शिक्षा मन्त्रालयले विद्यालय तहको रजिस्ट्रेसन निःशुल्क घोषणा गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निःशुल्क शिक्षाको व्यवस्था कार्यान्वयनमा ल्याउन विद्यालय तहको रजिस्ट्रेसन निःशुल्क गर्ने निर्णय गरेको हो।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अबदेखि माध्यमिक तहका विद्यार्थीले रजिस्ट्रेसन शुल्क तिर्नु नपर्ने व्यवस्था मन्त्रालयले गरेको बताइन् । मन्त्री भट्टराईले अब विद्यार्थीले कक्षा ९ र कक्षा ११ मा विद्यार्थीले रजिस्ट्रेसन शुल्क तिर्नुनपर्ने निर्णय मन्त्रालयले जानकारी दिइन् ।
अहिले विद्यार्थीले विद्यालय तहमै दुईपटक कक्षा ९ र ११ मा रजिस्ट्रेसनवापत शुल्क तिर्दै आएका छन्। ‘कक्षा ९ मा विद्यार्थीबाट रजिस्ट्रेसनवापत शुल्क उठाउन नपाउने निर्णय भएको छ,’ मन्त्री भट्टराईले भनिन्, ‘अब विद्यालय तहमा कक्षा ९ मा एकपटक मात्र निःशुल्क रजिस्ट्रेसन हुन्छ। निःशुल्क विद्यालय शिक्षा कार्यान्वयनको सुरुवात यहींबाट भएको छ। आगामी बजेटमा यसको सम्बोधन हुने छ।’
उनले कक्षा १० को परीक्षा प्रदेश र कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने समेत जानकारी दिइन् । मन्त्री भट्टराईले विद्यार्थीलाई देश चिनाउने बनाउन विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्ने तयारी भइरहेको बताइन्। उनले इतिहास र वातावरण विषयलाई समयसापेक्ष राष्ट्र र वातावरणीय स्रोतसँग जोडेर परिमार्जन गर्ने बताइन् ।