अहिले मुसहर बस्तीका बालबालिकाको दिनचर्या फेरिएको छ । बिहान हुने बितिकै हिलो धुलो खेलेर रमाउने हरुवाचरुवा मुसहर समुदायका बालबालिका विद्यालयको ढोकामा प्रवेश गर्न थालेका छन् । आगनमा विद्यालय भए पनि भर्नाका समयमा छात्रवृत्ति लिन पुग्ने बालबालिका आजभोलि नियमित विद्यालयमा जाने गरेका छन् ।
गरिबी र अभावबाट गुज्रिरहेका हरुवाचरुवा र मुसहर समुदायका अधिकांश बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर हुने गरेकामा उनीहरुलाई शिक्षासँग जोड अभियान सञ्चालन गरी आगामी शैक्षिकसत्रदेखि सबैलाई विद्यालयसँग जोड्न पहल गरिएको स्थानीयको भनाए छ ।
शम्भुनाथ नगरपालिका–७ भगवतपुरस्थित मुसहर बस्तीका नौ वर्षीय प्रदीप सदाले विद्यालय भर्ना उमेर समयमा विद्यालयको ढोका टेक्न पाएनन् । बिहानैदेखि साहुको गाइगोरु चराउन जाने सदा अहिले नियमित विद्यालय जान्छन् । घरदेखि करिब पाँच सय मिटरको दूरीमा रहेको विद्यालय नगई घरमै धुलोमाटो खेलेर समय बिताउने उनी बिहान हुनेबित्तिकै झोलामा कापीकिताब बोकेर विद्यालय जान थालेका छन् ।
आमाबुवाले स्थानीय साहुको घरखेतमा काम गर्न जाँदा उहाँहरुसँगै साहुमहाजनको गाईगोरु चराउने गरेका सोही ठाउँका ११ वर्षीय राकेश सदाको पनि अहिले दिनचर्या फेरिएको छ । राकेश पनि अहिले घर नजिकै रहेको बुद्धिलाल मुनर माध्यमिक विद्यालयमा भर्ना भएका छन् । भर्नासंगै उनी अहिले नियमित विद्यालय जान थालेका छन् ।
प्रदीप र राकेश मात्र होइनन्, पछिल्लो समय अति पिछडिएको उक्त मुसहर बस्तीका बालकालिकाको शिक्षाप्रतिको आकर्षण बढ्दै गएको छ । हरुवाचरुवा र मुसहर समुदायको उल्लेख्य बसोबास रहेको शम्भुनाथ–७ भगवतपुर, वडा नं २ कनकपट्टी, वडा नं ३ डङ्गराही र वडा नं ५ स्थित मोहनपुरका मुसहर बालबालिका अहिले नियमित विद्यालय जान थालेका छन् ।
सो नगरपालिकाका हरुवाचरुवा परिवारका बालबालिकालाई लक्षित गरी श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको शैक्षिक अभियानअन्तर्गत निःशुल्क बाल ट्युसन कक्षा सञ्चालन गरेपछि विद्यालय जाने दलित बालबालिकाको सङ्ख्या बढ्दै गएको हो ।
केही वर्षअघिसम्म अत्यन्त न्यून सङ्ख्यामा मात्र मुसहर बालबालिका विद्यालय जाने गरेकामा पछिल्लो समय ती समुदायबाट विद्यालय जानेको सङ्ख्या उत्साहजनकरुपमा बढ्दै गएको केन्द्रका सहजकर्ता बिजली रामले बताए ।
तीन वर्ष अघिसम्म ती वडाबाट हरुवाचरुवा र मुसहर समुदायका विद्यालय जाने बालबालिकाको सङ्ख्या १२ थियो । केन्द्रले ‘द फ्रिडम फन्ड’ संस्थाको सहयोगमा ‘सामाजिक परिचालन तथा शिक्षाका माध्यमबाट हरुवाचरुवाको सशक्तीकरण कार्यक्रम’अन्तर्गत जनचेतना अभियान, अभिभावक भेला तथा निःशुल्क बालकक्षा सञ्चालनमा ल्याएपछि अहिले विद्यालय जाने विद्यार्थीको सङ्ख्या तीन सयभन्दा बढी पुगेको हरुवाचरुवा शम्भुनाथ नगर बालक्लबका अर्जुन सदाले जानकारी दिए ।
