After SEE Portal

हटाइएका शिक्षकलाई पुनर्वहाली गर्ने मन्त्रिपरिषद्को निर्णय (निर्णयका फेहरिस्तसहित)

Bridge Course

राजनीतिक पूर्वाग्रह, द्वन्द्व तथा आन्दोलनका कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई आज बसेको मन्त्रिपरिषद्को बैठकले व्यवस्थापन गरेको छ । प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको बैठकले ५८६ जना शिक्षक तथा कर्मचारीलाई व्यवस्थापन गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका प्रेस संयोजक विमल खड्काका अनुसार २३३ जना शिक्षकको पुर्नवहाली हुने भएको छ भने १८ जना शिक्षकको नियुक्ति, ४१ जना शिक्षकको हकमा सेवा सुविधा र २८४ जना शिक्षकले एकमुष्ट आर्थिक सहायता पाउने भएका छन् ।

तत्कालीन पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा गठित कार्यदलले २०७३ मङ्सिर २६ गते दिएको प्रतिवेदनअनुसार आज मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

निर्णयहरु

क) २३३ जना शिक्षकको पुनर्वहाली गर्ने ।

–प्रचलित कानुनबमोजिम सेवा गर्न उमेर बाँकी रहेका स्थायी शिक्षकलाई स्वीकृत दरबन्दीको रिक्त स्थानमा पुनर्वहाली गर्ने ।

–पुनर्वहाली हुने शिक्षकलाई विद्यालयमा हाजिर भएको मितिदेखिको तलब भत्ता लगायतका सुविधा दिने तर सेवाबाट हटाइएको मितिदेखि पुनर्वहाली भई हाजिर नहुन्जेलको अवधिको तलब, भत्ता, विदा, पोशाक, चाडपर्व खर्चलगायतका सुविधा नदिने ।

–पुनर्वहालीको लागि सिफारिस गरिएका शिक्षकमध्ये हाल उमेर हद पूरा गरेकाको हकमा ६० वर्ष उमेर पुगेको मितिसम्मलाई आधार मानी निजको विस्थापित भएको अवधिमा ननाघ्ने गरी न्यूनतम निवृत्तभरणका लागि बढीमा सात वर्ष अवधि जोड्ने । यसरी अवधिको थप गर्दा निवृत्तिभरण नपाउने अवस्था भएमा उपदान दिने प्रयोजनका लागि एकमुष्ट पाँच वर्ष अवधि थप गर्ने ।

–विस्थापित भए पछि सार्वजनिक लाभको पद धारण गरेका व्यक्तिलाई पुनर्वहाली नगर्ने । त्यस्ता व्यक्तिको हकमा पहिलोपटक लाभको पद धारण गरेको मितिसम्मलाई आधार मानी निजको विस्थापित भएको अवधिमा ननाघ्ने गरी न्यूनतमका लागि बढीमा सात वर्ष अवधि जोड्ने ।

ख) १८ जनाको हकमा

–स्थायी नियुक्तिपत्र लिएका तर हाजिर भइ कामकाज गर्न नपाएका १८ जना शिक्षकलाई रिक्त दरबन्दीमा नियुक्ति गरी काममा लगाउने र विद्यालयमा हाजिर भएको मिति देखिको सेवा अवधि गणना गर्ने ।

ग) ४१ जना शिक्षकको हकमा

उमेरहदबाट अनिवार्य अवकास भएको वा मृत्यु भएको मितिसम्मलाई आधार मानी न्यूनतम निवृत्तभरण प्रयोजका लागि बढीमा पाँच वर्ष अवधि जोड्ने । यसरी थप गर्दा पनि निवृत्तिभरण नपाउने अवस्था भएमा उपदान दिने प्रयोजका लागि एकमुष्ट पाँच वर्ष अवधि थप गर्ने ।

–अवधि थप गर्दा निवृत्तभत्तरण पाउने व्यक्तिले यस अघि उपदान लिइसकेका भए सो रकम फिर्ता गरेपछि मात्र निवृत्तभरण पाउने ।

२८४ जना अस्थायी शिक्षकका लागि

सेवाबाट हटाइएका २८४ जना अस्थायी शिक्षकहरुका सम्बन्धमा निजहरुले पाउने सञ्चित विरामी विदाको अलावा देहाय बमोजिमको एकमुष्ट आर्थिक सहयाता पाउने ।

–तीन वर्षभन्दा कम सेवा अवधिका शिक्षकहरुलाईः एक लाख, एक लाख २५ हजार र एक लाख ५० हजार

–तीन वर्षदेखि ५ वर्ष भन्दा कम सेवा अवधिः १ लाख ७५ हजार, २ लाख र २ लाख ५० हजार रुपियाँ

–पाँच वर्षदेखि १० वर्षभन्दा कम सेवा अवधिः २ लाख ५० हजार, २ लाख ७५ हजार र ३ लाख रुपियाँ

–१० वर्षदेखि १५ वर्षभन्दा कम  सेवा अवधिः ३ लाख ५० हजार, ४ लाख र ४ लाख ५० हजार रुपियाँ

–१५ वर्ष र सो भन्दा सेवा अवधिः  बढी ५ लाख, ६ लाख र ७ लाख रुपियाँ

 

A Levels MA