Edusanjal +2 scholarship

कक्षा १–५ मा खुद भर्नादर कमी

Thuprai - Books and E-books

शैक्षिक सत्र २०७८ मा प्राथमिक तह (कक्षा १–५)खुद भर्नादरमा ०.५ प्रतिशतले कमी आएको छ । आधारभूत तहको भर्नादरमा कमी आए पनि अन्य तहहरूको खुद भर्ना दर वृद्धि भएको छ। प्रदेशगत रूपमा आधारभूत तह (कक्षा १-५) को खुद भर्ना दर सबभन्दा बढी कर्णाली प्रदेश र सबैभन्दा कम मधेश प्रदेशमा रहेको छ।

आधारभूत तह (कक्षा १–८) र माध्यमिक तह (कक्षा ९–१२) भर्नादर क्रमशः ९६.९ प्रतिशत, ९५.१ प्रतिशत र ५४.३ प्रतिशत पुगेको तथ्य आर्थिक सर्वेक्षण २०७८–०७९ ले औंल्याएको छ।

आधारभूत तह (कक्षा ६-८) को खुद भर्ना दर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा रहेकोमा सबैभन्दा कम प्रदेश नं. १ मा रहेको छ। माध्यमिक तह कक्षा (कक्षा ९-१२) को खुद भर्ना दर सबैभन्दा बढी बागमती प्रदेशमा र सबैभन्दा कम मधेश प्रदेशमा रहेको छ।

कक्षा १० र १२ को टिकाउ दरमा सन्तोषजनक वृद्धि

कोभिड–१९ ले शिक्षा क्षेत्रमा नकरात्मक असर पारे पनि कक्षा १० र १२ को टिकाउ दरमा सन्तोषजनक वृद्धि भएको देखिएको छ ।

कक्षा १० सम्मको टिकाउ दर ६६.१ प्रतिशत र कक्षा १२ सम्मको टिकाउ दर ३३.१ प्रतिशत रहेको उल्लेख गरिएको छ ।

त्यसैगरी, शैक्षिक सत्र २०७८ मा कक्षा १ मा खुद भर्ना दर (भर्ना हुने उमेर ५ वर्ष पूरा भएका) ९६.३ प्रतिशत पुगेको छ भने, कक्षा ८ सम्मको टिकाउ दर ८५.१ प्रतिशत पुगेको छ ।

कक्षा ३ मा विद्यार्थीको पठन सक्षमतामा वृद्धि

 शैक्षिक सत्र २०७८ मा कक्षा ३ मा विद्यार्थीको पठन सक्षमता ४३.७१ प्रतिशत पुगेको छ। गत शैक्षिक सत्रमा विद्यार्थीको पठन सक्षमता १४.६ प्रतिशत रहेको थियो ।

माध्यमिक तहमा महिला शिक्षक घटे

पछिल्ला वर्षहरूमा कुल शिक्षकमा महिला शिक्षकको अनुपात बढ्दै गएको भए पनि माध्यमिक तहमा यस्तो अनुपात तुलनात्मक रूपमा न्यून रहेको छ। आधारभूत तहमा कुल शिक्षकमध्ये महिला शिक्षकको अनुपात शैक्षिक सत्र २०७७ मा ४६.६ प्रतिशत रहेकोमा शैक्षिक सत्र २०७८ मा ०.१ प्रतिशतले कमी आई ४६. ५ प्रतिशत रहेको छ । माध्यमिक तहमा यस्तो अनुपात शैक्षिक सत्र २०७७ मा २०.७ प्रतिशत रहेको मा ०.३ प्रतिशतले कमी आई २०.४ प्रतिशत रहेको छ ।

 १ हजार ३ सय ६ विद्यालय घटे

शैक्षिक सत्र २०७७ को कुल विद्यालय सङ्ख्या ३५ हजार ६७४ रहेकोमा १ हजार ३ सय ६ विद्यालय घट्न गई शैक्षिक सत्र २०७८ मा कुल विद्यालयको सङ्ख्या ३४ हजार ३ सय ६८ पुगेको छ ।

विद्यालय बन्द तथा समायोजन भई यो सङ्ख्या घट्न गएको हो। जसमध्ये आधारभूत (१–५) सञ्चालित विद्यालय ३४ हजार १ सय ३८, आधारभूत (६–८) सञ्चालित विद्यालय १७ हजार २ सय २८ र आधारभूत (१–८) सञ्चालित विद्यालय ३४ हजार ३ सय ६ रहेका छन्। यसैगरी माध्यमिक तह (९–१२) सञ्चालित १० हजार ९ सय ६२ विद्यालय मध्ये ४ हजार ३ सय १० विद्यालयमा कक्षा ११–१२ सञ्चालन भएको छ ।११।१० शैक्षिक सत्र २०७८ मा विद्यमान ३४ हजार ३ सय ६८ विद्यालयमध्ये सामुदायिक विद्यालय २६ हजार ४ सय ५४, संस्थागत विद्यालय ६ हजार ७ सय ६० र धार्मिक विद्यालय १ हजार १ सय ५४ रहेका छन्।

उच्च शिक्षामा विद्यार्थी बढे

आर्थिक वर्ष २०७७–०७८ मा उच्च शिक्षमा विद्यार्थी बढेका छन् । मुलुकमा सञ्चालित विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या यो आर्थिक वर्षमा १.८ प्रतिशतले वृद्धि भएको छ । यो आर्थिक वर्षमा ५ लाख ५६ हजार ७ सय ९७ पुगेको छ । आर्थिक वर्ष २०७६–७७ मा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी ५ लाख ७४ हजार मात्र थिए ।

मुलुक भित्र सञ्चालित विभिन्न ११ वटा विश्वविद्यालय र अन्तरगतका क्याम्पसहरूमा अध्ययनरत कुल ५ लाख ५६ हजार ७ सय ९७ विद्यार्थीहरू मध्ये त्रिभुवन विश्वविद्यालयमा ४ लाख २२ हजार ६५३, काठमाडौं विश्वविद्यालयमा १६ हजार ८ सय ४७, पूर्वाञ्चल विश्विविद्यालयमा ४८ हजार ८ साय ५८, पोखरा विश्वविद्यालयमा ३२ हजार ४ सय ८४, मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ८ हजार ६ सय ५६, नेपाल संस्कृत विश्वविद्यालयमा ३ हजार ४९, सुदुर पश्चिमाञ्चल विश्वविद्यालयमा १३ हजार ८ सय ७३, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ४ हजार ४ सय २७, खुल्ला विश्वविद्यालय ९ सय ६९, राजर्षि जनक विश्वविद्यालयमा ३ सय ९९ र लुम्बिनी बौद्ध विश्वविद्यालयमा १ हजार ११ विद्यार्थी अध्ययनरत छन्।

यसैगरी ५ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ हजार ५ सय ७१ जना विद्यार्थी अध्ययनरत छन् । उच्च शिक्षामा अध्ययनरत विद्यार्थीमध्ये त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको सङ्ख्या क्रमशः ७६।९ प्रतिशत र २३।१ प्रतिशत रहेको छ।

विश्वविद्यालय अनुदान आयोगबाट २०७८ फागुनसम्म ६४ उच्च शैक्षिक संस्थालाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र प्रदान गरिएको छ।