After SEE Portal

निजामती आवासीय विद्यालय निर्माण सम्पन्न, मध्यपश्चिम विश्वविद्यालयद्वारा दुई उपप्राध्यापक बर्खास्त (साप्ताहिक शैक्षिक गतिविधि असार १९–२५)

Bridge Course

धनकुटा नगरपालिका वडा नं ७ चुलिवनमा निजामती आवसीय विद्यालय निर्माण गरिएको छ । ५ करोड ५० लाख रुपियाँ लागतमा सो विद्यालयको निर्माण कार्य सम्पन्न भएको हो।  

तीन तले सो विद्यालमा प्रविधिमैत्री कक्षाकोठा अत्याधुनिक सुबिधा सम्पन्न विद्यार्थीलाई अक्तिरिक्त क्रियाकलाप सञ्चालनका लागि २ वटा हलको व्यवस्थासहित २२ वटा कोठा रहेको प्रधानाध्यापक सुरेश काफ्लेले बताए। अहिले विद्यालयमा कक्षा ५ देखि १० सम्म पठनपाठन हुँदै आएको छ । विद्यालयमा १५० जना छात्रछात्रा अध्ययन गरिरहेका छन्।

काठमाडौं महानगरपालिकाले आफ्नो मातहतका ३२ वटा विद्यालयलाई नमुना विद्यालयका रुपमा छनोट गरेको छ । महानगरको आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रममा उल्लेख गरेको एक वडा एक नमुना विद्यालय कार्यक्रम अन्तर्गत ३२ वडा वडाका एक एक विद्यालयलाई नमुना विद्यालयका रुपमा छनोट गरेको हो ।

सरकारले आगामी आर्थिक वर्षबाट कक्षा १२ सम्म निशुल्क पाठ्यपुस्तक वितरण गरिने घोषणा गरेको छ । आर्थिक वर्ष ०७८-७९ को बजेटमा सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेको थियो । तर सरकारले छाप्नुपर्ने पाठ्यपुस्तकको प्रतिलिपि अहिलेसम्म जनक शिक्षा सामग्री केन्द्रले पाउन सकेको छैन । पाठ्यक्रम विकास केन्द्रले अहिले सम्म जनक शिक्षालाई पाठ्यपुस्तक छाप्ने अनुमति प्रदान गरेको छैन ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले १६३ स्थानीय तहमा माध्यमिक तहमा स्वीकृत दरवन्दी तथा अनुदानमा कार्यरत शिक्षकको थप तलव भत्ता हस्तान्तरण गरेको छ । केन्द्रले चालु आवको आधारभूत तथा माध्यमिक तहका शिक्षकहरुका लागि तलव भत्ता शीर्षकमा बजेट कम भइ नपुग बजेट हस्तन्तरण गरेको हो ।

निजी विद्यालयका शिक्षकलाई कोरोना खोप दिन माग

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) काठमाडौंले निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई कोरोना भाइरसविरुद्धको खोप व्यवस्था गर्न माग गरेको छ।

सोमबार काठमाडौं जिल्ला अध्यक्ष सुरेश भट्ट, सचिव भूपाल उप्रेतीलगायत कार्य समितिका सदस्यहरूले निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई पनि सहज रूपमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउन पहल गरिदिन भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय टेकु र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई ज्ञापन पत्र बुझाएका छन्।

त्रिविको स्थगित परीक्षाफल असारभित्रै

त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण रोकिएका स्नातक तहका विभिन्न तहको परीक्षाफल यसै महिनाभित्र प्रकाशित गर्ने भएको छ । विद्यार्थीलाई स्नातकोत्तर तहमा नयाँ भर्नाका लागि समय मिल्ने गरी असारभित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी गरिरहेको विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दियो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यालयका कर्मचारीमा कोरोनाको प्रभावका कारण परीक्षाफल प्रकाशनमा समस्या देखिएको हुँदा परीक्षाफल असारभित्र प्रकाशित गरिने बताए । कोरोनाका कारण स्नातक तह तेस्रो र चौथो वर्षको परीक्षाफल प्रकाशित हुन सकेको छैन ।

