A Levels MA

चौतर्फि दवावपछि अन्ततः कक्षा १२ को परीक्षा स्थगित

राष्ट्रिय परीक्षा बोर्डको आजको बैठकले कक्षा १२ को परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । साउन ३१ गतेदेखि परीक्षा सञ्चालन गर्ने समय तालिका यसअघि सार्वजनिक गरिएको भएपनि पछिल्लो समय कोरोना संक्रमण पुनः बढ्दै गएको अवस्थालाई ध्यानमा राखी बोर्डले परीक्षा स्थगित गरेको हो ।

आजको बैठकले  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सीसीएमसीको समन्वयमा संक्रमणको स्थितिलाई मूल्याङ्कन गरी कम्तिमा पन्ध्र (१५) दिनको सूचना दिई परीक्षाको नयाँ समयतालिका प्रकाशन गर्ने बोर्डले जानकारी दियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो शिक्षा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई आगामी परीक्षाहरू स्थगित गर्न सिफारिस गरेपछि आज बसेको बैठकले परीक्षा स्थगित गरेको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिए । उनका  अनुसार कक्षा  अर्को सूचना जारी नहुन्जेल सम्मका लागि परीक्षा स्थगित गरिएको हो ।

यसअघि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण बढ्दै गएको कारण तत्काल परीक्षा गर्न नसक्ने भन्दै बोर्डलाई नयाँ मिति तय गर्न पत्राचार गरेको थियो ।

विद्यार्थी संगठन र अभिभावकहरुले सबै परीक्षार्थी र परीक्षामा संलग्न सबैलाई कोभिड विरुद्धको खोपको व्यवस्थापन गर्न, व्यवस्थापन गर्न नसक्ने भए स्थगित गर्न माग गर्दै आएका थिए ।

विगत दुईचार दिन यता बोर्डलाई परीक्षा स्थगनको लागि चौतर्फि दवाव आइरहेको थियो । निषेधाज्ञा केही खुकुलो भएसंगै भौतिक उपस्थितिमै १०० पूर्णाङ्ककै परीक्षाको तयारी गरेको बोर्डले अब परीक्षा सञ्चालनको विकल्पको बारेमा छलफल अघि बढाएर विद्यार्थीलाई निकास दिनु पर्ने विज्ञले सुझाए ।

साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा सञ्चालन गर्दा सीसीएमसीले विद्यार्थीको सिट प्लान गर्दा २ मिटर दूरी राखेर अंग्रेजी अक्षर जेड ढाँचामा हुनुपर्ने, विद्यार्थीहरु भीड रोकथाम गर्न परीक्षा केन्द्रमा १ घण्टा ३० मिनेट अघि नै पुग्नु पर्ने सुझाव दिएको थियो ।

यसअघि पनि बोर्डले गत जेठ २६ गतेबाट परीक्षा हुने गरी तालिका सार्वजनिक गरेको थियो । त्यसबेला कोभिड–१९ को दोस्रो लहर निकै झाङ्गिएकोले परीक्षा स्थगित हुनपुगेको थियो ।

साथै सीसीएमसीले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डहरुको पालना गर्नुपर्ने, डीसीएमसीसंग समन्वयमा गरेर सञ्चालन गर्ने, विद्यार्थीहरुलाई परीक्षा अघि सीआईसीटी फारम भर्न लगाउने र अनुसन्धान र सम्पर्कको लागि डीसीएमसीमा पठाउने सुझाव दिएको थियो । त्यस्तै परीक्षामा संक्रमित विद्यार्थीहरुलाई परीक्षा हलमा ३० मिनेट पछि मात्र प्रवेश दिने र संक्रमितलाई अरु परीक्षार्थी बाहिरिएको ३० मिनेटपछि मात्र बाहिर जान अनुमति दिने र संक्रमित विद्यार्थीहरुलाई उचित हेरचाहको साथ छुट्टै परीक्षा हलमा राख्ने सुझाब तथा सर्त राखेको थियो । उक्त सर्तलाई पालना गरेर परीक्षाको तयारी गरिरहेको बोर्डले चौतर्फि दवावका कारण परीक्षा स्थगित गरेको सरोकारवालहरुको धारणा छ ।

सो परीक्षामा ३ लाख ८६ हजार परीक्षार्थीले ४ हजार ३३५ परीक्षा केन्द्रबाट अनिवार्य र ऐच्छिक गरी करीब ९० विषयको परीक्षा दिनु पर्ने छ । बोर्डले भौतिक दुरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्नेगरी तयारी थालेको थियो । साथै परीक्षा केन्द्रमा स्वाथ्य परीक्षण गर्ने, परीक्षा अगावै अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने, केन्द्रमा हेल्थडेक्स राख्ने लगायत तयारी गर्न सबै केन्द्रलाई निर्देशन दिएको थियो ।

परीक्षा बोर्डले यो पटक १०० पूर्णांककै परीक्षा गराउने तयारी गरेको थियो । बोर्डले गतवर्ष परीक्षा समय र अंक भार घटाएर परीक्षा लिएको थियो । बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो । 

Thuprai - Books and E-books