Edusanjal

आकाशको छानोमुनि पढ्दै कलिला बालबालिका

अपिहिमाल गाउँपालिका–२ सकारस्थित सिद्धनाथ आधारभूत विद्यालय दैभातमा सञ्चालित बालविकासका बालबालिका चिसो मौसममा छानोमुनि पढ्न बाध्य छन् । बालविकास कक्षाका लागि भवन निर्माण नहुँदा कलिला बालबालिका चिसोमा पनि छानोमुनि पढ्न बाध्य भएका हुन् ।

सकार, दोबाटा र थालाका बालबालिका पढाउने उद्देश्यले विसं २०६५ मा उक्त बालविकास कक्ष स्थापना गरिएको थियो । तत्कालीन अवस्थामा विद्यालय नजिक नहुँदा उक्त कक्षमा बालबालिका बढी थिए । आधारभूत विद्यालय दैभात जान पाँच घण्टा र महादेव मावि घुसा पुग्न तीन घण्टा बढी समय लाग्दछ ।

बालबालिका ठूलो उमेर हुँदा मात्रै विद्यालय पढाउनुपर्ने अवस्था भएकाले सकारमा बालविकास माग गरिएको स्थानीय भुरी धामीले बताए । “बालविकासका लागि स्वीकृत दिए पनि भवन छैन । भवन नहुँदा जस्तापाताले घामपानी छेक्ने गरी बालबालिका राख्नुपर्ने बाध्यता छ । भवन दिनुप¥यो भनेर पहिले पनि माग गरेका थियौँ”, उनले भने, “हालसम्म सुनुवाइ भएको छैन । विद्यालय अनुगमन गर्न आए पनि बालविकास भवनबारे सरोकार भएका निकायले चासो नदिँदा बालबालिका छानोमुनि पढ्न बाध्य छन् ।”

अहिले बालविकास कक्षामा तीन जना मात्रै विद्यार्थी अध्ययनरत रहेका बालविकास सहजकर्ता ललिता कार्कीले जानकारी दिए । “एक–दुई वर्षयता विद्यार्थी सङ्ख्या न्यून हुँदै गएको छ”, उनले भने ।

अपिहिमाल गाउँपालिकाका शिक्षा शाखा प्रमुख वीरेन्द्र साउदले भवन निर्माणसम्बन्धी विषयमा आफू जानकार नभएको बताए । “विद्यार्थी थोरै छन्, बालविकास कक्ष दैभातअन्तर्गत सञ्चालनमा छ । तत्कालीन समयमा बालविकास निर्माणबारे भएका योजना अध्ययन गरी पूर्वाधार निर्माणमा जोड दिने छौँ”, उनले भने ।

विद्यार्थी भएर बालविकास कक्षा सञ्चालन भएको भन्दै पूर्वाधार निर्माणमा सरोकार भएकाले चासो नदिँदा बालिबालिका मर्कामा परेका स्थानीय बताउँछन् ।

pre school