कक्षा १२ का प्रश्नपत्र पुरानै शैलीमा

कक्षा १२ को परीक्षामा पुरानै तरिकाअनुसार प्रश्न सोधिने भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले पुरानै ढाँचाका प्रश्नपत्र तयार गरिने बताउँदै भने, “नयाँ मोडेलको प्रश्नपत्र तयार हुँदैन । प्रश्नको मोडेल पुरानै रहन्छ, प्रश्न सङ्ख्या मात्र घट्ने ।” 

परीक्षालाई डेढ घण्टा बनाइएकाले प्रश्न सङ्ख्या पनि कम हुनेछन् । “उदाहरणका लागि संक्षिप्त उत्तर लेख्नुहोस् भनेर विगतमा छ वटा प्रश्न सोधिन्थे भने अब तीन वटामात्र सोधिनेछ” उनले थपे, “त्यसैले विद्यार्थीहरु आत्तिनुपर्ने वा अन्योलमा रहनुपर्ने अवस्था छैन ।”

बोर्डले विगतको एक सय पूर्णाङ्कको परीक्षा अब ४० पूर्णाङ्कको लिनेछ । त्यस्तै ७५ पूर्णाङ्कलाई ३० मा, ५० पूर्णाङ्कलाई १५ मा र २५ पूर्णाङ्कलाई १० मा झारिनेछ ।

परीक्षा नियन्त्रक शर्माले समय पर्याप्त नभएकाले प्रदेशअनुसार फरक फरक प्रश्नपत्र तयार गर्न नभ्याइए पनि चार, पाँच सेटका प्रश्नपत्र तयार गरिने जानकारी दिए । 

उनले समयले भ्याउनसक्ने स्थानमा छपाएका प्रश्नपत्र पठाइने र नभ्याउने स्थानमा इमेल गरेर प्रश्नपत्र पठाइने बताए । “परीक्षा सुरु हुनु केही अघि इमेलबाट परीक्षा केन्द्रमा प्रश्नपत्र पठाइनेछ । कम सङ्ख्यामा प्रश्न हुने हुँदा परीक्षा केन्द्रले प्रिन्ट गरेर वितरण गर्न नसक्ने अवस्था भएमा कालोपाटीमा लेख्न सक्छन्” उनले भने ।

अझै पनि उत्तरपुस्तिकालाई परीक्षा केन्द्रसम्म पठाइएको छैन । उनले अब केही दिनभित्र उत्तरपुस्तिका परीक्षा केन्द्रसम्म पुगिसक्ने बताए । कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेबाट सुरु हुँदैछ ।

 

Thuprai - Books and E-books