“पहिलापहिला हरुवाचरुवा मुसहर परिवारका बालबालिका पढाइभन्दा खेलकुदमै दिन बिताउने गर्दथे । गाउँमै निःशुल्क बालकक्षा सञ्चालनमा आएपछि विस्तारै पढाइलेखाइप्रति आकर्षित हुन थालेका छन्”, अर्जुनले भने, “केही वर्षअघिसम्म विद्यालयमा मुसहर परिवारका बालबालिका न्यून सङ्ख्यामा भेट्थ्यो, अहिले विस्तारै उक्त सङ्ख्या बढ्दै गएको छ ।”
हरुवाचरुवा परिवारमा शिक्षाको अवस्था अत्यन्तै नाजुक देखिएपछि संस्थाले शम्भुनाथ नगरपालिकाको विभिन्न वडामा सञ्चालन गरेको निःशुल्क बालशिक्षा कार्यक्रममा अहिले उक्त समुदायका दुई सयभन्दा बढी बालबालिका नियमितरुपमा अध्ययन गर्न आउने गरेका श्रीपुर्राज सामुदायिक केन्द्रका संयोजक विनोदानन्द चौधरीले बताए । तीमध्ये एक सय ५० बालबालिकालाई विभिन्न विद्यालयको पहुँचमा पुर्याइएको उनले जानकारी दिए ।
संयोजक चौधरीका अनुसार विद्यालयमा भर्ना भएका बालबालिकालाई संस्थाकोतर्फबाट शैक्षिक सामग्री र स्कुल झोला निःशुल्क उपलब्ध गराएको छ । विद्यालय बाहिर रहेका बालबालिकाका लागि हाल तीन जना दक्ष शिक्षिका र एक दर्जन स्वयंसेवक परिचालित गरेर नौमहिने बालशिक्षा प्रदान गरिरहेको भन्दै क्रमिकरुपमा विद्यालय भर्ना गराउँदै लगिने उहाँले जानकारी दिए ।
“प्रारम्भिक बालशिक्षाबाट राम्रो गर्दै गएका १५० जना हरुवाचरुवा परिवारका बालबालिकालाई अहिलेसम्म स्थानीय विद्यालयमा भर्ना गराइसकिएको छ”, केन्द्रका सहजकर्ता रामले भने, “बाँकी रहेकालाई क्रमशः पाइकपर्ने विद्यालयमा भर्ना गराउने तयारीमा छौँ ।”
शैक्षिकरुपमा पछाडि परेका हरुवाचरुवा र मुसहर समुदायका बालबालिकाको विद्यालय आउनेक्रम बढेको भन्दै यस्तो अभियानलाई अझ सशक्त बनाएर निरन्तरता दिनुपर्ने शम्भुनाथ–३ स्थित बौकीदेवी दलित आधारभूत विद्यालयका प्रधानाध्यापक गोसाइँ पासवानले बताए । भर्ना हुन आउने बालबालिकालाई विद्यालयको तर्फबाट आवश्यक सहयोग र सहजीकरण गरिने उनको भनाइ छ ।
पढ्न रहर हुँदाहुँदै पनि बाल्यकालमै अभिभावकले विवाह गरिदिएको अभिभावक पनि अहिले विगतको अवस्थामा विस्तरै परिवर्तन हुदै आएको बताउन थालेका छन् । हरुवाचरुवा मुसहर परिवारका अभिभावक जिम्मेवार बन्दै गएपछि बालबालिकालपे विदालयको ढोका टेक्न पाएको अभिभावकको बुझाइ छ । “हरुवाचरुवा परिवारमा शिक्षाको महत्त्व थाहा नभएर होला अभिभावकले पनि आफ्ना छोराछोरी विद्यालय पठाउँदैनथे”, मोहनपुरका दिपा सदाले भनिन्, “अहिले चेतनाको स्तर वृद्धि हुनुका साथै शिक्षामूलक अभियानले गर्दा अभिभावकमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतनाको विकास भएको छ ।”