चन्दा सङ्कलन गरेर कक्षा सञ्चालन

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका अभिभावकले चन्दा सङ्कलन गरेर कक्षा–११ र १२ को कक्षा सञ्चालन गरेका छन् । स्थापना भएको ४४ वर्षसम्म कक्षा–१० सम्मको मात्र पढाइ सञ्चालन हुँदै आएको पाथेकास्थित लुङथुङ कोलडाँडामा सञ्चालित सरस्वती माध्यमिक विद्यालयमा अभिभावकले चन्दा सङ्कलन गरेर यसै शैक्षिकसत्रदेखि कक्षा ११ र १२ को कक्षा सञ्चालन गरेका हुन् ।

विसं २०१७ मा स्थापना भएको सरस्वती माविमा कक्षा–११ र १२ सञ्चालनका लागि हालसम्म तीन सय ९८ चन्दादाताबाट रु ३१ लाख सङ्कलन भएको प्रधानाध्यापक उत्रप्रसाद राईले जानकारी दिए । “सङ्कलित रकमबाट दुई शिक्षक तथा पाठ्य सामग्री खरिद गरेर यस वर्षदेखि कक्षा–११ को कक्षा सञ्चालन गर्दैछौँ । अहिले कक्षा–११ का लागि भर्ना अभियान चलिरहेको छ”, उनले भने, “अर्को वर्षदेखि कक्षा–१२ को कक्षा सञ्चालन हुन्छ ।”

कक्षा ११ र १२ सञ्चालन गर्न चन्दा सङ्कलन जारी छ । अभियानअन्तर्गत  करिब रु दुई करोड सङ्कलन गर्ने लक्ष्य छ । सङ्कलित रकमलाई खातामा जम्मा गरेर त्यसबाट आएको ब्याजले कक्षा सञ्चालन गर्ने योजना रहेको प्रधानाध्यापक  राईले बताए ।

भौगोलिकरुपमा विकट तथा विद्यार्थीको सङ्ख्या प्रर्याप्त भएकाले चन्दा सङ्कलन गरेरै भए पनि कक्षा ११ को कक्षा सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हात्तीराम राईले जानकारी दिए । “विद्यालयमा हाल कक्षा–१ देखि कक्षा १० सम्म तीन सय ३० विद्यार्थी अध्ययनरत छन् । पाथेकामा आठ सय २४ परिवार बसोबास गर्छन् । नजिकमा कक्षा–११ र १२ को कक्षा पढ्न विद्यालय छैनन् । केपिलासगढी गाउँपालिकाका दुई वडाका विद्यार्थीसमेत सोही विद्यालयमा अध्ययन गर्न आउँछन् ।  

माथिल्लो कक्षामा शिक्षा, व्यवस्थापन र मानविकी सङ्कायमा अध्ययन गर्न पाउने गरी तीनवटा विषयमा पठनपाठन सुरु गरिएको अध्यक्ष राईले बताए । पाथेकामा कक्षा–११ र १२ सञ्चालन गर्न तीन वर्षअघि नै पहल गरिएको हो । यसअघि कक्षा ११ र १२ अध्ययन गर्न सदरमुकाम दिक्तेल बजार तथा राजधानी काठमाडौँ जानुपर्ने बाध्यता थियो । कक्षा ११ र १२ सञ्चालन गर्न सरस्वती माविमा कार्यरत शिक्षक÷कर्मचारीबाट रु आठ लाख तथा पाथेकाका अन्य विद्यालयमा कार्यरत शिक्षक÷कर्मचारीबाट रु १० लाख सहयोग सङ्कलन हुने उनले बताए ।

सरस्वती माविमा प्राथमिक तहमा पाँच, निम्न माध्यमिक तहमा चार र माध्यमिक तहमा तीन शिक्षक कार्यरत छन् । कक्षा ११ र १२ सञ्चालन गर्न विद्यालयका पूर्वप्रधानाध्यापक धनप्रसाद गिरीको संयोजकत्वमा २१ सदस्यीय सञ्चालन तथा समन्वय समिति गठन गरिएको छ ।