त्रिविले वैशाखमा खुलाउने भनेको स्नातकोत्तर तहको नयाँ भर्ना यसै साता मात्रै खुलाएको छ । अनलाइन माध्यमबाट स्नातकोत्तर तहमा नयाँ भर्ना खोलेको हो । थोरै विद्यार्थी भएको विभागमा भौतिक रूपमा समेत भर्नामा सहभागी हुन सक्ने व्यवस्था त्रिविले गरेको छ । विश्वविद्यालयको स्नातकोत्तर तहको नयाँ कार्यक्रम तीन महिनापछि धकेलिएको छ ।

यसैबीच त्रिविले विश्वविद्यालयमा कार्यरत आंशिक शिक्षकलाई नियमित अनलाइन कक्षामा सहभागी हुन आग्रह गरेको छ । विगत लामो समयदेखि आफ्ना मागमा विश्वविद्यालयले चासो नदेखाएको भन्दै कक्षा बहिष्कार गर्ने चेतावनी दिएपछि विश्वविद्यालयले अनलाइन कक्षामा नियमित सहभागी हुन आंशिक शिक्षकलाई आग्रह गरेको हो । विश्वविद्यालयमा करिब एक हजार पाँच सय आंशिक शिक्षक कार्यरत छन् ।

त्रिविले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन माध्यमबाटै दिन थालेको छ ।

यही असार २० गते अनलाइनको प्रयोगबाट सुदूरपश्चिम प्रदेशको कञ्चनपुर घर भई नेपाली सेनाको श्रीकालीध्वज गण नवलपरासीमा कार्यरत उपसेनानी गणेश चन्दले पहिलो पटक अनलाइनबाट यो सेवा लिएका छन् ।

त्यस्तै त्रिविको स्नातक तहको पहिलो वर्षमा अध्ययनरत विद्यार्थीले आफूलाई पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने भएका छन् । परीक्षार्थीलाई पायक पर्ने परीक्षा केन्द्र छनोट गरी त्रिविको परीक्षा नियन्त्रण कार्यालयको वेभ साईटमा तोकिएका परीक्षा केन्द्रहरु मध्येबाट पायक पर्ने जिल्ला भित्रको तोकिएको परीक्षा केन्द्र असार २२ गते भित्र छनोट गर्न त्रिविले विदार्थीलाई अवसर दिएको थियो ।

मध्यपश्चिम विश्वविद्यालयद्वारा उपप्राध्यापकलाई बर्खास्त

मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका दुई उपप्राध्यापक बर्खास्तिमा परेका छन् । इञ्जिनीयरिङ सङ्काय स्नातकोत्तर कार्यक्रमका निर्देशक उपप्राध्यापक विश्वनाथ यादव र कानून सङ्कायअन्तर्गत ‘स्कूल अफ ल’का उपप्राध्यापक सुजन पन्तलाई विश्वविद्यालयले बर्खास्त गरेको हो ।

शैक्षिक मर्यादाविपरीत अक्षम्य अपराध गरेको पुष्टि भएकाले बर्खास्त गरिएको विश्वविद्यालयले जनाएको छ । यादवलाई आफुखुशी विद्यार्थीलाई नम्बर दिएको र पन्तलाई प्रश्नपत्र ‘आउट’ गरेको आरोपमा बर्खास्त गरिएको उपकुलपति प्रा।डा नन्दबहादुर सिंहले बताए ।

यादवले विद्यार्थीको आन्तरिक मूल्यांकनतर्फ विषय शिक्षकले पठाएको नम्बर लुकाएर मनलाग्दी रुपमा नम्बर दिएको उजुरी परेको थियो । परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई पनि पास गराएको पाइएको छ ।  स्कूल अफ ल’ का पन्तलाई तीन महिनाअघि निलम्बन गरिएको थियो ।छानबिन समितिको निष्कर्षपछि उनलाई बर्खास्त गरिएको हो ।

उपप्राध्यापकद्वयलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी उपप्राध्यापक पदबाट बर्खास्त गरिएको छ । यादवले आर्थिक प्रलोभनमा परी परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई आफूखुशी नम्बर दिएर पास गराएको आरोप लागेको थियो ।

स्ट्रक्चरल इञ्जिनीयरिङ विषयको अन्तिम सत्रको प्रयोगात्मक परीक्षामा उपप्राध्यापक यादवले आफूखुशी नम्बर दिएको छानबिन समितिको ठहर छ ।

उपकुलपति सिंहले उनीहरूलाई विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन नियमावली २०६९, परिषद् ३३ को नियम १७४ बमोजिम प्रा डा दीपबहादुर रावलको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनका आधारमा बर्खास्त गरिएकोजानकारी दिए ।

A Levels MA