After SEE Portal

निश्चित विद्यार्थीलाई अङ्ग्रेजीमा सामाजिक शिक्षा अध्ययन गर्न दिने निर्णय

Bridge Course

विदेशस्थित नेपाली विद्यालयका तथा नेपालमा अध्ययनरत विदेशी विद्यार्थीले अङ्ग्रेजी भाषामा नै कक्षा १० को सामाजिक शिक्षा अध्ययन गर्न पाउने भएका छन् ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को हिजो बसेको बैठकले माध्यमिक शिक्षा परीक्षा (एसईई)का लागि सो खुला गरेको हो । परिषद्को बैठक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको अध्यक्षतामा बसेको थियो । 

हाल माध्यमिक तहको विद्यालय जापानमा सञ्चालित छ र केही वर्ष यता त्यहाँका विद्यार्थी एसईईमा सहभागी हुँदै आएका छन् । यसैगरी नेपालमा सञ्चालित केही विद्यालयमा विदेशी विद्यार्थी पनि अध्ययनरत छन् र उनीहरु एसईईमा सहभागी हुँदै आएका छन् । यसअघि उनीहरुले अनिवार्य नेपाली विषयको सट्टामा ऐच्छिक अङ्ग्रेजी विषय अध्ययन गर्न सक्ने छुट दिइएको थियो । विदेशी कूटनीतिक नियाेगका कर्मचारीका छाेराछाेरी पनि यहाँ अध्ययनरत छन् ।

परिषद्का एक सदस्यले आफ्नो नाम उल्लेख नगरिदिन अनुरोध गर्दै भने, “विदेशमा रहेको नेपाली विद्यार्थी र नेपालमा अध्ययनरत विदेशी विद्यार्थीको नेपाली कमजोर भएकाले उनीहरुलाई नेपाली माध्यममै सामाजिक शिक्षा अध्ययन गर्नुपर्छ भनेर वाध्य पार्न व्यावहारिक रुपमा मिल्दैन । त्यसैले उनीहरुलाई अङ्ग्रेजी भाषामा नै पढ्न र लेख्न छुट दिने निर्णय गरिएको हो ।”

अनिर्णित कक्षा १२

कक्षा १२ को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा अङ्ग्रेजी भाषामा अध्ययन गर्न दिने भन्ने बारेमा परिषद् बैठकमा प्रस्ताव पेस भएको थियो । तर प्रस्तावका बारेमा कुनै निर्णय भएन ।

परिषद् सदस्यले भने, “त्यस बारेमा थप अध्ययन गरेर अर्काे बैठकमा प्रस्ताव पेस गर्ने भन्ने सहमति भएको छ ।” तत्कालका लागि परिवर्तन भएन र अर्काे निर्णय नहुन्जेल कक्षा १२ मा सामाजिक शिक्षा विषय नेपाली भाषामा नै पठनपाठन गर्नुपर्ने तथा विद्यार्थीले परीक्षामा पनि नेपाली माध्यममा नै उत्तर दिनुपर्ने हुन्छ ।

केही दिनअघि राष्ट्रिय परीक्षा बोर्डले आफ्नो वेबसाइटमा कक्षा १२ को सामाजिक विषयको नमुना प्रश्नपत्र अङ्ग्रेजीमा पनि राखेपछि अन्योल सिर्जना भएको थियो । यस विषयमा बोर्डका सम्बद्ध पदाधिकारीले नेपाली वा अङ्ग्रेजी माध्यममा उत्तर लेख्न सकिने भन्ने समाचार सार्वजनिक भएपछि यो विषयलाई विवादीत बनाइएको थियो ।

लगत्तै बोर्डले पाठ्यक्रम मूल्याङ्कन परिषद्बाट स्वीकृत भएपछि कार्यान्वयन हुने भनी नमुना प्रश्नपत्रमा सच्याएको थियो । 

“यस बारेमा हिजोको बैठकले निर्णय नगरेकाले अहिले कक्षा १२ को परीक्षाको तयारी गरेका विद्यार्थीले नेपाली भाषामा नै उत्तर लेख्नुपर्ने हुन्छ” परिषद्का ती सदस्यले भने, “अन्योल सिर्जना भएको हो । यसलाई असावधानीका रुपमा लिएका छौँ । तर नेपाली वा अङ्ग्रेजी मध्ये कुनै एक भाषा छनोटको अवसर दिने अडानमा छौँ । यसपटक साविकबमोजिम विद्यार्थीले उत्तर दिनुपरे पनि आगामी वर्षका विद्यार्थीले अङ्ग्रेजी भाषा पनि छनोट गर्न पाउने व्यवस्था गर्नेछौँ ।”

नेपाली भाषाको जग कमजोर भएका विद्यार्थी धेरैको ग्रेड निराशाजनक देखिएपछि राष्ट्रिय परीक्षा बोर्डले भाषा छनोटको प्रावधान अगाडि सारेको थियो । नेपाली भाषा कमजोर भएकाले गणित विषय रोज्न सक्ने भएको हुँदा यस मामिलामा कतिपय गणित विषयका शिक्षकले पनि नेपाली माध्यममा नै अध्ययन गर्नुपर्छ भनेर सामाजिक सञ्जालमा उक्साउने गरेको र त्यसो हुँदा विद्यार्थीले सामाजिकको सट्टा गणित विषय छनोट गर्ने हुँदा आफूहरुलाई फाइदा हुने गरेको तर्क परिषद्को बैठकमा प्रस्तुत भएको तिनै सदस्यले सुनाए । सामुदायिक विद्यालयका कतिपय सामाजिक शिक्षाका शिक्षकले अंग्रेजी माध्यममा पठनपाठन गराउन नसक्ने भएकाले पनि विरोध आएको तर्क बैठकमा सुनिएको उनले भने । “नदेखिने किसिमले धेरैको स्वार्थ गाँसिएको छ” उनले भने, “विद्यार्थीको सिकाइ अभिवृद्धि गर्नुपर्छ भन्ने हो, जबरजस्ती कमजोर पार्नुपर्छ भन्ने सोच अतिवादी हो ।”

A Levels MA
Thuprai - Books and E-books