। पढाईका क्रममा नेपालगञ्ज र जुम्लाका क्याम्पसमा विताए।

राजनीति गर्नेक्रममा पनि उनी हिउँमा खाली खुट्टा हिँडे। ‘त्यतिबेला हामीजस्ता अपाङ्गता भएकाहरुको पहुँच जुत्ता–चप्पलसम्म पनि थिएन।’ उनले भने।

२०७४ सालको निर्वाचनमा उनी प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित भएर प्रतिनिधित्व गर्न पुगे। उनलाई प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित हो भनेर अरु सांसदहरुले विश्वास गर्थेनन्। ‘मलाई तपाई समानुपातिकबाट हो भनेर सोध्थे, अहिले प्रदेश सभामा पनि तपाई समानुपातिक होरु भनेर सोध्छन्।’ उनले भने।

उनी अगाडि भन्छन्, ‘हामी कसैको भर पर्नु हुँदैन, आफूले संघर्ष गर्न जान्नुपर्छ। त्यसले समाजलाई सचेत गराउँछ। विभेदकारी समाजको सोचलाई हामीले संघर्ष र नतिजा प्राप्त गरेर हटाउनुपर्छ।’

सुर्खेतकी नम्रता भारतीले चार बर्षको भएपछि मात्र आफू सुन्न र बोल्न सक्दिन भन्ने थाहा पाईन्। उनी अहिले सुर्खेत बहिरा संघको अध्यक्ष छिन्।

त्यतिबेला सुर्खेतको विशेष स्कुलमा राम्रो व्यवस्थापन नभएपछि संस्थाहरुको सहयोगमा काठमाडौं गएर पढिन्। काठमाडौंमै बस्दा उनले आफ्नो व्यक्तित्वय विकास कसरी गर्ने भन्ने बारेमा तालिम लिईन्।

सुन्न र बोल्न नसक्ने अपाङ्गता भएका व्यक्तिलाई दोभाषे अनिवार्य भएपनि यसको सहज उपलब्धता नहुनुले समस्या भएको उनी बताउँछिन्। ‘हामी प्रदेशको राजधानीमा हुनेहरुलाई त दोभाषे पाउन गाह्रो छ, भर्खर हाम्रो भाषा अनुवाद गर्न सक्ने एक–दुई जना तयार भएका छन्,’ उनले भनिन्, ‘दुर्गममा त हामी जस्ताको अवस्था बेहाल छ, हाम्रा कुरा बुझ्दैनन्, हामीलाई होच्याउँछन्।’

बहिरा व्यक्तिलाई सांकेतिक भाषाको जनशक्ति अनिवार्य भएकाले यसमा सरोकारवालाहरुले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा उनले जोड दिईन्। ‘यसमा हामी समस्या भएकाहरुले मात्र वकालत गरेर पुग्दैन, अरु सरोकारवालाले पनि यसका लागि काम गर्नुपर्छ,’ उनी भन्छिन्, ‘बहिरा व्यक्तिको नेतृत्व तहमा सहभागिता हुनुपनि जरुरी छ, जसले उनीहरुले आफ्नो क्षेत्रबाट योजना बनाउन सकोस्।’

सुन्न र बोल्न नसक्नेहरुलाई आफूमाथि भएको अन्यायविरुद्ध मुद्दा दिन पनि अवरोध हुने उनले बताईन्। अस्पताल जाँदा चिकित्सकले पनि भाषा नबुझेर अनुमानका भरमा औषधि दिने गरेको अनुभव उनले सुनाईन्।

(कर्णाली उत्सवको आइतबारको सत्र ‘अपाङ्गताः पहुँच र पौरख’ सत्रमा वक्ताका रुपमा सहभागी लामा, रावत र भारतीले सुनाएको अनुभवमा आधारित)

 

Thuprai - Books and E-books